इजरायली आक्रमणमा अस्ताइन् गाजाकी कान्छी इन्फ्लुएन्सर 

जेष्ठ २०, २०८२

एजेन्सी

Gaza's youngest influencer under Israeli attack

काठमाडौँ — शुक्रबार प्यालेस्टाइनस्थित गाजाको देर अल-बलाहमा भएका इजरायली हमलामा दर्जनौँ बालबालिकाको ज्यान गएको छ । उक्त हमलामा गाजाकी कान्छी अनलाइन इन्फ्लुएन्सर पनि मारिएकी छिन् ।

गाजाका बालबालिकाको कथा भन्न र उनीहरूलाई सघाउने कामले चिनिएकी ११ वर्षीया यकिन हम्माद आफू बसीरहेको अस्थायी घरमा पुरिएको अवस्थामा भेटिएकी थिइन् । गाजाकी प्रभावशाली आवाज बनेकी यकिनका इन्स्टाग्राममा हाल १ लाख १७ हजारभन्दा बढी फलोअर थिए । उनको मृत्युले गाजाका बालबालिकाहरूले भोगिरहेको जोखिमलाई थप सतहमा ल्याइदिएको छ  । 

आफ्ना कथा सुनाउनुका साथै गाजाका टुहुरा बालबालिकालाई सघाउन र उनीहरूका लागि खानेकुरा, लुगा, फलफूल, खेलौना जुटाउने अभियानमा रहेकी यकिनले गाजाको जीवनबारे विभिन्न भिडियो बनाउने गर्थिन् । भिडियोहरूमा उनी कहिले शरणार्थी बालबालिकालाई आइसक्रिम बाँड्दै गरेको, भोकाएका परिवारलाई खाना, लुगाफाटा बाँड्दै गरेको देख्न सकिन्छ । अधिकांश समय उनी आफ्ना दाजु मोहम्मदसँगै हुन्थिन्, जो आफैँ पनि स्वयंसेवी कार्यमा लागेका छन् । तीन हप्ताअघिसम्म उनी एक शरणार्थी शिविरमा मुस्कुराउँदै आइसक्रिम बाँडिरहेको देखिएकी थिइन् ।

उनको अन्तिम पोस्ट मे १६ मा आएको थियो । त्यसमा उनी दाजुसँग फलफूल बाँड्दै गरेको देखिन्छिन् । क्याप्सनमा लेखिएको थियो, ‘गाजाका बच्चाको मुस्कानभन्दा सुन्दर केही हुन्छ ?’ आज त्यो प्रश्न उनको मृत्युसँगै सामाजिक सञ्जालमा छरिएको छ र उनका कथाबारे जानकार विश्वभरका पत्रकार, लेखक, सामाजिक अभियन्ता र प्रभावशाली व्यक्तिहरूले सन्देशहरू पोस्ट गरेका छन । अलजजिरा, डेली मेल, इन्डिपेन्डेन्टजस्ता मिडियाले उनको निधनबारे समाचार लेखेका छन् । 

अमेरिकी मानवीय अभियन्ता डा. ओमर सुलेमानले यकिनलाई प्रौढ व्यक्तिहरूभन्दा दह्रो मुटु भएकी बालिका भन्दै उनको निधनमा दु:ख व्यक्त गरेका छन् । त्यस्तै, बेलायती लेखक कामेल हावाशले उनलाई ‘अत्यन्तै सुन्दर बालिका’ भन्दै उनीसँगै मानवीय भावनाको मृत्युलाई अत्यन्तै दु:खद मानेका छन् । गाजाका फोटोपत्रकार महमूद बस्सामले लेखेका छन्, ‘शरीर हराए पनि उनको प्रभाव मानवीयताको एउटा झिल्को बनेर बाँकी रहनेछ ।’ यकिनको इन्स्टाग्राम पोस्टहरूमा एउटा ११ वर्षीया बालिकाले किन यस्तो नियति भोग्नुपरेको भन्ने व्यहोराका प्रश्नहरू देखिएका छन् ।  

Gaza's youngest influencer under Israeli attack

गाजा युद्धको निरन्तर पीडा भोग्ने यकिन एक्ली पात्र होइनन् । अक्टोबर २०२३ देखि सुरु भएको हालको द्वन्द्वमा हजारौँ बालबालिका र सर्वसाधारणको ज्यान गइसकेको छ । पछिल्ला तथ्यांकअनुसार गाजामा ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमध्ये प्रमुख हिस्सा बालबालिका छन् । पछिल्ला दश हप्तामा मात्र झन्डै ४ हजार बालबालिकाले ज्यान गुमाएका तथ्यांक छन् । विद्यालय, अस्पताल, अस्थायी शिविर र आफ्नै घरभित्र पनि निरन्तर असुरक्षित बन्दै आएका बालबालिकाहरूसँगै अंगभंग हुने, टुहुरा हुने, घाइते र निरन्तर विस्थापित बालबालिकाको संख्या लाखौँ छ ।   

द्वन्द्वको बेलामा कसरी बच्ने, साना खुसीका क्षण कसरी मनाउने, ग्यास नहुँदा कसरी खाना बनाउनेजस्ता भिडियोसँगै हँसिली यकिन भने अब इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालमा देखिने छैनन् ।  

एजेन्सी

Link copied successfully