चिनियाँ विद्यार्थीहरूको भिसा खारेज गर्ने तयारीमा अमेरिका

रोयटर्सले सन् २०२४ मा अमेरिकामा २ लाख ७७ हजार चिनियाँ विद्यार्थीहरू भएको उल्लेख गरेको छ ।

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

US preparing to cancel visas for Chinese students

काठमाडौँ — अमेरिकाले चिनियाँ विद्यार्थीहरूका लागि कडा नीति अख्तियार गर्ने तयारी गरेकाे छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका वा संवेदनशील क्षेत्रहरूमा अध्ययन गरिरहेका चिनियाँ विधार्थीहरूका भिसा खारेज हुने बताएका थिए ।

विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिमा विदेश मन्त्रालयले अब चीन र हङकङबाट आउने सबै भविष्यका भिसा आवेदनहरूमा कडाइका साथ समीक्षा गर्ने र भिसा मापदण्ड पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।

अमेरिका भित्र उच्च शिक्षामा अध्ययनरत करिब एक चौथाई अन्तर्राष्ट्रिय  विद्यार्थीहरूको मूल देश चीन भएकाले यस कदमको असर निकै गहिरो हुने सीएनएनले जनाएको छ । रोयटर्सले सन् २०२४ मा अमेरिकामा २ लाख ७७ हजार चिनियाँ  विद्यार्थीहरू भएको उल्लेख गरेको छ । रोयटर्सले यो अमेरिकी नीतिले अमेरिकी शिक्षण संस्थाहरूको ठूलो आम्दानीको स्रोतमा असर पार्ने र  अमेरिकी प्रविधि कम्पनीहरूले गतिलो जनशक्ती गुमाउनेसक्ने जनाएको छ ।

चीनले अमेरिकाको यस्तो कदमलाई राजनीतिक रूपमा प्रेरित र विभेदपूर्ण भन्दै  औपचारिक रूपमा विरोध जनाउने बताएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले अमेरिकी निर्णयमाथि प्रतिक्रिया दिदै अमेरिकाले विचारधारा र राष्ट्रिय सुरक्षाको नाममा "बहाना" बनाएर यस्तो कदम चालेको आरोप लगाएकी छिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully