युक्रेनले आइतबार रुसको सैन्य एयर बेसमा ड्रोन आक्रमण गरी दर्जनभन्दा बढी बमवर्षक विमानमा क्षति पुर्याएपछि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच फोन वार्ता
वासिङ्टन — केही महिनायता रुसले युक्रेनका सैन्य र नागरिक क्षेत्रहरूलाई लक्षित गरेर हरेक साता १ हजारभन्दा बढी ड्रोनहरू प्रहार गरिरहेको थियो । गत साता मात्र एकै रातमा ३ सयभन्दा बढी ड्रोन प्रयोग गरेर रुसले युक्रेनमा हमला गरेको थियो । तर आइतबार युक्रेनले पनि रुसको सैन्य एयर बेसमा राखिएका बमवर्षक विमान लक्षित ड्रोन आक्रमण गर्यो । यो ड्रोन आक्रमणमा रुसले करोडौं डलर पर्ने १२ भन्दा बढी बमवर्षक विमान गुमाउन पुग्यो ।
युक्रेनको पछिल्लो ड्रोन आक्रमणसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन शान्तिका लागि गरिरहेको मध्यस्थतामा पनि असर पर्ने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई आफ्ना बमवर्षकहरूमाथि गरिएको हमलाको बदला लिइने बताएका छन् । आइतबारको युक्रेनी हमलापछि ट्रम्पले बुधबार पुटिनसँग कुराकानी गरेका थिए । ‘यसले युद्धविरामका लागि पहिले नै कमजोर आशालाई स्पष्ट रूपमा धमिलो पारेको छ,’ उनले भने, ‘राष्ट्रपति पुटिन आफ्नो हवाई क्षेत्रहरूमा हालै भएको आक्रमणको जवाफ दिनुपर्ने बताएका छन् ।’
ट्रम्पको आग्रहमा युक्रेन र रुसबीच सुरु भएको भेटवार्ता हालसम्म रद्द भने गरिएको छैन । साथै, युक्रेनले युद्धविरामको प्रस्तावमा एक साताअघि नै सहमति जनाइसकेको छ । तर रुसले त्यसमा पनि कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि पुटिन र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बुधबार एकअर्कामाथि आक्रोश पोखेका छन् । दुवैले एकअर्कामाथि आक्रमण तीव्र पारेर शान्तिको सम्भावनामा खलल पुर्याएको आरोप लगाएका छन् ।
बुधबार ट्रम्प र पुटिनबीच करिब एक घण्टा लामो फोनवार्ता भएको थियो । जसलाई ट्रम्पले राम्रो कुराकानी भए पनि त्यसले तत्काल शान्तितर्फ नडोर्याउने प्रतिक्रिया दिएका छन् ।
क्रेमलिनका विदेश नीति सहयोगी युरी उसाकोभले फोनवार्ताका बारेमा पत्रकारहरूलाई जानकारी दिएका थिए । तर उनले पुटिनले ट्रम्पसँग युक्रेनविरुद्ध बदला लिनेबारे केही भने कि भनेनन् भन्ने खुलाउन चाहेनन् । उनले युक्रेनले रुसको रेलमार्गसहित अन्य संवेदनशील क्षेत्रमा गरेको आक्रमणलाई ‘आतंकवाद’ को संज्ञा दिए । ‘पुटिनले ट्रम्पलाई युक्रेनसँगको वार्ता ‘उपयोगी’ रहेको र ती जारी रहने बताएका थिए । हामी कुनै प्रकारको समाधानमा पुग्नका लागि वार्ता नै गर्न सक्दैनौं भन्ने होइन,’ उसाकोभले भने । अमेरिका र रुसी दुवै पक्षले इरानको आणविक क्षमतालाई