अमेरिका — अमेरिकाको न्यूजर्सी राज्यका नेपालीले आफ्नो मौलिकतासहित नेपालको कला र संस्कृति झल्काएका छन् । न्यूजर्सीमा पहिलो पटक मनाइएको नेपाल डे परेडमा करिब एक हजार बढी नेपालीले आफ्नो सामुदायिक पहिचान, मौलिकतासहित नेपालको भेषभुषा, बाजागाजासहित मुख्य बजार क्षेत्रमा र्याली निकाल्दै कला र संस्कृति झल्काएका हुन् ।
कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको ब्यानरसहित आफ्नो मौलिक पोशाक प्रस्तुत गरिएको थियो । नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठका अनुसार विभिन्न भाषी नेपालीले आफ्नो जातीय भेषभुषा, कला संस्कृतिसँगै अमेरिकामा नेपाल चिनाउने र नेपालका दर्जनौं परम्परासमेत झल्किने प्रदर्शनहरु प्रस्तुत गर्दै पर्यटन प्रबर्द्धनमा जोड दिइएको बताए ।
‘नेपाल परेड डे कार्यक्रममार्फत नेपाललाई अमेरिका मात्र होइन विश्वसामू चिनाउने र नेपालको कला, संस्कृति बुझाउने उद्देश्यले नेपालीको बसोबास धेरै भएको राज्यहरुमा बर्षेनी यस्ता कार्यक्रम आयोजना गरिँदै आएका छौं,’ उनले भने ।
संयुक्त राष्ट्र संघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि लोकबहादुर थापा र न्यूजर्सीको फेरलन सिटीका उपमेयर जोश रेइनिजले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै थापाले नेपालीले प्रवासमा रहेर पनि आफ्नो देशको पहिचान, कला र संस्कृतिको प्रचारप्रसारका लागि गरेको कार्यप्रति आफू आभारी रहेको बताए ।
फेरलन सिटीका उपमेयर रेइनिजले नेपालीले आफ्नो देशको पहिचान, कला, संस्कृतिलाई अमेरिकासम्म फैलाउन सफल भएकोमा प्रशंसा गर्दै आगामी दिन नेपाली समुदायका लागि आवश्यक सहयोग गर्न आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका समन्वय समिति न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल एवं स्थानीय सामाजिक संघसंस्थाको आयोजना र नेपाल सरकार पर्यटन प्रवर्द्धक, न्यूयोर्कको समन्वयमा भएको हो ।
राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्जिव श्रेष्ठ इभेन्ट डाईरेक्टर र सतेन्द्र शाहले कन्भेनरको भूमिका निर्वाह गरेका थिए । सञ्चारकर्मी विक्की पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । हरेक वर्ष न्यूर्योक, भर्जिनिया, म्याच्युसेड्स, टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्डमा नेपाल डे परेड मनाईंदै आएको छ ।
