केन्यामा आर्थिक संकट कायमै

उपभोग्य वस्तुको मूल्यवृद्धिले जीवनयापनमा कठिनाइ, सरकारप्रति निराशा बढ्दो 

जेष्ठ २९, २०८२

रासस/एएफपी

Economic crisis in Kenya continues

नैरोबी — पूर्वी अफ्रिकी राष्ट्र केन्यामा आर्थिक संकट कायमै हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँ करिब ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उनीहरूलाई जीवनयापनमा कठिनाइ भएको हो ।

गत वर्ष केन्याका राष्ट्रपति बिलियम रुटोले प्रस्ताव गरेको नयाँ कर विधेयकविरुद्ध जनआन्दोलन चर्किएको थियो । केही करहरू हटाइए पनि सर्वसाधारणको आर्थिक अवस्था नाजुक नै छ । रोजगारीको अभाव र भ्रष्टाचारले पनि सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएको छ ।

नैरोबीको व्यस्त सडकछेउमा तरकारी बेचिरहेकी पाँच सन्तानकी आमा क्रिस्टिन नस्वाले देशको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गरिन् । ‘अहिले देशको अवस्था निकै कमजोर छ । बजारमा किनमेल गर्ने मान्छे छैनन्,’ ४० वर्षीया नस्वाले भनिन्, ‘सन्तानलाई पेटभरि खाना खुवाउन गाह्रो पर्छ । सामान बेचेर हुने नाफा थोरै छ । कहिलेकाहीँ त केही आम्दानी नै हुँदैन ।’

केन्याको अर्थतन्त्र कृषि, सेवामूलक र पर्यटन क्षेत्रमा आधारित छ । तर, मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य प्राप्त गर्न लगानी आवश्यक छ । अहिलेको अवस्थामा केन्याको सरकार विदेशी ऋणमा निर्भर छ । ऋणको ब्याज तिर्नकै लागि स्वास्थ्य र शिक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रमा खर्च गर्न केन्या सरकारले सकेको छैन । अर्कोतर्फ, करको बोझ मुख्यतया रोजगारी दिने औपचारिक क्षेत्रमै परेको छ ।

नैरोबीमा पसल चलाइरहेका एक व्यापारीले आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा यो वर्ष सबैभन्दा कठिन भएको बताए । ‘नयाँ सरकार बनेको केही महिनामै करहरू बढाइयो । तर त्यसको प्रतिफल कतै देखिएको छैन,’ उनले भने ।

राजनीतिक विश्लेषकका अनुसार राष्ट्रपति रुटोले सत्तामा आउँदाका बेला जनतासँग गरेका धेरै आश्वासन पूरा नहुँदा निराशा फैलिएको छ । ‘अहिलेको अवस्थामा सरकारप्रति गहिरो अविश्वास देखिएको छ,’ विश्लेषक पाट्रिसिया रोड्रिग्वेजले बताइन्, ‘जनताको जीवन सुधार्ने वाचा गरेर सत्तामा पुगेका रुटोले कर बढाउने निर्णय गर्दा जनताले धोका पाएको महसुस गरेका छन् ।’

अन्तर्राष्ट्रिय निकायहरूका अनुसार बढ्दो जनसंख्याको आवश्यकता पूरा गर्न सरकारलाई राजस्व संकलन गर्नुपर्ने बाध्यता छ । तर, आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेटमा प्रत्यक्ष कर नबढाउने प्रयास गरिएको छ, ताकि पुनः जनआन्दोलन नहोस् । ‘अब करको सीमा पुगेको छ,’ अर्थविद् क्वामे ओविनोले भने, ‘सरकारको अपारदर्शिता, अनुत्पादक ऋणको बोझ र भ्रष्टाचारलाई जनताले अब स्वीकार गर्न सक्दैनन् ।’ 

धेरै नागरिकका अनुसार यदि भ्रष्टाचार नियन्त्रणमा ल्याइयो भने केन्याको अवस्था सुधारिन सक्छ । तर, त्यो समस्या गहिरो गरी जरा गाडिसकेको विश्लेषकहरूको ठम्याइ छ । कतिपय नागरिकहरू सन् २०२७ को आगामी निर्वाचनबाट केही सुधारको आशा राखिरहेका छन् । तर, विगतका अनुभवका आधारमा केही व्यक्ति अझै निराश देखिन्छन् । ‘हामीले सधैं भ्रष्टाचारीलाई नै जिताइरहेका हुन्छौं,’ नैरोबीका एक व्यापारीले भने ।

रासस/एएफपी

Link copied successfully