लस एन्जलसमा नेसनल गार्ड परिचालन, राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर गर्दै क्यालिफोर्निया सरकार

आइतबार लस एन्जलसको डाउनटाउन क्षेत्रबाट कम्तीमा २७ जनालाई नियन्त्रणमा लिइएको छ भने शनिबार पनि उक्त क्षेत्रबाट २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो

जेष्ठ २७, २०८२

एपी

National Guard deployment in Los Angeles, California government filing suit against President Trump

लस एन्जलस — क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले लस एन्जलसका सडकमा निस्केका आप्रवासी प्रदर्शनकारीको सामना गर्न प्रशासनले नेसनल गार्डको असाधारण तैनाथीको प्रतिक्रियामा सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गर्ने योजना बनाएको बताएका छन् ।

‘सम्बन्धित राज्यका गभर्नरसँग परामर्श नै नगरी राज्यको नेसनल गार्डको कमान्ड गर्नु गैरकानुनी र अनैतिक छ,’ डेमोक्र्याट न्युसमले आइतबार एमएसएनबीसीसँग भनेका छन् । ४० लाख जनसंख्या भएको क्यालिफोर्नियाका सडकहरू सोमबार बिहान प्रायः शान्त रहे पनि पछिल्ला तीन दिनदेखि लस एन्जलस अशान्त छ । प्रमुख राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन जारी राखिएको छ । आइतबार स्वचालित कारहरूमा आगो लगाइएको छ भने प्रहरीले पनि जवाफमा प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, रबरका गोली र फ्ल्यास–ब्यांग ग्रिनेड प्रयोग गरेका छन् । 

आइतबारको प्रदर्शन मुख्यतः डाउनटाउनका केही ब्लकमा केन्द्रित थियो । ट्रम्पको आप्रवासन नीतिविरुद्ध प्रदर्शनकारीले तेस्रो दिनको आन्दोलनलाई तीव्र पारेका छन् । करिब ३ सय गार्ड सैनिकलाई आन्दोलन दबाउन तैनाथ गरिएपछि यहाँका अधिकांश स्थानीयमा डरसँगै आक्रोश पैदा गरेको थियो । प्रहरीले जमघट गर्न नपाउने उर्दी जारी गरेपछि आइतबार साँझसम्म अधिकांश प्रदर्शनकारी तितरबितर भएका थिए भने केही पक्राउ परेका छन् । प्रदर्शनकारीले आइतबार दिनभर प्रहरी र गस्तीका सवारीसाधनमाथि ढुंगा प्रहार गरेका थिए । 

संघीय भवनहरू र प्रदर्शनकारीले आन्दोलनको केन्द्र बनाएको डाउनटाउनको हिरासत केन्द्रको रक्षा गर्न नेसनल गार्डलाई विशेष रूपमा तैनाथ गरिएको छ । लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले बाँकी प्रदर्शनकारीहरूले प्रहरीलाई ‘व्याकुल’ बनाएको बताए । प्रदर्शनकारीले प्रहरीलाई निरन्तर उत्तेजित पार्ने काम गरिरहेको उनले बताए । त्यसो त आइतबारसम्म दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । जसमा एक जना प्रहरीमाथि मोलोटोभ ककटेल फ्याँकेको अभियोगमा र अर्का एकलाई मोटरसाइकलद्वारा प्रहरीलाई ठक्कर दिएको अभियोगमा पक्राउ गरिएको छ ।

ट्रम्पले लस एन्जलसका प्रहरी प्रमुख म्याकडोनेललाई सम्बोधन गर्दै ‘ट्रुथ सोसल’ मा मास्क लगाएका प्रदर्शनकारीलाई पक्राउ गर्न आदेश दिएका छन् । उनले लेखेका छन्, ‘एलएमा अवस्था निकै खराब देखिएको छ, सैनिकहरू ल्याउनुहोस् ।’ तर गभर्नरले भने नेसनल गार्डको आवश्यकता नभएको दोहोर्‍याए । गभर्नर न्युसोमले आइतबार दिउँसो ट्रम्पलाई एक पत्र लेख्दै गार्ड तैनाथी फिर्ता लिन आग्रह गर्दै यसलाई ‘राज्यको सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन’ भनी टिप्पणी गरेका छन् ।

लस एन्जलसमा स्थानीय प्रहरी र अधिकारीसँग भेट गरेका गभर्नरले प्रदर्शनकारीलाई ट्रम्पको योजना मुताबिक चलिरहेको बताउँदै हिंसा गर्ने, निजी तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउनेलाई तत्काल पक्राउ गरिने पनि उनले बताए ।

