स्विस हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियो

हिमनदी पग्लिने र फुट्ने जोखिम रहेको भन्दै झन्डै एक साताअघि नै स्विस प्रशासनले तीन सय स्थानीयलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको थियो

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

90% of the village of Blaton was destroyed when the Swiss glacier broke off

काठमाडौँ — स्विस पर्वतीय हिमनदीको ठूलो मात्रा पग्लिएर आएको ढुंगा, माटो तथा ग्रेग्रानयुक्त पहिरोले तटीय क्षेत्रमा पर्ने ब्लाटन गाउँमा क्षति पुगेको छ । बुधबार आएको उक्त हिमपहिरोले वरिपरि उपत्यकाले घेरिएको ब्लाटनको करिब ९० प्रतिशत भाग पुरिएको त्यहाँस्थित मेयरलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । ब्लाटनको दक्षिण पश्चिम भागमा बढी क्षति पुगेको छ ।

त्यहाँको क्षेत्रीय तहका प्रहरी अधिकारीका अनुसार ६४ वर्षीय एक ज्येष्ठ नागरिक उक्त हिमपहिरोमा परेर हराइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । क्षतिबारे विवरण तयार गर्न स्थानीय अधिकारीले हेलिकोप्टरमार्फत अध्ययन गरिरहेका लोत्चेन्टल संकट केन्द्रका प्रवक्ता जोनस जेट्जिनरले एपीलाई बताएका छन् । प्रारम्भिक रिपोर्टअनुसार हिमपहिरोले गर्दा बस्तीका घर, भौतिक संरचना पुरिएका छन् । लोन्जा नाम गरेको नदी नजिकै झरेको पहिरोले गर्दा ड्याम बनेर फुट्ने सम्भावना रहेको क्षेत्रीय सरकारी अधिकारीले बताएका छन् ।

घटनापछि पत्रकार सम्मेलनमा बोल्दै स्विटजरल्यान्डका वातावरणमन्त्री अल्बर्ट रोस्तीले उक्त घटनालाई ‘अप्रत्यासित’ भनेका छन् । घरबासमा क्षति पुगेका स्थानीलाई पुनःस्थापना गर्ने पनि प्रतिबद्धता गरे । १५ लाख क्युबिक मिटर बराबरको हिमनदीको भाग पग्लिने तथा फुट्ने जोखिम रहेको भन्दै झन्डै एक हप्ताअघि नै स्विस प्रशासनले ब्लाटनका करिब ३ सयजना स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा जान उर्दी जारी गरेको थियो ।

दुई वर्षअघि प्रकाशित स्विस ग्लेसियर मोनिटरिङ नेटवर्क (ग्लामोस) को वार्षिक प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण हिमनदीमा अत्यधिक असर परेको र स्विट्जरल्यान्डका हिमनदीहरूको पग्लने दर बढेको थियो । पछिल्लो दुई वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीको १० प्रतिशत पग्लिएर गएको अध्ययनमा देखिएको छ ।

स्विट्जरल्यान्डको १४ सय हिमनदीबारे वर्षौंदेखि अध्ययन गरेको अनुसन्धान टोलीले यस्तो निष्कर्ष निकालेको हो । उक्त दर भनेको ती हिमनदी सन् १९६० र १९९० बीच तीन दशकमा पग्लेको दर बराबर हुन आउँछ ।

कान्तिपुर संवाददाता

Link copied successfully