टेस्लाले भारतमा कारखाना खोल्नु अमेरिकाका लागि ‘अन्यायपूर्ण’ भन्दै राष्ट्रपति ट्रम्पको दबाब
काठमाडौँ — कुनै समय भारतीय बजार प्रवेश गर्न आतुर रहेको अमेरिकी कम्पनी टेस्ला अब त्यसमा इच्छुक नरहेको खुल्न आएको छ । भारतको महाराष्ट्रमा टेस्लाले कारखाना खोल्ने चर्चा चलिरहेका बेला त्यसो नहुने तय भएको छ । अर्बपति इलन मस्कको इलेक्ट्रिक गाडी (ईभी) निर्माता, टेस्लाले भारतमा उत्पादन कारखाना नखोल्ने भारतका उद्योगमन्त्रीले पुष्टि गरेका हुन् ।
गत वर्ष मात्रै भारतले विश्वभरका ईभी कम्पनीहरूलाई लक्षित गर्दै विभिन्न प्रोत्साहन योजना घोषणा गरेको थियो । अहिले ईभी निर्माण प्रवर्द्धनका लागि विस्तृत निर्देशिका सार्वजनिक गरेको छ ।
मन्त्री एचडी कुमारस्वामीका अनुसार टेस्लाले भारतमा दुई वटा शोरुम खोल्ने र यसको रिटेल उपस्थिति रहने बताएका छन् । टेस्लाको जोड उत्पादन कारखाना नभई भारतमा गाडी निर्यातमै रहेको देखिन्छ । शोरुमका लागि स्थान पहिल्याउनेदेखि टेस्लाले २५ भन्दा धेरै पदहरूमा रोजगारीका लागि आह्वानसमेत गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
‘मर्सिडिज बेन्ज, स्कोडा–भोल्क्सवागन, हुन्डाई र कियाजस्ता कम्पनीहरूले भारतमा ईभी उत्पादनमा चासो देखाएका छन् तर टेस्लाबाट भने हामीले कुनै अपेक्षा गरेका छैनौं,’ कुमारस्वामीले पत्रकार सम्मेलनमा भनेका छन्, ‘टेस्ला भारतमा उत्पादन गर्न इच्छुक छैन ।’ अर्का एक अधिकारीले प्रेस ट्रस्ट अफ इन्डियालाई बताएअनुसार टेस्लाका प्रतिनिधिले भारतसँग पहिलो चरणको छलफलमा भाग लिए पनि दोस्रो र तेस्रो चरणमा सहभागी भएनन् ।
टेस्लाले भारतमा कारखाना खोल्नु अमेरिकाका लागि ‘अन्यायपूर्ण’ हुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमा बताएका थिए । त्यो बेला अति निकट सम्बन्ध भएका ट्रम्प र मस्कबीच अहिले दूरी बढेको छ । टेस्लाले विगतमा भने भारतीय बजार प्रवेश गर्न धेरै पटक प्रयास गरेको थियो । सन् २०२३ मा मस्कले भारतमा लगानी गर्न आफूले सही समय पर्खिरहेको प्रतिक्रियासमेत दिएका थिए ।
अहिले भने टेस्लाको योजना भारतमा गाडी निर्यात गर्नेमा मात्रै सीमित रहेको रोयटर्सले जनाएको छ । ईभी उत्पादनमा लगानी गर्ने प्रतिबद्धता जनाउने विदेशी अटो निर्माताहरूका लागि भारतले आयात शुल्क उल्लेखनीय रूपमा घटाउने घोषणा गर्नुको मुख्य उद्देश्य मूलतः टेस्लालाई नै आकर्षित गर्नु रहेको रोयटर्सको विश्लेषण छ । तथापि, टेस्लाका सीईओ मस्कले गत वर्ष नै भारतमा लगानी गर्ने योजना स्थगित गरिदिएका थिए । उनले भारतमा आयातित गाडीहरूमा लाग्ने उच्च शुल्कप्रति पटक–पटक असन्तुष्टि जनाउँदै आएका छन् ।
फक्सवागन इन्डियाले पनि आफूहरू भारतको ईभीसम्बन्धी नयाँ नीतिलाई नजिकबाट हेरिरहेको र त्यसको प्रभावको मूल्यांकन गर्ने प्रतिक्रिया दिएको छ । भारतमा ईभी गाडीको बिक्रीमा टाटा मोटर्स अग्रस्थानमा छ । सन् २०२४ मा जम्मा ४३ लाख कार बिक्री भएकोमा जम्मा २.५ प्रतिशत मात्रै ईभी थिए । सरकारले यो प्रतिशत सन् २०३० सम्ममा ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
ट्रम्पको ट्याक्स र खर्चसम्बन्धी विधयेकमाथि मस्कको आलोचना
अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्याक्स र खर्च सम्बन्धित बिललाई लिएर कडा आलोचना गरेका छन् । साथै उनले यसलाई ‘घिनलाग्दो’ कदमका रूपमा टिप्पणी गरेका छन् ।
यो कानुन हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी संसद्को तल्लो सदन) मा पास गरिएको थियो । यस कानुनमा कैयौं ट्रिलियन डलरको ट्याक्समा छुट, रक्षा खर्चमा बढोत्तरी र अमेरिकी सरकारलाई धेरैभन्दा धेरै ऋण लिने अनुमति पनि समावेश छन् ।
मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा मंगलबार लेखेका छन्, ‘जो मानिसले यसका लागि भोट दिए । उनीहरूलाई लज्जा आउनुपर्ने हो ।’ टेक अर्बपति मस्क डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डीओजीआई) अर्थात् खर्च कटौती विभागमा १२९ दिनसम्म काम गरेपछि पछिल्लो साता अचानक प्रशासनबाट अलग भएका थिए । यो टिप्पणी सरकार छाडेपछि ट्रम्पसँग एलन मस्कको पहिलो सार्वजनिक असहमति देखिएको हो । यसअघि उनले यो योजनालाई निराशाजनक बताएका थिए ।
मंगलबार एक्समा एकपछि अर्को पोस्ट गर्दै मस्कले भनेका छन्, ‘यसले अमेरिकाको बजेट घाटालाई बढाएर २ दशमलव ५ ट्रिलियन डलर पुर्याउनेछ । र, अमेरिकी नागरिकका लागि असराहनीय ऋणको बोझ बढाउनेछ ।’
