अमेरिकी सरकार र राजनीतिमा पहुँच बनाउन सिपालु मानिएका उद्यमी मस्कको राजनीतिक चमक-धमक साढे चार महिनामै अहिले एकाएक मन्द
काठमाडौँ — केही महिनाअघिसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका ‘अत्यन्तै निकट मित्र’ मानिने धनाढ्य अर्बपति इलन मस्कबीचको ब्रोमान्स छताछुल्ल देखिन्थ्यो । अमेरिकी सरकार र राजनीतिमा पहुँच बनाउन सिपालु मानिएका उद्यमी मस्कको राजनीतिक चमक-धकम साढे चार महिनामै अहिले एकाएक मन्द भएको छ । उनले यसै साता सरकारी दक्षता विभागअन्तर्गत 'विशेष सरकारी कर्मचारी’ को जिम्मेवारीबाट औपचारिक रूपमै अलग भएको घोषणा पनि गरेका छन् ।
सार्वजनिक कार्यक्रम, व्यक्तिगत भ्रमण होस् वा राजनीतिक आमसभा, ट्रम्पसँग निकट छँदा मस्कले अमेरिकाका लागि ट्रम्पजत्तिको नेता कोही हुनै सक्दैन भनेर खुल्लमखुल्ला प्रचार गरे । उनले रिपब्लिकन पार्टीको कार्यक्रम र अभियानमा लाखौँ अमेरिकी डलर खन्याए । ट्रम्पले निर्वाचन जितेलगत्तै मस्कको पनि पहुँच र सम्पत्ति अकासिएको थियो । ट्रम्पले उनलाई मन्त्रीसरहको पद दिएर अमेरिकी सरकारको प्रभावकारिता बढाउन गठित ‘डज’ भन्ने विभागको जिम्मासमेत लगाए । पीबीएसजस्ता मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले अमेरिकी सरकारलाई ‘मस्क सरकार’ भनेर उडाए पनि ।
तर, यो साता मस्कले आफू ‘विशेष सरकारी कर्मचारी’ को जिम्मेवारीबाट औपचारिक रूपमै अलग भएको घोषणा गरेका छन् । आफ्नो विदाइ पत्रकार सम्मेलनमा ट्रम्पको कुर्सीसँगै उभिएका उनको आँखाछेउ कालो दाग देखिएपछि त्यसबारे जिज्ञासा राख्दा उनले ‘सानो छोराले हिर्काएको’ भन्दै हाँसेर टारे । न्युयोर्क टाइम्सजस्ता मिडियाले भने मस्क लागूऔषधमा डुबेको समाचार प्रकाशित गरेका छन् । उनले पछिल्ला दिनमा किटामाइनजस्ता लागूऔषध अत्यधिक सेवन गर्ने गरेको सञ्चारमाध्यमको दाबी छ । बिदाइ समारोहका बेलासमेत उनी लागूऔषधमा मग्न भएको भान हुने भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
सत्तारूढ दलसँग मस्कको दूरी व्यक्तिगत आलोचनाभन्दा निकै पर पुगिसकेको छ । पछिल्लो समय रिपब्लिकन पार्टीले मस्कसँग देखिनेगरी नै दूरी बढाइरहेको र त्यसका लागि उनको अस्थिर व्यवहार, नीतिगत असहमति र व्यक्तिगत झमेलासँगै द्रुत गतिमा गिर्दो लोकप्रियतालाई कारण मानिएको छ । मस्कको अप्रत्यासित शैलीको व्यवहार र उनले ट्रम्पका कतिपय नीतिहरूको खुला आलोचना गर्न शुरू गरेपछि सम्बन्ध चिसिँदै गएको बताइन्छ । सार्वजनिक रूपमै र सामाजिक सञ्जालमा मस्कको प्रसंशा गरेर नथाक्ने ट्रम्प र उनका पार्टीका नेताहरूले अहिले मस्कको नाम लिन छोडेका छन् ।
‘मस्क नियन्त्रणबाहिर पुगेका छन्,’ एक उच्च प्रशाासनिक अधिकारीलाई उद्धृत गर्दै पोलिटिकोले लेखेको छ । मस्कले ह्वाइट हाउसको प्रक्रियालाई बेवास्ता गर्दै आफ्नै सामाजिक सञ्जाल एक्समा बिनाअनुमति र अटेरीपूर्वक सरकारी नीतिसम्बन्धी प्रस्ताव र धारणाहरू सार्वजनिक गर्न थालेको ती अधिकारीले पोलिटिकोलाई बताएका छन् ।
ट्रम्पले आफ्ना हरेक भाषणमा ‘अत्यन्तै गज्जब र सुन्दर’ भनेर तारिफ गर्ने कर तथा विनियोजन विधेयकमाथि मस्कले भने सार्वजनिक रूपमै प्रश्न गरेपछि उनको बहिर्गमन तय भएको मानिन्छ । मस्कले विधेयकबारे भनेका थिए, ‘यसले डज टिमको प्रयासलाई कमजोर बनाउने र बजेट घाटा बढाउने काम गर्छ ।’
