ट्रम्पले भने- इरानले छिटोभन्दा छिटो न्यूक्लियर सम्झौता गर्नुपर्छ 

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Trump said - Iran should sign a nuclear agreement as soon as possible

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इजरायली कदमको समर्थन गर्ने बताउँदै इरानले छिटोभन्दा छिटो न्यूक्लियर सम्झौता गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनसँग कुरा गर्दै ट्रम्ले आगामी दिनमा इजरायली आक्रमण थप घातक हुनसक्ने संकेत पनि गरे ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलले इरानविरुद्ध एकपक्षीय कारबाही गरेको बताउँदै इरानले बदलास्वरुप अमेरिकामाथि आक्रमण नगर्न सचेत गराएका थिए ।

शुक्रबार ट्रम्पले एनबीसी न्यूजसँग कुरा गर्दै इरानले अमेरिकासँग आणविक सम्झौता गर्ने मौका गुमाए पनि उनीहरुसँग अहिले फेरि एउटा मौका रहेको बताए । उनले इरानी प्रतिनिधिले आफूलाई फोन गरेर अझै पनि सम्झौता गर्न चाहेको संकेत पनि दिएका छन् । अल जजिराका अनुसार बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले भने पछिल्ला घटनामा संग्लन सबै पक्षलाई थप तनाव नबढाउन आग्रह गरेका छन् ।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिख मर्जसँग पछिल्लो विकसित घटनाक्रमका विषयमा टेलिफोन कुराकानी गरेका थिए । स्टार्मर कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेताहरूले इरानको आणविक कार्यक्रमबारे लामो समयदेखि विद्यमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गरे । यस क्षेत्रलाई अझ अस्थिर बनाउन सक्ने थप तनावबाट सबै पक्षले टाढा रहन आग्रह गरे ।' 

शुक्रबार बिहानदेखि सुरु भएको इजरायली आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ । आणविक प्रशोधन केन्द्र लक्षित आक्रमणमा ६ जना इरानी ‘न्यूक्लियर साइन्टिस्ट’(आणविक वैज्ञानिक)को पनि  मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ । इजरालयले यो आक्रमणमा दुई सय लडाकु जहाजहरु परिचालन गरेको छ । 

शुक्रबार बिहानको सूर्योदयभन्दा केही समयअघिदेखि नै इजरायलले इरानमा आक्रमण सुरु गरेको थियो । 'राइजिङ लायन' नाम दिइएको यो आक्रमण सैनिक नेतृत्व लक्षित र न्यूक्लियर प्लान्टकेन्द्रित देखिन्छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक खतरा अन्त्य नहुँदासम्म आक्रमण जारी रहने बताएका छन् । 

कान्तिपुर

Link copied successfully