हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक

जेष्ठ २४, २०८२

एजेन्सी

Court blocks Trump's decision to ban foreign students at Harvard

न्युयोर्क — हार्वर्ड विश्व विद्यालयमा विदेशी विद्यार्थीको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासलाई बिहीबार एक अदालतले अस्थायी रोक लगाएको छ । अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले बिहीबार सरकारले ट्रम्पको घोषणालाई लागू गर्न नसक्ने फैसला गरिदिएका हुन् ।

यसअघि पनि बरोजले नै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नालाई रोक्ने ट्रम्पको पहिलेको प्रयासलाई पनि रोक्न आदेश दिएका थिए । विदेशी विद्यार्थीलाई लिएर पछिल्लो समय राष्ट्रपति ट्रम्प र हार्वर्डबीच सम्बन्ध चिसिएको छ । 

ह्वाइटहाउसले बुधबार राति जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई अमेरिकामा प्रवेश गर्न रोकेको थियो भने भर्ना भइसकेका विद्यमान विदेशी विद्यार्थीका भिसा पनि रद्द हुने जोखिम रहेको बताइएको थियो । ‘हार्वर्डको आचरणले यसलाई विदेशी विद्यार्थी र शोधकर्ताका लागि अनुपयुक्त गन्तव्य बनाएको छ,’ ह्वाइटहाउसको आदेशमा भनिएको थियो । 

तर हार्वर्डले पनि ह्वाइटहाउसको पछिल्लो कदमलाई ‘सरकारले लिएको प्रतिशोधको अभियानको एउटा हिस्सा भएको’ टिप्पणी गरेको छ । भनेको छ, ‘हार्वर्डलाई यसका अन्तर्राष्ट्रिय विद्यार्थीबाट अलग गर्ने यो नै पहिलो प्रयास होइन ।’

त्यसपछि हार्वर्डले संघीय अदालतमा दायर गरेको उजुरीमा थप व्याख्या गर्दै भनेको छ, ‘ट्रम्प प्रशासनको पछिल्ला कदम सरकारको मागलाई अस्वीकार गर्ने हार्वर्डको प्रशासन, पाठ्यक्रम र यसका प्राध्यापक र विद्यार्थीको विचारधारालाई नियन्त्रण गर्न सरकारद्वारा बदलाको भावमा बढ्दो प्रतिशोधको अभियानको हिस्सा हो ।’ 

सरकारले पहिले नै हार्वर्डलाई फाइदा पुर्‍याउने संघीय अनुदान र सम्झौताको करिब ३ अर्ब २० करोड डलर कटौती गर्दै क्याम्ब्रिज, म्यासाचुसेट्सलगायत संस्थालाई भविष्यको कुनै पनि संघीय कोषबाट बाहिर राख्ने घोषणा गरेको थियो । हार्वर्डको पाठ्यक्रम, कर्मचारी, विद्यार्थी भर्तीको तथ्यांक र दृष्टिकोण पेस गर्न सरकारले गरेको आह्वानलाई उक्त विश्वविद्यालयले अस्वीकार गरिदिएपछि राष्ट्रपति ट्रम्प हार्वर्डप्रति रुष्ट बनेका हुन् । 

सन् २०२४–०२५ को शैक्षिक सत्रमा कुल भर्नाको २७ प्रतिशत हिस्सा ओगट्ने र आम्दानीको प्रमुख स्रोत रहेका हार्वर्डका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि ट्रम्पले निसाना बनाएका हुन् । विश्वविद्यालयहरूलाई ट्रम्प र उनका सहयोगीले यहुदीविरोधी, उदार पूर्वाग्रह र ‘जागृत’ विचारधाराको केन्द्र भएको आरोप लगाएका छन् । अमेरिकी शिक्षामन्त्रीले बुधबार कोलम्बिया विश्वविद्यालयको मान्यता रद्द गर्ने धम्की पनि दिएका छन् । तर कोलम्बियासहित धेरै शीर्ष संस्थानहरू भने ट्रम्प प्रशासनको मागसामु झुकेका छन् ।

एजेन्सी

Link copied successfully