गाजामा जाँदै गरेको जहाज रोकेपछि यात्रीलाई उनीहरुको देश फिर्ता पठाउने इजरायलको घोषणा

जेष्ठ २७, २०८२

एजेन्सी

Israel announces that it will send passengers back to their country after stopping a ship bound for Gaza

जेरुसेलम — इजरायलको विदेश मन्त्रालयले मंगलबार जहाजमार्फत् गाजा गइरहेका ‘फ्रिडम फ्लोसिला कोअलिस’का कार्यकर्तालाई उनीहरुको देश फिर्ता पठाउने घोषणा गरेको छ । 

इजरायली विदेश मन्त्रालयले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो । एक्समा लेखिएको छ, ‘सेल्फी याटका यात्रीलाई उनीहरुको देश पठाउनका लागि बेन गुरियन एयरपोर्टमा ल्याइएको छ । केही यात्री अघिल्लो केही घण्टामा इजरायलबाट प्रस्थान गर्नसक्नेछन् ।’

इजरायली विदेश मन्त्रालयले यदि ‘फ्रिडम फ्लोसिला कोअलिस’का कुनै कार्यकर्ता इजरायलबाट फिर्ता जान मानेनन् भने उनीहरुविरुद्ध कारबाही हुने स्पष्ट पारेको छ । 

अघि लेखिएको छ, ‘जो यात्री इजरायल छोड्न र आवश्यक दस्तावेजमा हस्ताक्षर गर्न इन्कार गर्छन्, उनीहरुलाई कानुनी प्रक्रिया अन्तर्गत अदालतमा उपस्थित गराइनेछ । जहाँबाट उनीहरुलाई डिपोर्ट गर्न सकियोस् ।’

इजरायली सेनाले सोमबार ‘फ्रिडम फ्लोसिला कोअलिस’का कार्यकर्ताको जहाजलाई रोकेको थियो । यो जहाज गाजामा मानवीय सहायता सामग्री लिएर जाँदै थियो ।

जलवायु अभियन्ता थनबर्गसहित १२ जना सवार रहेको 'मडलिन' नामक डुङ्गा एक साताअघि सिसिलीबाट प्रस्थान गरेको थियो । उक्त डुङ्गाले बिहीबार चारजना आप्रवासीलाई उद्धारसमेत गरेको थियो । थनबर्गले डुङ्गा नियन्त्रणमा लिएपछि जारी गरिएको प्रि-रेकर्डेड सन्देशमा भनेकी थिइन, 'म आफ्ना साथी, परिवार र सम्पूर्ण सहकर्मीहरूलाई आग्रह गर्छु, हामीलाई चाँडै मुक्त गराउन स्वीडेन सरकारमार्फत दबाब दिनुहोस् ।'

एजेन्सी

Link copied successfully