राष्ट्रपति ट्रम्पले धम्कीपूर्ण भाषामा ‘यदि बजेट बचाउने हो भने यसको सबैभन्दा सजिलो तरिका भनेको एलन मस्कलाई दिइएको अर्बौं डलरको ‘सब्सिडी’ र ‘कन्ट्र्याक्ट’ रद्द गरिदिनु हो’ भनेपछि रुष्ट मस्कले पनि यदि ट्रम्पले ‘फन्डिङ’ घटाएको खण्डमा ट्रम्पलाई पनि महाभियोग लगाउनेसम्मको धम्की दिएका छन्
वासिङ्टन — मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका पूर्ववरिष्ठ सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्क एकअर्काबीच सार्वजनिक रूपमै टीकाटिप्पणीसहित धम्कीमा उत्रिएका छन् । बिहीबार ओभल अफिसमा जर्मनीका नेतासँगको भेटमा राष्ट्रपति ट्रम्पले आफ्नो सल्लाहकारसमेत रहेका मस्क एकाएक सामाजिक सञ्जालमा आफूविरुद्ध खनिन थालेको बताएका थिए ।
अर्बपति मस्क ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (अमेरिकी संसद्को तल्लो सदन) मा पास गरिएको कर र खर्चसम्बन्धीको विधेयकलाई लिएर केही दिनअघि ट्रम्पको कडा आलोचनामा उत्रिएका थिए । साथै उनले यसलाई ‘घिनलाग्दो’ कदमका रूपमा टिप्पणी गरेका थिए । मस्कले ट्रम्पलाई सामाजिक सञ्जालमा जवाफी पोस्ट गर्दै भनेका थिए, ‘यो विधेयक मलाई एक पटक पनि नदेखाएर रातारात यसरी, यति चाँडो पारित गरियो कि कंग्रेसमा लगभग कसैले पनि यसलाई पढ्न पाएनन् ।’
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण भाषामा भनेका छन्, ‘यदि बजेट बचाउने हो भने यसको सबैभन्दा सजिलो तरिका भनेको एलन मस्कलाई दिइएको अर्बौं डलरको ‘सब्सिडी’ र ‘कन्ट्र्याक्ट’ रद्द गरिदिनु हो ।’ यदि ट्रम्प प्रशासन मस्कको विरुद्धमा उत्रेको खण्डमा यसको असर मस्कलाई भारी पर्न सक्ने देखिएको छ । यसको सम्भावित जोखिमलाई बुझेका मस्कले पनि यदि ट्रम्पले आफ्नो कम्पनीलाई दिइँदै आएको ‘फन्डिङ’ घटाएको खण्डमा ट्रम्पलाई पनि महाभियोग लगाउनेसम्मको धम्की दिएका छन् ।
त्यसो त ट्रम्पका विरुद्ध भिड्नका लागि पनि मस्कसँग थुप्रै असीमित संसाधन भएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाले ‘इन्टरनेसनल स्पेस स्टेसन’ मा यात्री पठाउन र अत्यावश्यक सामग्री लैजानका लागि पनि मस्ककै स्पेसक्राफ्टमा निर्भर रहनुपर्ने बाध्यता छ । यसअघि चुनावमा ट्रम्पलाई आर्थिक सहयोग गरेका मस्कले आगामी चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवारविरुद्ध उत्रन सक्ने जोखिम पनि उत्तिकै छ ।
आफ्ना समर्थकमध्येका प्रमुख मस्कका यी पछिल्ला अभिव्यक्तिमाथि ट्रम्पले आपत्ति जनाएका छन् । उनले मस्कको कदमलाई ‘एकदमै निराशा’ को संज्ञा दिँदै आफूलाई अचम्मित तुल्याएको बताए । मस्क ट्रम्पको चुनावी गतिविधिमा सक्रिय रूपमा लाग्नुका साथै उनलाई जिताउनका लागि मोटो रकम खर्चसमेत गरेका थिए । गत जनवरीदेखि राष्ट्रपति कार्यालयका प्रमुख सल्लाहकार बनेका उनले हालै एक साताअघि उक्त जिम्मेवारी त्यागेका हुन् । ट्रम्पले भने मस्क ह्वाइट हाउसमा यसअघि कार्यरत रहेको बिर्सिएको र उनमा ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ ले जरा गाडेको आरोप लगाए ।
‘उनले मेरो व्यक्तिगत सवालमा केही बोलेका छैनन् तर म विश्वस्त छु कि त्यो दिन पनि आउँछ,’ ट्रम्पले भने, ‘तर म एलनसँग एकदमै अचम्मित तथा निराश छु किनकि मैले पनि एलनलाई धेरै मद्दत गरेको छु ।’ मस्क खुला रूपमै विरोधमा उत्रेपछि ट्रम्पले पनि सामाजिक सञ्जाल र मिडियामार्फत आक्रामक प्रतिक्रिया दिएका छन् ।
उनले मस्कलाई आफ्नो स्वार्थ पूरा हुँदासम्म पक्षमा रहेर अहिले आफूले भनेजस्तो नभएपछि आलोचनामा उत्रेको आरोप लगाएका छन् । ‘म अत्यन्तै निराश छु,’ ट्रम्पले जर्मनीका राष्ट्रप्रमुखसँगको पत्रकार सम्मेलनमा भने, ‘अहिले मस्क रुँदै हिँड्नुको प्रमुख कारण हामीले उसले पाउँदै आएको संघीय अनुदानलगायत अनुत्पादक खर्च घटाउन लागेको कारणले नै हो ।’
