काठमाडौँ — अमेरिका-चीनबीच जारी व्यापार युद्ध समाधानका लागि अर्को हप्ता बेलायतमा नयाँ चरणको वार्ता हुने भएको छ । आगामी सोमबारलाई तय गरिएको उक्त उच्चस्तरीय वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल लण्डन जान लागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमार्फत जानकारी दिएका छन् ।
चिनियाँ सरकारले पनि ८ देखि १३ जुनसम्म उपप्रधानमन्त्री हे लिफेङ बेलायतमा रहने र ‘चीन-अमेरिका आर्थिक तथा व्यापार संयन्त्र’ अन्तर्गत वार्ता हुने पुष्टि गरेको बीबीसीले जनाएको छ । गत हप्ता ट्रम्प र राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन संवादपछि यस वार्ताका लागि बाटो खुलेको थियो । ट्रम्पले सीसँग ‘असाध्यै राम्रो वार्ता’ भएको प्रतिक्रिया दिएका थिए ।
गत मे महिनामा पनि अमेरिका र चिनियाँ प्रतिनिधिबीच स्वीट्जरल्याण्डमा यस विषयमा वार्ता भएको थियो । त्यो बेला दुवैले कर घटाउने अस्थायी सहमति गरेका थिए । त्यसअनुसार अमेरिकाले चिनियाँ वस्तुमा लगाएको कर ३० प्रतिशतमा झारेको थियो । चीनले पनि अमेरिकी वस्तुमा लगाएको कर १० प्रतिशतमा घटाउनुका साथै केही महत्त्वपूर्ण खनिजको निर्यात खोल्ने वाचा गरेको थियो ।
यद्यपि पछिल्लो समय दुवै पक्षले एकअर्कामाथि सहमति उल्लंघनको आरोप लगाउँदै आएका छन् । चीनले 'रेअर अर्थ म्याटेरियल्स' र अन्य महत्त्वपूर्ण खनिजको आपूर्ति सुरु नगरेको अमेरिकाको आरोप छ । चीनले भने केही निर्यात अनुमति दिएको दाबी गर्दै आएको छ ।
ट्रम्पका अनुसार, लण्डनमा हुने वार्तामा अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रिर सहभागी हुनेछन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार अमेरिकाले चीनविरुद्ध चालेका नकरात्मक कदम फिर्ता लिनुपर्ने सीले ट्रम्पलाई भनेका थिए । उच्च आयात कर, प्रतिबन्ध वा अन्य व्यापारिक दबाबका उपायहरू हटाएर सम्बन्ध सुधार्न अमेरिकाले नै पहिले पहल गर्नुपर्ने चीनको आशय रहेको विश्लेषण भइरहेका छन् ।
