‘ग्रिनल्यान्डको हिउँ औसतभन्दा धेरै छिटो पग्ल्यो’

जेष्ठ २९, २०८२

रासस/एएफपी

'Greenland ice melts faster than average'

कोपेनहेगन — वर्ल्ड वेदर एट्रिब्युसन (डब्लूडब्लूए) ले मेमा आएको गर्मीको लहरका कारण ग्रिनल्यान्डको हिउँ विगतको औसतभन्दा १७ गुणा छिटो पग्लिएको जनाएको छ । उक्त संस्थाले बुधबार जारी गरेको प्रतिवेदनअनुसार यो तापक्रमले आइसल्यान्डलाई पनि प्रभावित पारेको छ ।

आर्कटिक क्षेत्र भूमण्डलीय तापक्रमको प्रभाव पर्नेमा अग्रपंक्तिमा छ । वैज्ञानिक जर्नल नेचरमा सन् २०२२ मा प्रकाशित अध्ययनअनुसार यो क्षेत्र सन् १९७९ देखि पृथ्वीका अन्य भागभन्दा चार गुणा छिटो तातेको छ ।

‘प्रारम्भिक विश्लेषणबाट ग्रिनल्यान्डको बरफको पत्र १७ गुणा छिटोले पग्लिएको छ । यसको मतलब समुद्री सतह वृद्धिमा ग्रिनल्यान्डको योगदान बढी छ,’ प्रतिवेदनका एक लेखक इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी सहप्राध्यापक फ्रिडेरिके ओटोले भनिन्, ‘जलवायु परिवर्तन नभएको भए यस्तो हुने थिएन ।’

आइसल्यान्डमा १५ मेमा तापक्रम २६ डिग्री सेल्सियस पार गरेको थियो । ‘सन् १९९१–२०२० को मे महिनाको दैनिक अधिकतम औसत तापक्रमभन्दा १३ डिग्री सेल्सियस बढी तातो आइसल्यान्डमा देखिएको छ । यो मे महिनामा देखिएको तापक्रमको रेकर्ड हो,’ डब्लूडब्लूएले भनेको छ । देशको मौसम विज्ञान संस्थानका अनुसार मेमा आइसल्यान्डका ९४ प्रतिशत मौसम केन्द्रहरूले तापक्रमको रेकर्ड बनेको उल्लेख गरेका छन् । 

डब्लूडब्लूएका अनुसार बढ्दो तापक्रम र हिउँ पग्लिने दरले ग्रिनल्यान्डका आदिवासी समुदायको जीविकोपार्जन र परम्परागत जीवनशैलीलाई असर पार्न सक्छ । यी परिवर्तनले दुई देशको पूर्वाधारलाई पनि प्रभावित गरेको छ । ‘ग्रिनल्यान्ड र आइसल्यान्डमा चिसो मौसमका लागि पूर्वाधार निर्माण गरिएको छ, जसको अर्थ गर्मीको लहरमा हिउँ पग्लिँदा बाढी आउन सक्छ र सडक र पूर्वाधारलाई क्षति पुर्‍याउन सक्छ,’ डब्लूडब्लूएले भनेको छ ।

रासस/एएफपी

Link copied successfully