लस एन्जलस — अमेरिकी प्रशासनले ल्याएको अप्रवासन नीतिविरुद्ध प्रदर्शन चर्केपछि लस एन्जलस चार दिनदेखि अशान्त बनिरहेको छ ।
प्रदर्शन हिंस्रक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार दुई हजार नेसनल गार्ड सैनिकलाई सुरक्षार्थ खटाएपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले ‘गैरकानुनी’ र ‘अनैतिक’ भन्दै चर्को विरोध गरेका थिए । तर त्यसका बावजुद ट्रम्पको आदेशमा लस एन्जलसमा सोमबार थप दुई हजार नेसनल गार्ड सैनिक र ७ सय नौसैनिक पठाइएको छ । यो सैन्य वृद्धिले प्रदर्शनलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न झनै जटिलता थपेको भन्दै गभर्नर न्युसमले विरोध जनाएका छन् । तर ट्रम्पले दोस्रो दिन नै नेसनल गार्ड सैनिकको संख्या दोब्बर मात्रै बनाएनन्, नौसेना पनि पठाए ।
हिंसात्मक प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भएको केही अन्तर्राष्ट्रिय समाचार संस्थाले दाबी गरेका छन् । तर अहिलेसम्म यसको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन । राष्ट्रपति ट्रम्पले मास्क लगाएर प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई पक्राउ गर्न आदेश दिएका छन् । प्रदर्शनकारी भने सुरक्षा क्यामराबाट बच्नका लागि मास्क लगाएर आन्दोलनमा आएका छन् । ट्रम्प प्रशासनले ६–७ जुनमा आप्रवासीलाई डिपोर्ट गर्नका लागि अभियान चलाएको थियो ।
उक्त नीतिले आप्रवासी परिवारलाई विखण्डन गराउने भन्दै उनीहरू विरोधमा उत्रेका हुन् । तुलनात्मक रूपमा सोमबारको प्रदर्शन भने शान्तिपूर्ण रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लस एन्जलसको प्रदर्शनलाई ट्रम्पले अतिरञ्जित गरी नेसनल गार्ड सैनिक र नौसैनिक परिचालन गरेको टिप्पणी गर्दै मेयर करेन बास र गभर्नर न्युसमले परिस्थिति नियन्त्रणभन्दा बाहिर नरहेको जिकिर गरेका छन् । उनीहरूले सैन्य बल थपेर ट्रम्पले सार्वजनिक सुरक्षालाई थप जोखिममा पारेको बताएका छन् । त्यसो त स्थानीय प्रहरीले पनि थप सहयोगको आवश्यकता नभएको जनाइसकेको छ । लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हाम्रो प्रहरी विभागमा यो भन्दा ठूलो स्तरका प्रदर्शनहरू पनि ह्यान्डल गर्न सक्ने खुबी छ, प्रहरी विभागको समन्वयबिना नौसेनाको आगमनले परिचालनमा चुनौती थपिएको छ ।’
न्युसमले उक्त तैनाथीलाई ‘लापरबाही’ र ‘आफ्ना सैनिकहरूप्रतिको अपमान’ भएको टिप्पणी गर्दै भनेका छन्, ‘यो तानाशाही राष्ट्रपतिको विकृत कल्पना पूरा गर्न आफ्ना देशवासीविरुद्धको सैनिक तैनाथी हो, यो सार्वजनिक सुरक्षाका लागि हुँदै होइन ।’
त्यसैगरी, अटर्नी जनरल रोब बोन्टाले क्यालिफोर्नियामा नेसनल गार्ड सैनिकको परिचालनविरुद्ध मुद्दा दायर गरेका छन् । उनले पत्रकारसँगको कुराकानीमा ट्रम्पले राज्यको सार्वभौमिकतामाथि कुल्चिएको आरोप लगाए । भने, ‘हामी राष्ट्रपतिले आफ्नो अधिकारको दुरुपयोग गरी क्यालिफोर्नियामा नेसनल गार्डलाई गैरकानुनी रूपमा परिचालन गरेको कुरालाई हल्का रूपमा लिँदैनौं ।’ उनले ट्रम्प प्रशासनले गरेको नेसनल गार्ड सैनिकको परिचालनलाई गैरकानुनी भएको घोषणा गर्न र तैनाथीलाई रोक्न अदालतको आदेश मागेका छन् । त्यसो त राष्ट्रपति ट्रम्पले भने ‘यदि गार्ड तैनाथ नगरेको भए सहर पूर्ण रूपमा नष्ट भइसकेको हुने’ तर्क गरेका छन् ।
