काठमाडौँ — शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लस एन्जलसमा २ हजार नेसनल गार्डलाई परिचालन गर्ने निर्णय लियो । प्राकृतिक विपत्ति वा हिंसा भड्किन सक्ने जस्ता अत्यावश्यक अवस्थामा खटाइने नेसनल गार्ड परिचालन गर्नुपर्ने अवस्था किन आयो त ?
कागजातिविहीन आप्रवासीहरुलाई देश निकाला गर्ने क्रममा लस एन्जलसमा सयौं प्रदर्शनकारीहरु सडकमा उत्रिएपछि ट्रम्प प्रशासनले यस्तो निर्णय गरेको हो । अमेरिकी सेनाको एक विशेष शाखाको रुपमा रहेको नेसनल गार्डको परिचालन विशेष अवस्थामा मात्रै गरिन्छ । नेसनल गार्ड नै खटाउनुपर्ने अवस्थापछि के लसएन्जलसमा हिंसा भड्किन सक्ने परिस्थिति बनेको हो भन्नेजस्ता प्रश्नहरु पनि उब्जिएका छन् ।
इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसी) ले कागजातिविहीन आप्रवासीहरु बसेका क्षेत्रमा छापा मार्न सुरु गरेपछि स्थिति भड्किएको हो । आइसी संघीय सरकारको यस्तो निकाय हो जसले अवैध रुपमा बसेका आप्रवासीहरुको पहिचान र देश निकाला जस्ता कामहरु गर्ने गर्छ । राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्पले अवैध आप्रवासीहरुलाइ देश निकाला गर्ने अभियान नै सुरु गरेका थिए । बीबीसीले आइसीले एक लाख भन्दा धेरै 'अवैध' आप्रवासीहरुलाई पक्राउ गरिसकेको लेखेको छ ।
लसएन्जलसका कैयौ स्थानमा कागजातविहीन आप्रवासीहरु र आप्रवासनसम्बन्धी काम गर्ने सरकारी निकायका कर्मचारीबिच झडप भएका खबरहरु सार्वजिनक भएका थिए । रक्षा सचिव पिट हेगसेथले हिंसा जारी रहेको खन्डमा ड्युटी सैनिक पनि परिचालन गरिने बताउँदै सैनिकहरु उच्च सतर्क अवस्थामा रहेको बताएका छन् ।
अलजजिराले केही स्थानमा प्रर्दशनकारीहरुले मेक्सिकोको झन्डा फरफराएको र उनीहरुले सुरक्षाकर्मीमाथी ढुंगा र बोतल प्रहार गरेको र कारमा आगो लगाएको उल्लेख गरेको छ । प्रदर्शनकारीहरु पक्राउ पर्ने क्रम सुरु भएपछि उनीहरु संघीय डिटेन्सन केन्द्र बाहिर जम्मा भएर नाराबाजी समेत गरेका थिए । केहीले भने आइसी बिरुद्द लेखिएका प्लेकार्डसमेत देखाएका थिए ।
ह्वाइट हाउसले भने नेशनल गार्ड परिचालन गर्नुपर्ने अवस्था आउनुमा हिंस्रक भीड जिम्मेवार रहेको बताउँदै आइसीका कर्मचारीमाथी आक्रमण भएको बताएको छ । ह्वाइट हाउसले आफूले चालेका कदमहरु अत्यन्तै जरुरी भएको बताउँदै गैरकानुनी रुपमा अमेरिकामा बसेका अपराधीहरुलाइ निस्तेज पार्न र बढ्दो हिंसाबाट अमेरिकी नागरिकहरुलाई सुरक्षित राख्न यो काम जरुरी रहेको बताएको छ । राष्ट्रपतिले नेसनल गार्ड परिचालन यसैका कारण गरेको पनि ह्वाइट हाउसले बताएको छ ।
