आइतबार साँझ ७ बजे आएको पहिरोले नेपालको पूर्वी सिमानानजिकै पर्ने उत्तरी सिक्किमको छातेनस्थित सैनिक क्याम्प नै बगाएको थियो
काठमाडौँ — भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको पहिरोमा परी आइतबार साँझदेखि हराइरहेका ६ जना सैनिक सोमबार बेलुकासम्म पनि फेला परेका छैनन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, आइतबार साँझ ७ बजेतिर आएको पहिरोले नेपालको पूर्वी सिमानानजिकै पर्ने उत्तरी सिक्किमको छातेनस्थित सैनिक क्याम्प नै बगाएपछि तीन सैनिकको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए । पहिरोले दुई वटा पुलमा क्षति पुर्याउँदा सडक सञ्जाल अवरुद्ध भएको थियो ।
भारतीय सञ्चारमाध्यमका समाचारअनुसार घटना भएको २४ घण्टा बित्दासमेत उद्धार टोलीले हराइरहेकालाई फेला पार्न सकेका छैनन् । यद्यपि सीमा सडक बलले लेदो, गेग्रानहरू सफा गरेर अवरुद्ध सडक खुलाइसकेको छ । बाढीपहिरोले सिक्किमको अधिकांश भूभागको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । सिक्किमको मन्गन जिल्लाको लाचेन र लाचुङलगायत पर्यटकीय गन्तव्यहरूमा पुगेका १५ सय जति पर्यटक आइतबारको भारी वर्षापछि अलपत्र परेका थिए । तीमध्ये सयभन्दा बढीलाई सुरक्षित स्थानतिर सारिएको समाचार एजेन्सी पीटीआईले लेखेको छ ।
केही दिनयताको भारी वर्षापछि आएको बाढीपहिरोमा परेर सिक्किमसहित असम, अरुणाचल, मेघालय, मिजोराम र नागाल्यान्डमा कम्तीमा ३२ जनाको मृत्यु भइसकेको छ । सरदरभन्दा आठ दिनअगावै प्रवेश गरेको मनसुनले सुरुवातमा भारतको दक्षिणी केरला, कर्नाटक, महाराष्ट्र राज्यहरूमा जनजीवन प्रभावित पारेको थियो । मनसुन प्रवेश गरेको दोस्रो सातादेखि पूर्वोत्तर राज्यहरूमा ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ ।
स्थानीय कुसियरा नदी लगायतमा पानीको सतह बढेर आएको बाढीले गर्दा असमको श्रीभूमि जिल्लामा दुई जनाको मृत्यु भएको छ भने हजारौं जनजीवन प्रभावित पारेको छ । बाढीले गर्दा बंगलादेशसँग सीमावर्ती यस जिल्लाका ३ सयभन्दा बढी गाउँका ४० हजार स्थानीय प्रभावित भएको जिल्ला कमिसनर प्रदिपकुमार द्विवेदीले समाचार एजेन्सी एनीलाई बताएका छन् । उद्धार गरिएका र विस्थापितहरूले जिल्ला प्रशासनले स्थापना गरेका विभिन्न सेल्टरमा आश्रय लिइरहेका छन् । उनीहरूलाई खान, बस्न र औषधि उपचारका लागि क्याम्पहरू बनाइएका छन् । भारी वर्षाले गर्दा असमको कुसियरा, सिङ्ला, बाराक र लोङगाई नामका नदीहरूमा पानीको सतहले खतराको तह पार गरेको थियो । असमको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार त्यस राज्यका विभिन्न १९ जिल्लाका ३ लाख ६४ हजारभन्दा बढी जनसंख्या प्रभावित भएका छन् । ७ सय ५८ गाउँहरू डुबानमा परेका छन् । मनिपुरमा पनि १९ हजारभन्दा बढी जनसंख्या प्रभावित भएको द इन्डियन एक्स्प्रेसले लेखेको छ । यसैगरी तीन हजार घरहरूमा क्षति पुगेको छ ।
यसैबीच आउने साता असम र मेघालयमा अति भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन भारतको मौसम विभागले ‘रेड अलर्ट’ जारी गरेको छ । ‘रेड अलर्ट’ ले मनसुनजन्य विपद्को उच्च जोखिमको संकेत गर्छ । यसैगरी उत्तरपूर्वी नागल्यान्ड, मिजोराम, मनिपुर र त्रिपुरा राज्यमा पनि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अरुणाचल प्रदेश, पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा पनि अत्यधिक वर्षाको प्रक्षेपण गरिएको छ ।
