गाजा — गाजाको राहत वितरण केन्द्रमा मंगलबार इजरायली सेनाले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा ४८ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राहत वितरण केन्द्रमा जम्मा भएका प्यालेस्टिनीको भीड नियन्त्रण गर्न भन्दै इजरायली सेनाले गोली चलाएको थियो ।
इजरायलले गाजा क्षेत्रमा करिब तीन महिनासम्म कडा नाकाबन्दी लगाएको थियो । अन्तर्राष्ट्रिय समुदायको चर्को दबाबपछि मात्र उसले राहत सामग्रीको आपूर्ति केही खुला गरेको छ ।
नाकाबन्दीका कारण गाजा क्षेत्रका अधिकांश सर्वसाधारणले भोकमरीको सामना गर्नुपरेको छ । संयुक्त राष्ट्र संघलगायत संस्थाहरूले खाना पकाउन ग्यासको अभाव र पसल तथा बजारमा खाद्य वस्तुको अभावले गाजा क्षेत्रमा कुपोषण बढेको बताउँदै आएका छन् ।
साथै पाँच वर्षमुनिका ७१ हजार बालबालिका कुपोषित हुने चेतावनीसमेत दिइएको छ । त्यसको असरस्वरूप आगामी ११ महिनामा १४ हजारभन्दा बढी बालबालिकाको ज्यान जोखिममा पर्ने अनुमान गरिएको छ ।