सीबीएस सन्डेसँगको अन्तर्वार्तामा मस्कले आफू ‘विधेयकबाट निराश’ भएको बताएका छन् । उनले राजनीतिबाट पछि हट्ने संकेत गर्दै अब आफ्ना कम्पनीहरूमा ध्यान दिने समय आएको धारणा राखे । यस्तै, वाशिङ्टन पोस्टसँगको अर्को अन्तर्वार्तामा मस्कले आफ्नो नेतृत्वको एजेन्सी ‘डज’लाई सबै दोष थोपर्ने थलो बनाइएको गुनासो गरेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले आफ्ना सहयोगीहरूमाझ मस्क अब अनौपचारिक सल्लाहकारको भूमिकामा सीमित रहने बताउने गरेका छन् । रिपब्लिकन रणनीतिकारहरूले भने खुलारूपमै मस्कलाई अब राजनीतिक बोझका रूपमा हेर्न थालेका छन् । मस्कले हालै सम्पन्न एक चुनावमा कट्टरपन्थी न्यायाधीशको जोडतोडले समर्थन गरेको भए पनि विस्कन्सिन सुप्रिम कोर्टको निर्वाचनमा ती पराजित भए । सो घटनापछि रिपब्लिकनहरूले मस्क पहिलेजस्तो उपयोगी र शक्तीशाली नरहेको निष्कर्ष निकालेका हुनसक्ने विज्ञहरूको अनुमान छ ।
क्यानडा, जर्मनी, अस्ट्रेलियालगायत अन्य देशमा भएका निर्वाचनहरूमा पनि मस्क र ट्रम्पले खुलारूपमै समर्थन गरेका उम्मेद्वार र पार्टीहरूले अपेक्षित सफलता पाइरहेका छैनन् । मस्कका कतिपय व्यक्तिगत व्यवहार र लागूपदार्थको सम्भावित प्रयोगसम्बन्धी अनौपचारिक हल्लाहरूले पनि मिडियामा राम्रै स्थान पाएका छन् । यसबारे कुनै औपचारिक आरोप लागेको छैन तर रिपब्लिकन पार्टी सन् २०२६ को मध्यावधि चुनावतर्फ जाँदै गर्दा यस्ता अस्थिरता र मस्कको अप्रत्यासित शैलीबाट टाढा रहन चाहेको देख्न सकिन्छ । ट्रम्प प्रशासनका वरिष्ठ अधिकारी स्टेफेन मिलर लगायत कतिपय रिपब्लिकन सांसद् र नेताले मस्क र डजको कार्यशैलीको सार्वजनिक आलोचना गर्ने गरेका छन् ।
मस्कको व्यापारिक साम्राज्यमा पनि उनको राजनीतिक पक्षधरता र उग्र कट्टरपन्थी सार्वजनिक अभिव्यक्तिको असर देखिन थालेको छ । टेस्लाको सेयर मूल्य अप्रिलयता १८ प्रतिशतसम्म घटेका छन् । लगानीकर्ताहरू मस्कको अनावस्यक राजनीतिक संलग्नता र ट्रम्पको पुरातन प्रविधि र अतिरिक्त शुल्क (ट्यारिफ)मैत्री नीतिका कारण टेस्लाले गुमाउँदै गएको बजार हिस्सा र ब्रान्ड प्रभावका बारेमा चिन्तित छन् । इलेक्ट्रेकका फ्रेड लाम्बर्ट लेख्छन्, ‘ट्रम्प र रिपब्लिकन पार्टीले टेस्लालाई कसरी मार्दै लगेका छन् भन्ने कुरा मस्कले अब बल्ल बुझ्न थालेका छन् ।’
पछिल्ला अभिव्यक्तिहरूमा मस्कले आफूलाई पुनः परिभाषित गर्ने समय आएको आशय प्रकट गर्ने गरेका छन् । सीबीएससँगकै अन्तर्वार्तामा उनले आगामी दिनमा राजनीतिक चन्दादान उल्लेख्य कम गर्ने र नवप्रवर्तनमा केन्द्रित हुने बताएका छन् । तर, विश्लेषकहरू मस्कको यो कदमका लागि धेरै ढिलो भएको आशंका गर्छन् । कुनै समय भविष्यद्रष्टा प्रविधि व्यक्तित्वका रूपमा चिनिएका मस्क अहिले राजनीतिक रूपमा एक्लिएका मात्र छैनन्, ट्रम्प समर्थक र रिपब्लिकन पार्टीका लागि पनि काम सकिएको राजनीतिक साधनजस्तो बनेका छन् ।
एक पूर्व ट्रम्प सल्लाहकारले मस्कको अत्यधिक चर्चा अब रिपब्लिकनहरूका लागि टाउको दुखाइमा परिणत भइसकेको प्रतिकृया दिएका छन् । सीएनएनकी राजनीतिक विश्लेषक म्यागी ह्याबरम्यानले पनि व्हाइट हाउसका कैयौँ अधिकारीहरू मस्क गएकोमा खुसी रहेको बताएकी थिइन् । पहिले मन्त्रीपरिषद् बैठकमा विदेशमन्त्री मार्को रूबियो र पछि ट्रम्पकै सामुन्नेमा उनका वरिष्ठ अधिकारीले मस्कलाई हप्काउन थालेका थिए । त्यसपछि ट्रम्प आफैँले पनि मस्कलाई उनले जिम्मेवारी पूरा गरेको र अब आफ्नो व्यवसायमा फर्कनुपर्ने सुझाव दिन शुरू गरेका थिए ।
बिदाइ भाषणमा ट्रम्पले ‘मस्क खासमा व्हाइट हाउस छोडे पनि आफूहरूसँगै रहने र एक महान नागरिकका रूपमा उनले देशका लागि व्यक्तिगत क्षति र दुर्व्यवहार सहेको’ भन्दै प्रसंशा गरेका थिए । तर, ट्रम्पको पार्टी र उनको सरकारका प्रभावशाली मन्त्रीहरूले भने राहतको सास फेरेका हुन सक्ने कतिपयको ठम्याइ छ ।