रोक्न दुवै देशको विदेश नीतिमा त्यसलाई प्राथमिकता दिनेमा भने आशावादी छलफल भएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पका सल्लाहकारहरूका अनुसार उनी युक्रेन र रुस दुवैका नेताहरूसँग आक्रोशित छन्, तर उनले लामो समयदेखि जेलेन्स्कीप्रति अलि बढी नै रुष्ट छन् । उनले आफ्ना सहयोगीहरूलाई जेलेन्स्की ‘खराब मान्छे’ रहेको बताउँदै युक्रेनलाई दिइरहेको हतियारको प्रवाह रोक्ने कुरा निरन्तर गरिरहन्छन् । उनको बुझाइमा जेलेन्स्कीले विश्वलाई आणविक युद्धतर्फ धकेलिरहेका छन् । तर कतिपय अवस्थामा भने युक्रेनमाथि सहानुभूति भाव दर्शाउँदै उनीहरूले आफ्ना सहरहरूमा रुसले गरिरहेको बम आक्रमणविरुद्ध दृढ भएर लडिरहेको पनि बताउने गरेका छन् ।
युक्रेनबाट हजारौं माइल टाढा रहेका रुसी हवाई अड्डाहरूमा रुसभित्रैबाट प्रहार गरिएका १ सयभन्दा बढी ड्रोनको हमला मस्कोका लागि रणनीतिक र प्रतीकात्मक प्रहारका रूपमा हेरिएको छ । यसलाई रुसी सुरक्षा कमजोरीका रूपमा पनि लिइएको छ । उक्त हमलाले रुसका लामो दूरीका दर्जन बढी बमवर्षकहरूलाई क्षति पुर्याउनुका साथै केहीलाई पूर्ण रूपमा नष्ट पारिदिएको थियो । ती बमवर्षक विमानहरू रुसका आणविक हतियारहरू प्रहार गर्ने क्षमताका अभिन्न अंग रहेको बताइएको छ । जसलाई क्रेमलिनले आफ्नो सैन्य शक्तिको मुख्य स्तम्भहरूमध्ये एकका रूपमा लिने गर्दछ ।
रुसका उच्च पदस्थ सरकारी अधिकारीहरूसँगको बैठकमा पुटिनले आइतबारको आक्रमणका बारेमा केही उल्लेख नगरेको बताइएको छ । यद्यपि उनले युक्रेनको सीमावर्ती क्षेत्रमा रहेका दुई रेलवे पुलहरूमा युक्रेनले आक्रमण गर्दा एउटा यात्रुवाहक र एउटा मालवाहक रेल पटरीबाट खसेका कारण सात जनाको मृत्यु भएको बारे चर्चा गरेका थिए । हवाई अड्डामा भएको आक्रमणको जिम्मेवारी लिएको युक्रेनले रेलवे पुलको आक्रमणमा भने कुनै टिप्पणी गरेको छैन ।
‘तिनीहरूले शिखर बैठकका लागि अनुरोध गरिरहेका छन्,’ पुटिनले युक्रेनले आफू र जेलेन्स्कीबीच प्रत्यक्ष भेटघाटका लागि गरिएको अनुरोधलाई उल्लेख गर्दै भने, ‘तर यो अवस्थामा त्यस्ता बैठकहरू कसरी हुन सक्छन् ? आतंकवादमा भर पर्नेहरूसँग हामी कसरी वार्ता गर्न सक्छौं ?’
उता जेलेन्स्कीले भने किभमा एक पत्रकार सम्मेलनमा बोल्दै नयाँ अमेरिकी प्रतिबन्धहरूमा ढिलाइ गर्न पुटिनले नियतवश शान्तिवार्ता रोक्ने प्रयास गरिरहेको आरोप लगाए । उनले इस्तानबुलमा भइरहेको वार्तामा पुटिनले निर्णय लिने अधिकार नै नभएका अधिकारीहरू पठाएकाले त्यो कहिल्यै टुंगोमा नपुग्ने प्रतिक्रिया दिए । उनले आफू, पुटिन र राष्ट्रपति ट्रम्पसहितको शिखरवार्ताको कुनै विकल्प नभएको पनि दोहोर्याएका थिए ।
