काठमाडौँ — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफुहरुले इरानको मुख्य स्थान नातान्ज र ब्यालेस्टिक मिसाएल केन्द्रहरुमा ताकेर आक्रमण गरेको बताएका छन् ।
नेतान्याहुले आफूहरुले प्रमुख न्युक्लियर साइन्टिस्ट र उच्च अधिकारीलाई निसाना बनाएको बताएका छन् । यो आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थापना गरिएको इरानको रिभोलुसनरी गार्ड धार्मिक शासन प्रणालीभित्रको एक मुख्य शक्ति केन्द्र हो ।
एसोसिएट प्रेसका अनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानले आणविक केन्द्रको निरीक्षण अस्वीकार गर्दै थप समृद्ध नयाँ आणविक केन्द्र निर्माणमा लागेको भन्दै विज्ञप्तिमार्फत इरानको विरोध गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलले इरानविरुद्ध एकपक्षीय कारबाही गरेको बताउँदै इरानले बदलास्वरुप अमेरिकामाथि आक्रमण नगर्न सचेत गराएका छन् । अमेरिकाले इराकको राजधानीबाट कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ । साथै मध्यपूर्वका देशमा रहेका अमेरिकी सेनाका परिवारका सदस्यले चाहेमा अमेरिका फिर्ता ल्याउन तयार भएको बताएको छ ।
साउदी अरबले भने इजरायली आक्रमणको विरोध गरेको छ । सन् २०२३ मा चीनले साउदी अरेबिया र इरानबीच ऐतिहासिक मेलमिलाप सम्झौताको मध्यस्थता गरेको थियो । त्यसअघि साउदी र इरानीबीच शत्रुतापूर्ण सम्बन्ध रहेको थियो ।
