'मोलोतोभ ककटेल' को आक्रमणमा कोलोराडोमा ८ जना घाइते

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

8 injured in 'Molotov cocktail' attack in Colorado

What you should know

काठमाडौँ — अमेरिकाको कोलोराडोको बोल्डरस्थित पर्ल स्ट्रिट मलमा भएको आक्रमणमा परी आठ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार इज्रायली बन्धकहरूको समर्थनमा भेला भएका मानिसहरूलाई ‘फ्री प्यालेस्टाइन’ भनेर चिच्याउँदै एक व्यक्तिले ‘मोलोतोभ ककटेल’ फाल्दा आठ जना घाइते भएका हुन् ।

‘एफबीआई’ले यो घटनालाई आतंकवादी आक्रमणका रूपमा आशंका गरेको छ । ‘रन फर देयर लाइभ्स’ नामक एक इजरायली समूहद्वारा आयोजना गरिएको साप्ताहिक प्रदर्शनका क्रममा आक्रमण भएको थियो । उक्त समूहले गाजामा रहेका इजरायली बन्धकहरूलाई ऐक्यबद्धता जनाउँदै पर्ल स्ट्रिटको बाहिरी सडकमा नियमित र्‍याली आयोजना गर्दै आएको छ ।

बोल्डर प्रहरी प्रमुख स्टेफन रेडफर्नका अनुसार प्रहरीले स्थानीय समय दिउँसो साढे एक बजे ‘एक व्यक्ति हतियारसहित देखिएको र मानिसहरूमा आगो लागेको’ भन्दै फोन प्राप्त गरेका थिए । एफबीआई डेनभर कार्यालयका प्रमुख मार्क माइकलेकले आक्रमणकारी ४५ वर्षीय मोहमद साब्री सोलिमान रहेको बताएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार, सोलिमान इजिप्टका नागरिक हुन् । उनी सन् २०२२ मा गैर–आप्रवासी भिसामा क्यालिफोर्निया आएका थिए, तर जुन सन् २०२३को फेब्रुअरीमा सकिएको थियो ।

के हो  ‘मोलोतोभ ककटेल’?

‘मोलोतोभ ककटेल’ एक घरेलु हतियार हो । यो बनाउन बोतलमा पेट्रोल र प्रज्ज्वलनशील पदार्थ राखिन्छ । त्यसमा कपडाको बत्तीजस्तो बनाएर आगो सल्काएर फ्याँकिन्छ । यसको नाम तत्कालीन सोभियत संघका विदेशमन्त्री व्याचेस्लाव मोलोतोवको नामबाट राखिएको हो । सन् १९३९ मा फिनल्यान्ड र सोभियत संघबीच भएको शीतकालीन युद्धमा यसको प्रयोग भएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully