काठमाडौँ — उत्तर कोरियाले बुधबार नयाँ युद्धपोत परीक्षणका क्रममा भएको दुर्घटनामा शिपयार्डका तीन जना अधिकारीलाई हिरासतमा लिइएको छ । उत्तर कोरियाली सरकारी मिडियाले यसको पुष्टि गरेको छ ।
करिब पाँच हजार टनको यो जहाजको मुनितिरको हिस्सा परीक्षणका क्रममा टुक्रिएको थियो । यसका कारण युद्धपोतको सन्तुलन बिग्रिएको थियो ।
युद्धपोतको लञ्चका क्रममा भएको यो दुर्घटनामा जाँच सुरु भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले यस घटनालाई अपराधिक कृत्य बताएका छन् ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएसले हिरासतमा लिइएका अधिकारीहरुको पहिचान चोङजिन शिपयार्डका मुख्य इन्जिनियरका रुपमा गरेको छ ।
यो युद्धपोतको निर्माण चोङजिन शिपयार्डमै गरिएको थियो । यसबाहेक यो शिपयार्डको निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ ।
सरकारी मिडियाको रिपोर्ट्स अनुसार यो दुर्घटनामा यी अधिकारीहरु जिम्मेवार थिए । स्याटलाइट तस्बिरअनुसार युद्धपोत ठूलो निलो त्रिपालले छोपिएको देखिन्छ ।
