लस एन्जलसमा छैठौं दिन पनि आन्दोलन जारी, नेशनल गार्ड र सेना परिचालन, कर्फ्यु रातभर मात्र
अमेरिका — अमेरिकामा गत सातादेखि आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किँदै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि बढाइरहेको आप्रवासन नीतिविरुद्ध ६ दिनदेखि क्यालिफोर्निया राज्यको लस एन्जलसमा आक्रमक प्रदर्शनसँगै सुरु भएको आन्दोलन अमेरिकाका ठूला राज्यहरुको मुख्य सहरहरुमा समेत चर्किन थालेको हो ।
कागजातविहीन आप्रवासी पक्राउ संख्या बढाउन युएस इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले छापामारी कारबाही बढाउन थालेपछि दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरु सडक आन्दोलनसँगै आक्रमक प्रदर्शनमा उत्रिएका हुन् ।
मंगलबारदेखि लस एन्जलससँगै कोलोराडो राज्यको डेन्भर, सिकागो डाउनटाउन क्षेत्र र न्यूयोर्कको म्यानहटनमा आप्रवासीले प्रर्दशन गरेका थिए । अमेरिकी संचारमाध्यम एपीका अनुसार लस एन्जलसबाहेक डेन्भर, सिकागो र म्यानहटनमा शान्तिपूर्वक प्रदर्शन गरिए पनि धेरै संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
डेन्भरमा प्रहरीले आन्दोलन आक्रामक हुने आशंका गर्दै अश्रु ग्याससमेत प्रहार गरेको सिएनएनले उल्लेख गरेको छ । सिकागोमा रहेका संघीय भवनहरुमा प्रहरीहरु तैनाथ भएका थिए भने, म्यानहाटनका संघीय भवनहरुमा पनि प्रहरीको सुरक्षा बढाइएको थियो । दर्जनौं प्रदर्शनकारीहरुले म्यानहटनको डाउनटाउन क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच झडप हुादा ४५ जनालाई पक्राउ गरिएको थियो ।
गत बिहीबार क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा आक्रामक प्रदर्शनसहित आप्रवासीहरुले आन्दोलन सुरु गरेका थिए । ट्रम्प प्रशासनले आप्रवासन नीति कार्यान्वयनको चरणमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले लस एन्जलसमा बसोबास गरिरहेका कागजातविहित आप्रवासीलाई बासस्थानमै गएर छापा मार्न थालेपछि विशेषगरी दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरुले आन्दोलनको सुरुवात गरेका हुन् ।
आन्दोलन चर्किंदै गएपछि ट्रम्प प्रशासनको निर्देशनमा २ हजार नेशनल गार्ड र सात सय सेनासमेत परिचालन गरिएको थियो । आन्दोलनका क्रममा हालसम्म तीन जनाको मृत्यु भएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।
२ हजार नेशनल गार्ड र ७ सय सेना परिचालन पछि पनि आन्दोलन मत्थर नभएको भन्दै लस एन्जलसको डाउनटाउन क्षेत्रमा कर्फ्यु जारी राखिएको छ । स्थानीय समयअनुसार मंगलबार सााझ ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरिएको थियो । बुधबार दिनभर भने, कर्फ्यु हटाइएको थियो ।
बुधबार दिनभर कर्फ्यु हटाइए पनि पुनः प्रदर्शन चर्किन सक्ने आकलन गर्दै लस एन्जलस सहरका मेयर करेन बासले डाउनटाउन क्षेत्रमा साँझ ८ देखि बिहीबार बिहान ८ बजेसम्म पुनः कर्फ्यु घोषणा गरेकी छन् ।
बुधबार रातिबाट लागू हुनेगरी मेयर बासले कर्फ्यु घोषणा गरेको अमेरिकी संचारमाध्यम सिएनएनले जनाएको छ ।
‘जारी आन्दोलन मत्थर हुने संकेत नदेखिएपछि थप क्षति रोक्न र आन्दोलन साम्य हुने अवस्था सिर्जना गर्न लस एन्जलस डाउनटाउनको १ वर्ग माइल क्षेत्रमा कर्फ्यु लागू हुनेगरी घोषणा गरिएको छ,’ पत्रकार सम्मेलनमा मयेर बासले भनिन्, ‘स्थानीय समय अनुसार पुनः बुधबार सााझ ८ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु कडाइका साथ लागू हुनेछ ।’
उनले आन्दोलको स्थिति र प्रदर्शनको अवस्थाको मूल्यांकन गर्दै कर्फ्युको समय र क्षेत्रफल बढाइने बताइन् । आन्दोलनका कारण जनजीवनसमेत प्रभावित भएको र धेरै व्यवसायहरुमा क्षति पुगेको प्रति मेयर बासले दु:खसमेत व्यक्त गरिन् ।
आन्दोलनको क्रममा सोमबार राती मात्रै डाउनटाउन क्षेत्र २३ वटा व्यवसायिक फर्महरु लुटिएको उनले जानकारी दिइन् । लस एन्जलस सहरको कुल क्षेत्रफल ५ सय २ वर्ग माइल छ । त्योमध्ये १ वर्ग माइल क्षेत्रमा मात्र कर्फ्यु लागु गरिएको थियो ।
लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले कर्फ्युमा ज्यान जोगाउन र सम्पत्ति सुरक्षित राख्न आवश्यक रहेको बताएको सिएनएनले उल्लेख गरेको छ । ‘गत केही दिनदेखि सहरमा लगातार बढ्दो अशान्ति र अवैध, खतरनाक गतिविधिका कारण हामी यो कदम चाल्न बाध्य भएका हौं,’ प्रहरी प्रमुख म्याकडोनेलले भने ।
हालसम्म ३ सय ७८ प्रदर्शनकारी पक्राउ गरिएको र तीमध्ये मंगलबार मात्रै २ सय पक्राउ परेको म्याकडोनेलले बताए । आन्दोलनकारीमाथि नेशनल गार्ड परिचालन गरेर दमन गरेको भन्दै क्यालिफोर्निया राज्यले ट्रम्प प्रशासनविरुद्ध दर्ता गरेको मुद्दाको सुनुवाइ बिहीबार हुने भएको छ ।
सिनियर युएस डिष्ट्रिक जर्ज चार्ल्स आर ब्रेयरले बिहीबारका लागि सुनुवाइको मिति निर्धारण गरेका हुन् । क्यालिफोर्निया राज्ले प्रर्दशनमा खटाएको नेशनल गार्ड परिचालन रोक्नुपर्ने भन्दै दर्ता गरेको मुद्दामा अदालतले अस्वीकृत गरेको थियो ।
