तेस्रो दिन पनि लसएन्जलस अशान्त, दर्जनौं प्रर्दशनकारी पक्राउ

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

On the third day, Los Angeles riots, dozens of demonstrators arrested

काठमाडौँ — कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने क्रममा लस एञ्जलसमा सुरु भएको प्रदर्शन तेस्रो दिन पनि कायमै छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठाउँ–ठाउँमा भिडन्त भएका र दर्जनौं प्रदर्शनकारी पक्राउ परेको खबरहरू सार्वजनिक भएका छन्।

अमेरिकी सञ्चारमाध्यम एनबीसीका अनुसार प्रहरीले आइतबार लस एञ्जलसको डाउनटाउन क्षेत्रबाट कम्तीमा २७ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ । शनिबार मात्रै उक्त क्षेत्रबाट २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।

लस एञ्जलस प्रहरीले क्याप्टेन राउल जोभेलको भनाइ उद्धृत गर्दै आइतबार पत्रकारहरूसँग कुराकानीमा प्रहरीहरूसमेत प्रदर्शनकारीहरूबाट आक्रमणमा परेको बताएका छन् । उनका अनुसार तीन जना प्रहरी सामान्य घाइते भएका छन् । साथै लस एञ्जलसको सम्पूर्ण डाउनटाउन क्षेत्रमा ‘गैरकानुनी भेला’ निषेध गरिएको पनि जनाइएको छ ।

On the third day, Los Angeles riots, dozens of demonstrators arrestedराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लस एञ्जलसमा २ हजार नेशनल गार्डलाई परिचालन गर्ने निर्णयलाई क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले 'गैरकानुनी' कदमको रूपमा टिप्पणी गरेका छन् । उनले ट्रम्प प्रशासनलाई निर्णय फिर्ता लिन औपचारिक रूपमा भनेको समेत बताएका छन् । न्यूसमले नेशनल गार्ड परिचालन गर्ने निर्णय राज्यको अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको कदमले थप तनाव बढाउने काम गरेको र त्यसअघिसम्म राज्यमा कुनै समस्या नभएको उल्लेख गरेका छन् ।

कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने क्रममै लस एञ्जलसमा सयौं प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि ट्रम्प प्रशासनले २ हजार नेशनल गार्ड परिचालन गर्ने निर्णय लिएको हो । इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) ले कागजातविहीन आप्रवासीहरू बसोबास गरेका क्षेत्रमा छापा मार्न सुरु गरेपछि लस एञ्जलसका कैयौं स्थानमा तेस्रो दिन पनि तनाव कायमै रहेको छ ।

On the third day, Los Angeles riots, dozens of demonstrators arrestedअलजजिराका अनुसार लस एञ्जलसको डाउनटाउन क्षेत्रमा सुरक्षाफौजले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका छन् । कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गर्ने क्रममा कैयौं स्थानमा झडपहरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सीएनएनका अनुसार केही स्थानका पसलहरूमा लुटपाटसमेत भएको छ ।

ह्वाइट हाउसले भने नेशनल गार्ड परिचालन गर्नुपर्ने अवस्थामा हिंस्रक भीड जिम्मेवार रहेको उल्लेख गर्दै आईसीईका कर्मचारीमाथि आक्रमण भएको जनाएको छ । ह्वाइट हाउसले आफैंले चालेका कदमहरू अत्यन्तै जरुरी रहेको बताउँदै गैरकानुनी रूपमा अमेरिकामा बसेका अपराधीहरूलाई निस्तेज पार्न र बढ्दो हिंसाबाट अमेरिकी नागरिकहरूलाई सुरक्षित राख्न यो कार्य आवश्यक रहेको जनाएको छ । राष्ट्रपतिको निर्देशनमा नेशनल गार्ड परिचालन गरिएको समेत ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

कान्तिपुर

Link copied successfully