काठमाडौँ — कुनै समय भारतीय बजार प्रवेश गर्न आतुर रहेको अमेरिकी कम्पनी टेस्ला अब त्यसमा इच्छुक नरहेको खुल्न आएको छ । भारतको महाराष्ट्रमा टेस्लाले कारखाना खोल्ने चर्चा चलिरहेका बेला त्यसो नहुने तय भएको छ । अर्बपती इलन मस्कको इलेक्ट्रिक गाडी (ईभी) निर्माता, टेस्लाले भारतमा उत्पादन कारखाना नखोल्ने भारतकै भारी उद्योग मन्त्रीले पुष्टि गरेका हुन् ।
गत वर्ष मात्रै भारतले विश्वभरका ईभी कम्पनीहरूलाई लक्षित गर्दै विभिन्न प्रोत्साहन योजना घोषणा गरेको थियो । अहिले ईभी निर्माण प्रवर्द्धनका लागि विस्तृत निर्देशिका सार्वजनिक गरेको छ । मन्त्री एचडी कुमारस्वामीका अनुसार टेस्लाले भारतमा दुईवटा शोरूम खोल्ने र यसको रिटेल उपस्थिति रहने बताएका छन् । टेस्लाको जोड उत्पादन कारखाना नभइ भारतमा गाडी निर्यातमै रहेको देखिन्छ । शोरुमका लागि स्थान पहिल्याउनेदेखि टेस्लाले २५ भन्दा धेरै पदहरूमा रोजगारीका लागि आह्वानसमेत गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
‘मर्सिडिज बेन्ज, स्कोडा-भोल्क्सवागन, हुन्डाई र कियाजस्ता कम्पनीहरूले भारतमा ईभी उत्पादनमा चासो देखाएका छन् तर टेस्लाबाट भने हामीले कुनै अपेक्षा गरेका छैनौँ,’ कुमारस्वामीले पत्रकार सम्मेलनमा भनेका छन्, ‘टेस्ला भारतमा उत्पादन गर्न इच्छुक छैन ।’ अर्का एक अधिकारीले प्रेस ट्रस्ट अफ इन्डियालाई बताएका अनुसार टेस्लाका प्रतिनिधिले भारतसँग पहिलो चरणको छलफलमा भाग लिए पनि दोस्रो र तेस्रो चरणमा सहभागी भएनन् ।
टेस्लाले भारतमा कारखाना खोल्नु अमेरिकाका लागि ‘अन्यायपूर्ण’ हुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरिमा बताएका थिए । त्यो बेला अतिनिकट सम्बन्ध भएका ट्रम्प र मस्कबीच अहिले दूरी बढेको छ । टेस्लाले विगतमा भने भारतीय बजार प्रवेश गर्न धेरैपटक प्रयास गरेको थियो । सन् २०२३ मा मस्कले भारतमा लगानी गर्न आफूले सही समय पर्खिरहेको प्रतिकृयासमेत दिएका थिए ।
अहिले भने टेस्लाको योजना भारतमा गाडी निर्यात गर्नेमा मात्रै सिमित रहेको रोयटर्सले जनाएको छ । ईभी उत्पादनमा लगानी गर्ने प्रतिबद्धता जनाउने विदेशी अटो निर्माताहरूका लागि भारतले आयात शुल्क उल्लेखनीय रूपमा घटाउने घोषणा गर्नुको मुख्य उदेश्य मूलतः टेस्लालाई नै आकर्षित गर्नु रहेको रोयटर्सको विश्लेषण छ । तथापी, टेस्लाका सीईओ मस्कले गत वर्ष नै भारतमा लगानी गर्ने योजना स्थगित गरिदिएका थिए । उनले भारतमा आयातित गाडीहरूमा लाग्ने उच्च शुल्कप्रति पटक-पटक असन्तुष्टि जनाउँदै आएका छन् ।
स्कोडा अटो भोल्क्सवागन इन्डियाले पनि आफूहरू भारतको ईभीसम्बन्धी नयाँ नीतिलाई नजिकबाट हेरिरहेको र त्यसको प्रभावको मूल्यांकन गर्ने प्रतिकृया दिएको छ । भारतमा ईभी गाडीको विक्रीमा टाटा मोटर्स अग्रस्थानमा छ । सन् २०२४ मा जम्मा ४३ लाख कार बिक्री भएकोमा जम्मा २.५ प्रतिशत मात्रै ईभी थिए । सरकारले यो प्रतिशत सन् २०३० सम्ममा ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
