मस्कबारे ट्रम्पले भने - 'उसले होस गुमाइसक्यो'

इलन मस्कका बाबु एरोल भन्छन्, 'उच्च ओहदामा बसेर काम गर्दा उत्पन्न तनाव र थकाइले यस्तो भएको हो ।'

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

Trump said about Musk - 'He has lost his mind'

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघिसम्मका निकट सहयात्री टेक अर्बपति इलन मस्कलाई होस गुमाइसकेको व्यक्तिका रुपमा टिप्पणी गरेका छन् । एबीसीन्यूजसँगको शुक्रबार गरेको अन्तर्वार्तामा ट्रम्पलाई सुरुमै सोधिएको थियो, 'मस्कसँग कुराकानी गर्न कुनै नयाँ तालिका बनाउनुभएको छ की ?

जवाफमा उनले भनेका थिए, 'त्यो मानिस जसले होस गुमाइसक्यो ? म अहिले उनीसँग कुरा गर्न खासै इच्छुक छैन ।"

एकअर्का विरुद्ध सार्वजनिक छेडखानीमै उत्रिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इलम मस्कबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि ट्रम्पले मस्कसँग बोल्ने कुनै योजना नभएको उल्लेख गर्दै उनीहरुबीच सम्बन्ध सुधारको सम्भावना पनि कम रहेको उल्लेख गरेको छ ।

रोयटर्सले मस्कले नयाँ राजनीतिक पार्टी 'द अमेरिका पार्टी' गठन गर्ने विचार व्यक्त गरेको भन्दै यदि यसो भएमा अमेरिकी राजनीतिमा नयाँ तरंग उत्पन्न हुने उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्प र मस्क बिचको विवादले भने अमेरिकी राजनीति र अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । 

उनीहरु बिचको सम्बन्ध कतिसम्म बिग्रीसकेको देखिन्छ भने राष्ट्रपति ट्रम्पले मस्कसँग खरिद गरेको रातो रंगको टेस्ला गाडी बेच्ने वा कसैलाई दिनसक्ने विषयमा विचार गरिरहेको एबीसीन्यूजले लेखेको छ । 

सामाजिक संजाल एक्समा राष्ट्रपति ट्रम्पको आलोचना गरेपछि टेस्लाको शेयर बिहिबार एकैदिनमा १४ प्रतिशतले घटेको थियो । टेस्लाको सेयर मूल्य अप्रिलयता १८ प्रतिशतसम्म घटेका छन् । लगानीकर्ताहरू मस्कको अनावश्यक राजनीतिक संलग्नता र ट्रम्पको पुरातन प्रविधि र अतिरिक्त शुल्क (ट्यारिफ) मैत्री नीतिका कारण टेस्लाले गुमाउँदै गएको बजार हिस्सा र ब्रान्ड प्रभावका बारेमा चिन्तित छन् । इलेक्ट्रेकका फ्रेड लाम्बर्ट लेख्छन्, ‘ट्रम्प र रिपब्लिकन पार्टीले टेस्लालाई कसरी मार्दै लगेका छन् भन्ने कुरा मस्कले अब बल्ल बुझ्न थालेका छन् ।’

भारत आएका इलन मस्कका बाबु एरोल मस्कसँग दिल्लीस्थित विमानस्थलमा अर अरेबिया इङ्लिसले कुराकानी गरेको थियो । एरोलले छोरा र अमेरिकी राष्ट्रपतिबीच झगडालाई 'केही हदसम्म मूर्खतापूर्ण' बताउँदै उच्च ओहदामा बसेर काम गर्दा उत्पन्न तनाव र थकाइले यस्तो भएको टिप्पणी गरेका छन् । उनले छोरा र राष्ट्रपति बिचको लडाइँमा ट्रम्प नै विजयी हुने बताउँदै भनेका छन्, 'ट्रम्पले पक्कै पनि जित्नेछ , किनभने अमेरिकाका धेरै जनताले उसलाई मतदान गरेका छन् ।'

कान्तिपुर

Link copied successfully