ढाका — आमनिर्वाचन माग गर्दै बुधबार पूर्वप्रधानमन्त्री खालिदा जियाको दल बंगलादेश नेसनल पार्टी (बीएनपी) ले राजधानी ढाकामा प्रदर्शन गरेको छ । बीएनपीले आगामी डिसेम्बरमा निर्वाचन गर्न माग गरेको छ ।
विभिन्न दल तथा समूहको दिनहुँ हुने यस्ता प्रदर्शनका कारण ढाकाको जनजीवन अस्तव्यस्त बन्ने गरेको छ । २ करोडभन्दा बढी जनसंख्या रहेको ढाकामा बुधबार मात्र विभिन्न समूहका गरी कम्तीमा आधा दर्जन प्रदर्शन भएका छन् ।
सन् २०२४ को अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरिएयता बंगलादेशको राजनीतिक अन्योलपूर्ण देखिएको छ । १५ वर्षदेखि शासन गर्दै आएकी हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सत्ताच्यूत हुनुपरेको थियो ।
नोबल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुस निर्वाचन नहुन्जेलका लागि प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्व गरिरहेका छन् । अन्तरिम सरकारले सन् २०२६ को जुन महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर, बीएनपीले भने आगामी डिसेम्बरमा चुनाव गर्नुपर्ने माग गरेको छ ।
बुधबार राजनीतिक र्याली र प्रतिरोधमा भएका प्रदर्शन, मजदुर हडताल र एक इस्लामी नेताको मृत्युदण्डबाट रिहाइको खुसीमा भएका प्रदर्शनहरूका कारण ढाकाको जनजीवन अस्तव्यस्त बनेको थियो । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय उल्टाएर युद्ध अपराधबाट सफाइ दिएको एक दिनपछि वरिष्ठ नेतालाई मध्य ढाकास्थित कारागारबाट रिहा गरिएपछि उनका समर्थकहरूले ठूलो र्याली निकालेका थिए ।
र्यालीका कारण ढाकाको मुख्य भागमा घण्टौं जाम भएको थियो । वामपन्थी पार्टीहरूले भने ती नेताको रिहाइको विरोधमा प्रदर्शन गर्ने बताएका छन् । बुधबार नै रम्ना पार्कबाट बीएनपीले र्याली निकालेका थियो ।
राजनीतिक र्याली प्रदर्शनका कारण स्थानीय व्यवसायीहरूसमेत आजित भएका छन् । ‘दिनको समयमा सबै मुख्य सडकहरू अवरुद्ध हुन्छन्,’ ढाकाका व्यापारी जकिर हुसेनले भने, ‘हामीले व्यापारको समय नै परिवर्तन गर्नुपरेको छ । म अहिले मध्यरातमा काम सुरु गर्छु । कानुन व्यवस्था ठीक छैन र लुटपाटहरू सामान्य भइसकेका छन् ।’
गत वर्ष हसिना सरकारलाई सत्ताच्युत गर्ने क्रममा भएको विरोध प्रदर्शनका आडमा मच्चाइएको हिंसालाई सम्झेर पनि स्थानीय चिन्तित देखिन्छन् । राजनीतिक अस्थिरता र दिनहुँ भइरहेका प्रदर्शनले हिंसात्मक रूप लिन सक्ने उनीहरूको भनाइ छ ।
‘स्थिति अकल्पनीय छ, कुनै पनि बेला विरोध प्रदर्शनले हिंसात्मक रूप लिन सक्छ,’ ४३ वर्षीया एक गृहिणीले भनिन्, ‘पहिले काममा भएका पतिलाई धेरै फोन गर्दिनथें, तर अहिले छिनछिनमा फोन गर्छु । अफिसबाट घर आउन अलि ढिला भयो भने नराम्रा विचार आउँछन् ।’ सरकारले भने ‘अनुचित माग’ र अवरोधका कारण काममा निरन्तर अवरोध पुर्याइरहेको जनाएको छ ।
