एयर इन्डिया जहाज दुर्घटना : उछिट्टिएर बाहिर आएका यात्रु विश्वास के भन्छन् ?

४० वर्षीय यात्रु विश्वासले हिन्दुस्तान टाइम्ससँग भनेका छन् : 'टेकअफ भएको ३० सेकन्डमै ठूलो आवाज आयो । अनि जहाज दुर्घटना भयो । एकैछिनमा सब तहसनहस भयो ।'

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Air India plane crash: What do the passengers who came out suddenly say Biswas?

काठमाडौँ — बिहीबार दिउँसो भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा उछिट्टिएर आफू बाहिर आएको एक जनाले बताएका छन् । ४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेशले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू दुर्घटनामा परेर बाँचेको बताएका हुन् ।

हिन्दुस्तान टाइम्सका अनुसार विश्वास परिवार भेट्न केही दिनका लागि भारत आएका थिए । उनी दाजु अजयकुमार रमेशसँग बेलायत फर्कंदै थिए । उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भनेका छन्, 'टेकअफ भएको ३० सेकन्डमै ठूलो आवाज आयो । अनि जहाज दुर्घटना भयो । एकैछिनमा सब तहसनहस भयो ।' भारतीय मिडियाहरूका अनुसार विश्वासको उपचार अहमदाबाद सिभिल अस्पताल भइरहेको छ । सिट नम्बर ११ 'ए' मा बसेका उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । उनका दाजु अजय भने अर्कै लाइनमा बसेका थिए । दाजुको अवस्था कस्तो छ भन्ने अहिलेसम्म खुलेको छैन ।  

भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully