जी-सेभेन शिखर सम्मेलनमा क्यानडाले भारतलाई निमन्त्रणा दिएन

जेष्ठ २१, २०८२

एजेन्सी

Canada did not invite India to the G-7 summit

काठमाडौँ — आउँदो जी-सेभेन शिखर सम्मेलनमा क्यानडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रित विशिष्ट नेताहरूको सूचिबाट बाहिर राखेपछि विश्व कूटनीतिक क्षेत्र तरंगित बनेको छ । शक्तिशाली लोकतान्त्रिक देशहरूको उच्चस्तरीय भेलामा सन् २०१९ यता पहिलोपटक भारतलाई बाहिर राख्न लागिएको हो । क्यानडाको अल्बर्टामा जुन १५ देखि १७ सम्म यो सम्मेलन हुँदै छ । 

कतिपय सञ्चार माध्यमका अनुसार भारतले भित्री रूपमा निम्तोको लागि दबाब दिँदै आएको छ । तर, हार्दिक सिंह निज्जरको हत्या प्रकरणपछि अझैसम्म सम्हालिन नसकेको दिल्ली-ओटावा सम्बन्धका बीच क्यानडाले निम्तो नदिने निर्णय गरेको विश्लेषण भइरहेको छ । द न्यूयोर्क टाइम्सले भारतलाई सम्मेलनबाट बहिष्कार गरिनु ‘दुर्लभ कूटनीतिक तिरस्कार’ का रूपमा उल्लेख गरेको छ । 

यसलाई दुवै देशबीच चर्किँदै गएको तनावको प्रत्यक्ष नतिजा मानिएको छ । सन् २०२३ मा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतको गुप्तचर निकायले निज्जरको हत्या गराएको आरोप लगाएका थिए । निज्जर खालिस्तान समर्थक क्यानडाली नागरिक थिए । भारतले त्यस आरोपलाई अस्वीकार गरेको थियो । त्यसयता दुई देशबीच कूटनीतिक तनाव उत्पन्न भएर दूतावासका कर्मचारीहरू निकाला गर्नेदेखि भिसा सेवा स्थगनजस्ता घटना भए । 

भारतको विदेश मन्त्रालयले ‘कुनै औपचारिक निमन्त्रणा प्राप्त नभएको’ जनाएको छ । दक्षिण अफ्रिका, अस्ट्रेलिया र युक्रेनजस्ता देशहरूलाई निमन्त्रणा दिइसकिएको सन्दर्भमा सम्मेलनमा भारतको अनुपस्थिति अर्थपूर्ण देखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छ । 

विगतमा यस्ता विश्वस्तरीय मञ्चहरूमा नियमित र आकर्षणका रूपमा उपस्थित हुने मोदी, यसपटक अनुपस्थित रहनु भारतको विश्व छविमा गम्भीर धक्का मानिएको छ । कांग्रेस नेता जयराम रमेशले ६ वर्षपछि पहिलोपटक ‘विश्वगुरु’ भनिने व्यक्ति जी-सेभन मञ्चमा उपस्थित नहुने बताएका छन् । ‘जस्तोसुकै व्याख्या दिइए पनि भारतका लागि यो अर्काे ठूलो कूटनीतिक असफलता हो,’ रमेशले एक्समा पोस्ट गरेका छन्, ‘यसअघि भारत-पाकिस्तान तनाव समाधानमा अमेरिकी मध्यस्थता स्वीकार गर्नु भारतको नीति विरुद्ध थियो ।’ 

भारत-पाकिस्तान द्वन्द्व समाधानमा अमेरिकाको मध्यस्थता स्वीकार गर्दै तटस्थ स्थलमा वार्ताको प्रस्तावसमेत मान्न तयार हुनुलाई रमेशले मोदी सरकारको अघिल्लो कूटनीतिक असफलताका रूपमा अर्थ्याएका छन् ।  

एजेन्सी

Link copied successfully