ट्रम्पका पूर्वसल्लाहकार स्टिभ बेननलगायतले ‘मस्कको कम्पनी कब्जा गरेर उनलाई देशनिकाला गर्नुपर्छ’ भन्नेजस्ता अभिव्यक्ति दिएका छन् । मस्कले भने ट्रम्प र उनका नीतिविरुद्ध एकपछि अर्को पोस्ट गर्दै ट्रम्पको नाम ‘बाल यौन अपराधी जेफ्री एपस्टिनको फाइल’ मा समेत रहेको सम्मका गम्भीर आरोप लगाउन भ्याएका छन् । उनले आफूले नै ट्रम्पलाई चुनाव जिताएको भन्दै आफूविरुद्ध उत्रनका लागि चुनौती पनि दिएका छन् ।
अमेरिकी सरकार र राजनीतिमा छोटो समयमै निकै गहिरो पहुँच बनाएका उद्यमी मस्कको राजनीतिक चमक–धमक अन्ततः साढे चार महिना नबित्दै एकाएक कमजोर भएको हो । केही साता अघिसम्म पनि ट्रम्पसँग निकट छँदा मस्कले सार्वजनिक कार्यक्रम वा राजनीतिक आमसभामा अमेरिकाका लागि ट्रम्पजत्तिको नेता अरू कोही हुनै सक्दैन भन्दै फुर्काउने गर्थे ।
उनले रिपब्लिकन पार्टीको कार्यक्रम र अभियानमा लाखौं अमेरिकी डलर खन्याएका थिए । ट्रम्पले निर्वाचन जितेलगत्तै मस्कको पनि पहुँच र सम्पत्ति अकासिएको थियो । ट्रम्पले उनलाई मन्त्रीसरहको पद दिएर अमेरिकी सरकारको प्रभावकारिता बढाउन गठित ‘डोज’ नामक विभागको जिम्मासमेत लगाएका थिए । त्यसताक पीबीएसजस्ता मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले अमेरिकी सरकारलाई ‘मस्क सरकार’ भनेर उडाउनसमेत भ्याएका थिए ।
न्युयोर्क टाइम्सजस्ता मिडियाले भने साताअघि नै मस्क लागूऔषधमा फसेको समाचार प्रकाशित गरेका थिए । उनले पछिल्ला दिनमा किटामाइनजस्ता लागूऔषध अत्यधिक सेवन गर्ने गरेको उक्त सञ्चारमाध्यमको दाबी छ । ‘डोज’ बाट बिदाइ हुँदाको समारोहमा समेत उनी लागूऔषधमा मग्न भएको भान हुने भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।
पछिल्लो समय रिपब्लिकन पार्टीले पनि मस्कसँग देखिने गरी नै दूरी बढाइरहेको र त्यसका लागि उनको अस्थिर व्यवहार, नीतिगत असहमति र व्यक्तिगत झमेलासँगै द्रुत गतिमा गिर्दो लोकप्रियतालाई कारण बताएको छ । मस्कको अप्रत्याशित शैलीको व्यवहार र उनले ट्रम्पका कतिपय नीतिहरूको खुला आलोचना गर्न सुरु गरेपछि सम्बन्ध चिसिँदै गएको बताइन्छ । सार्वजनिक रूपमै र सामाजिक सञ्जालमा मस्कको प्रशंसा गरेर नथाक्ने ट्रम्प र उनका पार्टीका नेताहरूले अहिले मस्कको नाम लिन छोडेका छन् ।
टेस्लाले एकै दिनमा गुमायो १५० अर्ब डलर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका धनाढ्य पूर्वसहकर्मी एलन मस्कले व्यक्तिगत तहमै उत्रेर एकअर्काविरुद्ध गालीगलौज सुरु गरेपछि अमेरिकी र अन्य सेयर बजारले त्यसको कम्पन महसुस गरेको छ । टेस्लाको सेयर मूल्य बिहीबार एकै दिन १४.३ प्रतिशतले घटेपछि कम्पनीको बजार मूल्यमा १ सय ५० अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट आएको छ । यसले गर्दा टेस्ला विश्वका १० ठूला कम्पनीको सूचीबाट समेत बाहिरिएको छ । यस घटनाले मस्कको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो ह्रास ल्याएको छ । उनले एकै दिन झन्डै ३४ अर्ब डलर गुमाएका छन् ।
सेयर बजारको यो गिरावट मस्कले ट्रम्प प्रशासनद्वारा प्रस्तावित बजेटसम्बन्धी विधेयकलाई ‘घिनलाग्दो र अक्षम्य’ भन्दै सामाजिक सञ्जाल एक्समा कडा आलोचना गरेपछि आएको हो । यो विधेयकले ठूलो परिमाणमा कर कटौती र नियामकीय लचकता ल्याउने योजना बनाएको छ । तर, अर्थशास्त्रीहरूले यस्तो कदमले आगामी दशकमा संघीय बजेट घाटा २४ खर्ब अमेरिकी डलरले बढ्ने भन्दै आलोचना गरिरहेका छन् ।
मस्कले खुला रूपमै ट्रम्पका नीति र योजनासँग असहमति जनाउने, विधेयकको पक्षमा रहेकाको आलोचना गर्ने र यो क्रम जारी रहे अमेरिका टाट पल्टिने भन्दै आफ्ना सांसदलाई फोन गरेरै त्यसको आलोचना गर्न अपिल गरेका थिए ।
