गाजा सिटी — इजरायली आक्रमणमा परी गाजापट्टीमा बिहीबार कम्तीमा ४४ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता भित्रिन थाले पनि १८ महिना लामो विनाशकारी युद्धपछि मानवीय स्थिति भने अझै भयावह छ ।
खाद्य सुरक्षा विज्ञका अनुसार गाजामा हरेक पाँच जनामध्ये एक जना भोकमरीको चपेटामा छन् ।
‘इजरायली आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ, जसमा २३ जना अल–बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएका छन्,’ गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भने, ‘दक्षिणी गाजापट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्रनजिकै बिहीबार बिहान इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् ।’
अमेरिका समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा दक्षिणी गाजामा सञ्चालित सहायता वितरण केन्द्रहरू नै यतिबेला जोखिम क्षेत्र बनिरहेका छन् । भोकमरीका कारण अराजक बनिरहेको भीडमाथि इजरायली सैनिकले गोली चलाउँदा पछिल्लो तीन दिनमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । संयुक्त राष्ट्रसंघ र युरोपेली संघबाट यसको आलोचना भइरहेको छ ।
‘हामीमाथि जे भइरहेको छ, त्यो अपमानजनक छ । भीडले हामीलाई अपमानित गरिरहेको छ,’ बिहीबार जीएचएफ केन्द्रको भ्रमण गरेकी गाजाकी स्थानीय सोभी अरिफले भनिन्, ‘आफ्ना बच्चाहरूलाई खुवाउनका लागि एक बोरा मैदा पाइएला भनेर हामी सहायता केन्द्रमा धाउँछौं तर त्यहीं हाम्रो जीवन झन् जोखिममा छ ।’ इजरायली सेनाले भने अल–बुरेज र सहायता केन्द्रनजिकै भएको आक्रमणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले भनेको छ, ‘बुधबार गाजापट्टीमा दर्जनौँ आतंकवादी लक्ष्यमा आक्रमण गरिएको छ ।’ युरोपेली संघका विदेश नीति प्रमुख काजा कल्लाससँग बिहीबार भएको टेलिफोन वार्तामा जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलको ‘भोकमरी रणनीतिले सबै नैतिक र कानुनी सीमा नाघेको’ बताएका छन् ।
२०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायली सेनाले हमासमाथि निरन्तर आक्रमण गर्दै आइरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमास युद्धमा परी कम्तीमा ५४ हजार २ सय ४९ प्यालेस्टिनीको मृत्यु भएको छ र १ लाख २३ हजार ४ सय ९२ जना घाइते भएका छन् । सरकारी मिडिया कार्यालयले ६१ हजार ७ सयभन्दा बढीको मृत्यु भएको जनाएको छ भने हजारौं व्यक्ति भग्नावशेषमा हराइरहेको वा मारिएको हुन सक्ने अनुमान गरिएको छ । हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणमा इजरायलमा अनुमानित १ हजार १ सय ३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाइएको थियो ।
