अस्ट्रेलियामा नेपाली व्यवसायी लक्षित लुटपाट बढ्दो

सरकारसँग सुरक्षा माग

जेष्ठ ३०, २०८२

नारायण खड्का

Robberies targeting Nepalese businessmen are increasing in Australia

अस्ट्रेलिया — अस्ट्रेलियाका दुई स्थानका सुन व्यवसायमा करिब एक महिनाको अवधिमा हातहतियारसहित लाखौं मूल्य बराबरका गरगहना लुटपाट भएका छन् । नेपाली व्यवसायीमाथि लुटपाटका घटना बढ्न थालेपछि यहाँका व्यवसायीले असुरक्षित महसुस गर्न थालेका छन् । उनीहरुले नेपाली व्यवसायीमाथि बढ्दो आक्रमण र लुटपाट रोक्न सरकारसँग माग गरेका छन् ।

क्युन्सल्यान्ड राज्यको ब्रिसबन सहरस्थित चर्मसाइडमा रहेको नेपालीको गहना पसलमा मंगलबार साँझ हतियारधारी समूहले लुटपाट गरी लाखौं मूल्य बराबरका गहना चोरी गरेको छ । हतियारधारी समूहले पसल सञ्चालक विजय सुनारलाई लुटपाटका क्रममा सख्त घाइते बनाएका थिए । चार जनाको समूहमा मुखमा नकाब लगाएर आएका उनीहरुले हथौडाले पसलका सिसा फुटाएर लुटपाट मच्चाएका थिए । उक्त घटनामा घाइते सुनारको स्थानीय अस्पतालको आईसियूमा उपचार भइरहेको छ । 

यसैगरी गत महिना समेत ब्रिसबनकै लुटबीचमा नेपाली व्यवसायी तेजेन्द्र घिमिरेको सुन पसलमा हतियारधारी समूहले लुटपाट मच्चाएको थियो । एकै प्रवृत्तिले गरिएका ती घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । करिब एक महिनाको अवधिमा नेपाली व्यवसायमाथि भएको आक्रमणको निन्दा गर्दै यहाँस्थित एनआरएनए लगायतका संस्थाले चिन्ता व्यक्त गर्दै सरकारसँग सुरक्षाको माग गरेका छन् ।  

एनआरएनए क्युन्सल्याडका संयोजक शम्भु घैसेसहितको टोलीले नेपाली व्यवसायीमाथि बढ्दो आक्रमणप्रति क्युन्सल्यान्ड राज्यका विपक्षी दलका नेता स्टिभन माइल्सलाई भेटेर ध्यानाकर्षण गराएका छन् । संसद् भवनमा भेटेर नेपाली टोलीले नेपालीमाथि भएका घटनाको अनुसन्धान तदारुकताका साथ हुनुपर्ने र सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग गरे । नेपाली टोलीले अनुसन्धानमा प्राथमिकताका लागि पहल गरिदिन र पीडित तथा घाइतेलाई आवश्यक सहयोगका लागि पहल गरिदिन समेत अनुरोध गरेका थिए ।

विपक्षी दलका नेता माइल्सले घटनाका बारेमा दु:ख व्यक्त गर्दै आफ्नो तर्फबट पुर्‍याउन सक्ने सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले घाइते तथा पीडितलाई आवश्यक सहयोगका लागि आश्वासन दिएका थिए । उनले हरेक व्यवसायीले सुरक्षित महसुस गर्दै व्यवसाय गर्न पाउनुपर्ने धारणा राख्दै यसका लागि आफूले सक्दो पहल गर्ने बताएका थिए । 

अस्ट्रेलियामा अहिले करिब डेढ दर्जनको हाराहारीमा नेपालीले गहना पसल सञ्चालन गरिरहेका छन् । केही महिनाअघि मेलबर्नको कोबर्गमा रहेको नेपालीको सुन पसलमा समेत लुटपाट गरिएको थियो । ब्रिसबनमा दाहोरिएर भएको घटना अन्य राज्यमा हुन नदिनका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालीको माग छ । एनआरएनए संयोजक घैसेले राज्यका प्रिमियर तथा प्रहरीमन्त्रीसँग समेत भेट गरेर सुरक्षाको माग गर्ने जनाए । ‘एउटा नागरिकका रुपमा सुरक्षित रुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चितताको लागि हामी सबै निकायका प्रतिनिधिलाई भेटेर आफ्ना कुरा राख्नेछौं,’ उनले कान्तिपुरसँग भने । 

लुटपाटका क्रममा घाइते भएका सुनारको उपचार भइरहेको छ भने उनी अहिले खतरामुक्त रहेको जनाइएको छ । प्रहरीले घटनामा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । साथै घटनामा संलग्नको तस्बिरसमेत सार्वजनिक गरेर सर्वसाधारणलाई सहयोगका लागि आग्रह गरेको छ । यसैबीच एनआरएनए क्युन्सल्यान्ड शाखाले विज्ञप्ति जारी गरेर घटनाको तीव्र छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । 

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully