रुस-बेलायत तिक्तता : ब्रिटिस काउन्सिललाई बेलायती गुप्तचरको आवरणमा काम गरेको आरोप

जेष्ठ २३, २०८२

एजेन्सी

Russia-UK rift: British Council accused of working under cover of British intelligence

मस्को — रुसको संघीय सुरक्षा सेवाले ब्रिटिस काउन्सिलले बेलायती गुप्तचरको आवरणमा काम गरेको आरोप लगाएको छ। यस्ता गतिविधिमा काउन्सिलसित सहकार्य गरेका चार अग्रणी विश्वविद्यालयका शिक्षकहरूको संलग्नता पहिचान गरेको रुसी सुरक्षा सेवाले बिहीबार खुलाएको हो।

‘अनुसन्धानका क्रममा रुसी सुरक्षामा खलल पुर्‍याउन बेलायत पक्षसँग सहकार्य गर्ने अग्रणी रसियन विश्वविद्यालयका शिक्षक कर्मचारीका प्रतिनिधिहरू पहिचान भएका थिए,’ रुसी सुरक्षा सेवालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

रुसलाई कमजोर पार्न, रुसको पहिचानलाई मेटाउन र शक्तिशालीहरूको विश्वव्यापी सञ्जाल विकास गर्ने प्रयास स्वरूप बेलायती गुप्तचर निकायले काउन्सिललाई प्रयोग गरेको आरोप लगाएको छ। काउन्सिलले आफूहरूको जासुसी गतिविधिमा संलग्नता नरहेको बताएको छ। ‘जासुसीमा संलग्न भएको रुसी आरोपहरू गलत छन्,’ काउन्सिलले भन्यो, ‘हामी बेलायत र अन्य देशहरूबीच शान्ति र समृद्धिलाई कायम राख्न कला र संस्कृति, शिक्षा तथा अंग्रेजी भाषा सिकाइमार्फत काम गर्ने संस्था हौं।’ यसबारे थप बुझ्न बेलायती गुप्तचर निकायसँग हुन सकेन, रोयटर्सले लेखेको छ।

यसैगरी काउन्सिलले अंग्रेजी भाषा पढाउने नाममा बेलायतको स्वार्थमा काम गर्ने, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सहयोग तथा समर्थन गर्ने प्रयास गरेको रूसका अभियोजक जनरलले आरोप लगाए। रुसले काउन्सिलको यो गतिविधिलाई ‘अतिवादी’ भन्दै गैरकानुनी गतिविधि घोषित गरेको समाचार एजेन्सी एएफपीले लेखेको छ।

यसैबीच १५ जना रुसी नागरिकहरूलाई काउन्सिलसँग कुनैपनि सम्पर्क र सहकार्य नगर्न आधिकारिक चेतावनीसमेत दिएको एएफपीले उल्लेख गरेको छ। रुस सरकारले काउन्सिलसँगका सबै सहकार्य प्रतिबन्ध लगाउने घोषणा गरेपछि काउन्सिलले दुःख व्यक्त गरेको छ। ‘राजनीतिक सम्बन्धहरूमा उतारचढाव आउन सक्ने भए पनि विश्वभरका मानिसहरू र संघसंस्थाहरू निरन्तर संवादमा रहेर काम गर्नु महत्त्वपूर्ण हुने कुरामा हामी विश्वास गर्छौं,’ काउन्सिलले विज्ञप्तिमा भनेको छ।

रुस–बेलायत सम्बन्धमा आएको दरार यो पहिलो घटना भने होइन। सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गर्नु पहिलेदेखि नै रुस–बेलायत सम्बन्ध बिग्रिएको थियो। सन् २०१८ मा बेलायतमा रुसका एक पूर्वजासूसलाई विष खुवाएको लगायतका घटनाहरूदेखि सम्बन्ध बिग्रिएको थियो। रुसको राजधानी मस्कोले बेलायतको राजधानी लन्डनलाई विश्वव्यापी संकट निर्माण गर्ने र ‘उत्तेजक युद्ध’ का लागि उक्साउने शिल्पकारको ट्याग लगाउने गरेको छ। रुसले सैन्य आक्रमण थालेपछि बेलायतले युक्रेनको समर्थन गर्दै आएको छ।

एजेन्सी

Link copied successfully