ट्रम्पलाई पनि सामेल गराउने तुर्किएको प्रस्ताव, सोमबार हुने भनिएको वार्ताका लागि तुर्किएको मध्यस्थता
किभ — सम्भवतः आगामी साता युद्धरत दुई देश रुस र युक्रेनबीच तुर्किएको इस्तानबुलमा दोस्रो चरणको प्रत्यक्ष वार्ता हुने बताइएको छ । वार्ताको मध्यस्थता प्रयास गरिरहेको तुर्किएका विदेशमन्त्री हाकान फिदान वार्ताको तयारीका लागि युक्रेन भ्रमणमा छन् ।
शुक्रबार युक्रेनको राजधानी किभबाट सञ्चारकर्मीसँग उनले दुवै पक्षले युद्धविराम चाहेको बताए ।
तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्ध अन्त्य गर्न नाटो सदस्य तुर्किएले मध्यस्थता गरिरहेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा तुर्किएले किभ र मस्को दुवैसँग सम्बन्ध कायम राख्न प्रयास गरिरहेको छ । रुसले सोमबार आयोजना गर्ने प्रस्ताव गरेको वार्तामा प्रतिनिधिमण्डल पठाउने कि नपठाउने भन्नेबारे किभले भने अझै निर्णय गरिसकेको छैन ।
प्रत्यक्ष वार्तामा बस्नुअघि रुसले शान्तिका लागि रोडम्याप सार्वजनिक गर्नुपर्ने युक्रेनको माग छ । नत्र वार्ता गर्नुको खास औचित्य पुष्टि हुन नसक्ने उसको भनाइ रहँदै आएको छ । मस्कोले भने त्यसका लागि वार्तामा उपस्थित हुने युक्रेनी प्रतिनिधिमण्डललाई व्यक्तिगत रूपमा मात्र युद्ध अन्त्यको खाका हस्तान्तरण गर्ने बताएको छ ।
‘वार्ता सुरु हुँदै जाँदा यो मुद्दाले अझ आशावादी मोड लिन थालेको मैले देखेको छु, दुवै पक्ष युद्धविराम चाहन्छन् । कसैले पनि युद्धविराम नचाहेको भनेका छैनन्,’ विदेशमन्त्री फिदानको भनाइ उद्धृत गर्दै समाचार एजेन्सी अनादोलुले जनाएको छ । वार्ता तयारीस्वरूप फिदानले यसै साताको सुरुवातमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मस्कोमा भेटेका थिए । शुक्रबार किभ पुगेपछि भने उनले युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिगासँग भेट गर्नुका साथै युद्धमा मारिएका सैनिकहरूको स्मारक स्थलको भ्रमण गरेका छन् । विदेशमन्त्री फिदानले शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि भेट्ने अपेक्षा गरिएको छ ।
युक्रेनले दुई महिनाभन्दा बढी समयदेखि रुसलाई पूर्ण, बिनासर्त ३० दिनका लागि युद्धविराममा सहमत हुन आह्वान गर्दै आएको छ । वासिङ्टन र युरोपको दबाबका बाबजुद पुटिनले यस्तो आह्वानलाई बारम्बार अस्वीकार गर्दै आएका छन् । वार्तालाई अस्वीकार नगरे पनि रुसले युक्रेनमाथिको आक्रमणलाई पछिल्लो समय झन् तीव्र पारेको छ ।
मस्कोले सामान्यतया युक्रेनको सेनालाई सीमित गर्ने, उसलाई नाटोमा सामेल हुन प्रतिबन्ध लगाउने, विशाल क्षेत्रीय छुटहरू र जेलेन्स्कीलाई अपदस्थ गर्नेजस्ता माग सुरुवातदेखि राख्दै आएको छ । दुई साताअघि पनि इस्तानबुलमा रुस र युक्रेनबीच पहिलो चरणको ‘फेस टु फेस’ वार्ता भएको थियो ।
तुर्किएले वार्तामा ट्रम्पसहित पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष बैठक गर्न चाहेको प्रस्ताव पनि अघि सारेको छ । पहिलो चरणको वार्तापछि नै आगामी चरणमा पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता हुनुपर्ने युक्रेनको माग थियो । जसलाई रुसी वार्ता टोलीले पनि ‘ग्रिन सिग्नल’ दिएको थियो । तर उसले उक्त वार्ता दुई देशबीच मात्रै हुनुपर्ने भन्दै अमेरिकाको प्रत्यक्ष भूमिकालाई अस्वीकार गर्दै आएको छ । वार्तामा ट्रम्पलाई पनि सामेल गराउने मध्यस्थकर्ता तुर्किएको पछिल्लो प्रस्तावका बारेमा भने मस्कोले आधिकारिक धारणा दिइसकेको छैन ।
‘हामी राष्ट्रपति (तुर्किए) रेसेप तैयप एर्दोगानको नेतृत्वमा ट्रम्प, पुटिन र जेलेन्स्कीबीच इमानदारीपूर्वक वार्ता समापन गर्न सम्भव देख्छौं,’ विदेशमन्त्री फिदानले किभ भ्रमणका क्रममा भने, ‘हामी या त यस युद्धको निरन्तरतामा आँखा बन्द गर्न सक्छौं या दिगो शान्ति प्राप्त गर्न सक्छौं, युद्धविराम र शान्तिका लागि अपेक्षाहरू बढेका छन् । जबसम्म हामी वार्ताको टेबलमा हुन्छौं, तबसम्म निश्चित रूपमा प्रगति हुन सक्छ ।’
