काठमाडौँ — आगामी जी सेभेन सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेकोमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आलोचना खेपिरहेका छन् । जुन १५ देखि १७ सम्म क्यानडाको अल्बर्टामा हुन लागेको सम्मेलनमा यसअघि क्यानडाले मोदीलाई नबोलाउने तय गरेको थियो ।
द गार्जियनको समाचारअनुसार प्रधानमन्त्री कार्नीले भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र र विश्वव्यापी आपूर्ति श्रृंखलाामा महत्त्वपूर्ण भएकाले प्रधानमन्त्री मोदीलाई बोलाउन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । विश्व सिख सङ्गठनले भने कार्नीको यस निर्णयको कडा आलोचना गरेको छ ।
संस्थाका अध्यक्ष दानिश सिंहले सिख समुदाय मात्र नभएर यो क्यानडाका मूल्य-मान्यताहरूप्रति धोका भएको प्रतिक्रिया दिएका छन् ।
खालिस्तान समर्थक क्यानडाली नागरिक हरदिप सिंह निज्जरको हत्या प्रकरणपछि भारत र क्यानडाबीच तनाव बढेको थियो । क्यानडा प्रहरीको अनुसन्धानले भारत सरकारकै उच्च तहबाट योजना बनाएर निज्जरको हत्या भएको औँल्याको छ ।
सन् २०२३ मा क्यानडाका तत्कालिन प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतको गुप्तचर निकायले निज्जरको हत्या गराएको आरोप लगाएका थिए । भारतले त्यस आरोपलाई अस्वीकार गर्दै आएको छ ।
त्यस घटनाले भारत र क्यानडाबीचको सम्बन्धमा ठूलो दरार ल्याएको थियो । दुवै देशले आ-आफ्ना शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेका थिए । चार भारतीय नागरिकलाई निज्जरको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ।
प्रधानमन्त्री कार्नीले भनेका छन्, ‘कानुनी प्रक्रिया चलिरहेको छ, त्यसबारे टिप्पणी गर्नु उचित हुँदैन ।’ जी सेभेनमा सहभागी हुन मोदीले कार्नीको आमन्त्रण स्वीकार गरेका छन् । उनले कार्नीलाई चुनाव जितेकोमा बधाईसमेत दिएको द गार्जियनले जनाएको छ । ‘भारत र क्यानडा दुई प्रजातान्त्रिक मुलुक हुन्, हामी साझा हित र सम्मानका आधारमा अघि बढ्नेछौँ,’ मोदीले भनेका छन्, ‘सम्मेलनमा भेटको प्रतीक्षा गरिरहेको छु ।’