‘ट्रम्पले अराजकता चाहन्छ र उनले हिंसा भड्काएका छन्,’ गभर्नर न्युसोमले थपे, ‘तपाईंहरू शान्त हुनुहोस्, ध्यान केन्द्रित गर्नुहोस्, उनले (नेसनल गार्ड तैनाथ गर्न) खोजिरहेको बहानालाई थप बल नदिनुहोस् ।’ नेसनल गार्ड तैनाथी दशकौंपछि पहिलो पटक भएको देखिन्छ, जुन कुनै राज्यको गभर्नरको अनुरोधबिना सक्रिय बनाइएको छ । गभर्नर न्युसोमले क्यालिफोर्नियाका अधिकारी स्थिति नियन्त्रणमा लिन सक्षम रहेको बारम्बार बताउँदै आएका छन् । तर ह्वाइटहाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले जवाफमा भनेकी छन्, ‘न्युसोमले लस एन्जलसमा कुनै समस्या नभएको दाबी गर्नु सरासर झूट हो ।’

नेसनल गार्डको आगमनपछि झडप बढे

नेसनल गार्डका सैनिक आइतबार बिहान लस एन्जलसमा काँधमा काँध जोडेर बन्दुक र दंगा ढाल बोकेर उभिएका थिए । प्रदर्शनकारीले भने उनीहरू आउनुलाई ‘लज्जास्पद’ भन्दै ‘घर फर्क’ को नारा लगाएका थिए । लस एन्जलसको डाउनटाउनमा शुक्रबार सुरु भएको दुई दिनको प्रदर्शनपछि नेसनल गार्डको आगमन भएको थियो, जुन शनिबार पारामाउन्ट, ल्याटिनो राज्यसम्म फैलिएको हो । अमेरिकी सञ्चारमाध्यम एनबीसीका अनुसार प्रहरीले आइतबार लस एञ्जलसको डाउनटाउन क्षेत्रबाट कम्तीमा २७ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ । शनिबार मात्रै उक्त क्षेत्रबाट २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।

लस एन्जलस प्रहरीले क्याप्टेन राउल जोभेलको भनाइ उद्धृत गर्दै आइतबार पत्रकारहरूसँग कुराकानीमा प्रहरीहरूसमेत प्रदर्शनकारीहरूबाट आक्रमणमा परेको बताएका छन् । उनका अनुसार तीन जना प्रहरी सामान्य घाइते भएका छन् । साथै लस एन्जलसको सम्पूर्ण डाउनटाउन क्षेत्रमा ‘गैरकानुनी भेला’ निषेध गरिएको पनि जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लस एन्जलसमा २ हजार नेसनल गार्डलाई परिचालन गर्ने निर्णयलाई क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले ‘गैरकानुनी’ कदमको रूपमा टिप्पणी गरेका छन् । उनले ट्रम्प प्रशासनलाई निर्णय फिर्ता लिन औपचारिक रूपमा भनेको समेत बताएका छन् । न्युसमले नेसनल गार्ड परिचालन गर्ने निर्णय राज्यको अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको कदमले थप तनाव बढाउने काम गरेको र त्यसअघिसम्म राज्यमा कुनै समस्या नभएको उल्लेख गरेका छन् ।

कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने क्रममै लस एन्जलसमा सयौं प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि ट्रम्प प्रशासनले २ हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएको हो । इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) ले कागजातविहीन आप्रवासीहरू बसोबास गरेका क्षेत्रमा छापा मार्न सुरु गरेपछि लस एन्जलसका कैयौं स्थानमा तेस्रो दिन पनि तनाव कायमै रहेको छ ।

अलजजिराका अनुसार लस एन्जलसको डाउनटाउन क्षेत्रमा सुरक्षाफौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गर्ने क्रममा कैयौं स्थानमा झडपहरू भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार केही स्थानका पसलहरूमा लुटपाटसमेत भएको छ ।

ह्वाइटहाउसले भने नेसनल गार्ड परिचालन गर्नुपर्ने अवस्थामा हिंस्रक भीड जिम्मेवार रहेको उल्लेख गर्दै आईसीईका कर्मचारीमाथि आक्रमण भएको जनाएको छ । ह्वाइटहाउसले आफैंले चालेका कदमहरू अत्यन्तै जरुरी रहेको बताउँदै गैरकानुनी रूपमा अमेरिकामा बसेका अपराधीहरूलाई निस्तेज पार्न र बढ्दो हिंसाबाट अमेरिकी नागरिकलाई सुरक्षित राख्न यो कार्य आवश्यक रहेको जनाएको छ । राष्ट्रपतिको निर्देशनमा नेसनल गार्ड परिचालन गरिएको समेत ह्वाइटहाउसले स्पष्ट पारेको छ ।

एपी

Link copied successfully