तेहरान — साउदी अरबका पवित्र सहरहरूमा बढ्दो तापक्रमका कारण हजयात्रामा रहेकामध्ये कम्तीमा १३ जना इरानी नागरिकको शनिबार मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०२५ को हजयात्राका क्रममा शुक्रबारसम्म मृत्यु भएका इरानी हज यात्रीको कुल संख्या १३ पुगेको छ ।’ हालैका दिनहरूमा साउदी अरबका पवित्र सहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको समाचार एजेन्सी इर्नाले जनाएको छ । इर्नाका अनुसार यस वर्ष हजयात्राका लागि ८६ हजार ७ सय इरानी साउदी अरब गएका छन् ।
गत वर्षका हजयात्राका क्रममा पनि साउदी अरबमा २२ इरानीसहित कम्तीमा १ हजार २ सय तीर्थयात्रुको मृत्यु भएको थियो । सो वर्ष हजयात्राका समयमा साउदी अरबको तापक्रम ५१.८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । अत्यधिक गर्मीका कारण शरीरको प्राकृतिक चिसोपना र प्रणालीहरू अस्तव्यस्त हुँदा समस्या उत्पन्न हुने र जसले गर्दा रिंगटा चल्ने, टाउको दुख्ने तथा अंगहरूले काम गर्न छोड्ने लक्षण क्रमशः देखिँदै गएर अन्तमा मृत्यु हुने देखिएको छ ।
हजयात्रीलाई शीतलता प्रदान गर्न सडकमा पंखामार्फत पानी छर्किंदै । तस्बिर : एपी/रासस
शनिबार जारी विज्ञप्तिमा तीर्थयात्रीलाई प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगिन, शरीरमा पानीको मात्रा कम हुन नदिन र गर्मीको जोखिम कम गर्न तथा अन्य सावधानीहरू अपनाउन पनि इरानले सल्लाह दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जलवायु परिवर्तनका कारण बर्सेनि कम्तीमा ५ लाख मानिसको मृत्यु हुने गरेको आकलन गर्दै मृत्यु हुनेको वास्तविक संख्या ३० गुणासम्म हुन सक्ने चेतावनी दिएको छ ।
