काठमाडौँ — अन्तर्राष्ट्रिय व्यापार र भन्सार कानूनसँग सम्बन्धित विवादहरू हेर्ने संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरुमा लगाएको अतिरिक्त भन्सार शुल्क रोक्न आदेश दिएको छ।
बुधबार न्युयोर्क शहरको म्यानह्यात्तनस्थित अदालतका तीन न्यायाधिशहरुको संयुक्त इजलासले अमेरिकामा भित्रिने सामानहरुमा अस्वभाविक आयात शुल्क लगाएर ट्रम्पले आफ्नो अधिकार क्षेत्र नाघेको भन्दै भन्सार शुल्क तुरुन्तै रोक्न आदेश दिएको रोयटर्सले लेखेको छ ।
ट्रम्पले ‘देशको आपतकालिन् आर्थिक’ अवस्थाको घोषणा गर्दै आक्रामक रुपमा भन्सार शुल्क लगाउँदै आएका थिए । अदालतले अमेरिकी कंग्रेस (संघीय संसद) लाई वैदेशिक व्यापार नियमन गर्नेबारे संवैधानिक बिषेश अधिकार सुनिश्चित रहेको अवस्थामा ट्रम्पको कदमलाई अनुचित भनि व्याख्या गरेको छ ।
‘आर्थिक फाइदा उठाउने नाममा राष्ट्रपतिले लगाएको भनिएको अतिरिक्त भन्सार शुल्कलाई अदालतले बुद्धिमानी वा सम्भावित प्रभावकारी कदम भनेर भन्दैन, तर संघीय कानुनले नै लागु गर्न अनुमति नदिने हुनाले यो अनुचित छ,’ तीन न्यायाधीशहरूको इजलासले भनेको छ ।
यो आदेशसंगै अमेरिका भित्रिने ‘फेन्टानिल’ नामको लागु औषध रोक्ने भन्दै ट्रम्पले यस वर्षको सुरुवातमै चीन, मेक्सिको र क्यानडामाथि लगाएको भन्सार शुल्क लागु गर्नबाट रोक्ने सिएनएनले उल्लेख गरेको छ । आदेशपछि ट्रम्पले चीनबाट आयात हुने सामानमा लगाएको ३० प्रतिशत, मेक्सिको र क्यानडामा लगाएको २५ प्रतिशत, र अमेरिकामा भित्रिने धेरैजसो सामानहरूमा १० प्रतिशत विश्वव्यापी शुल्क कार्यान्वयनलाई अवरोध पुगेको छ ।
यद्यपि, यसले राष्ट्रपतिको हैसियतमा ट्रम्पले बिशेष शक्तिको प्रयोग गर्दै लगाएको भन्सार शुल्क व्यवस्थामा भन्दा फरक ‘व्यापार विस्तार ऐन’को धारा २३२ मा मातहतमा रहेका अटो, अटो पार्टपुर्जा, स्टील वा आल्मुनियममा लगाइएको २५ प्रतिशत भन्सार शुल्कलाई भने बुधबारको आदेशले असर गर्दैन ।
अमेरिकी अन्तरराष्ट्रिय व्यापार अदालतले आदेश दिएको केही मिनेटभित्रै ट्रम्प प्रशासनले अदालतको अधिकार क्षेत्रमाथि प्रश्न उठाउ“दै अमेरिकी पुनरावेदन अदालतमा पुनरावेदन दायर गरेको रोयटर्सले उल्लेख गरेको छ ।
