१९ वर्षमा विदेशी विद्यार्थी २७ प्रतिशत पुग्यो, ०.३ प्रतिशत अर्थात् २२ जना नेपाली
अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेजका लागि गरेको आदेश तत्काल कार्यान्वयन गर्न संघीय अदालतले रोक लगाएको छ ।
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना कार्यक्रम नै खारेज गर्ने ट्रम्प प्रशासनको आदेश पालना गर्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बिहीबार गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्ने प्रक्रियामा संघीय अदालतले रोक लगाएको हो ।
अदालतको आदेशसँगै तत्कालका लागि विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली नरोकिने भएको छ । बिहीबार होमल्याण्ड सेक्युरिटीले गरेको निर्णय २४ घण्टा अर्थात् शुक्रबार नै न्यायाधीश एलिसन बरोजले तत्कालका लागि रोक्न आदेश दिएका हुन् ।
हार्वर्डले ट्रम्प प्रशासनको कदम गैरकानुनी र स्वतन्त्र शिक्षामा हस्तक्षेप भएको भन्दै शुक्रबार नै मुद्दा दायर गरेको थियो । ‘ट्रम्प प्रशासनको आदेश कार्यान्वयनमा अदालतले तत्कालका लागि रोक लगाए पनि हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने क्षमता र भर्ना कार्यक्रमको अवस्थालाई मूल्यांकन गरेर प्रक्रिया अघि बढाउनसमेत भनेको छ’ अमेरिकी सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेको छ ।
सरकारले एकै पटकको निर्णयमा विश्वविद्यालयको एक चौथाई विद्यार्थीको भविष्यमै खेलवाड गरेको र हटाउन खोजेको हार्वर्ड प्रशासनले आरोपसमेत लगाएको छ । हार्वर्डका अध्यक्ष एलन गार्बरले सरकारको निर्णय अवैध, अनुचित र शिक्षाको स्वतन्त्रतामाथिको प्रतिशोधात्मक कारबाही भएको बताएका छन् ।
गार्बरले सरकारले पाठ्यक्रम, प्राध्यापक छनोट र विद्यार्थी संरचनामा अवैध नियन्त्रण गर्न खोजेको दाबीसमेत गरेका छन् । ‘यदि हार्वर्डले आफ्ना क्याम्पसमा अमेरिका विरोधी, यहुदी विरोधी र आतंकवादी समर्थक क्रियाकलाप अन्त्य गर्न चासो दिएको भए सरकारले विदेशी विद्यार्थी व्यवस्थापन प्रणालीनै रोक्ने अवस्था आउने थिएन,’ ह्वाइट हाउसकी उपप्रवक्ता एबिगेल ज्याक्सन अमेरिकी सञ्चारमाध्यमहरुसँग भनिन् ।
ज्याक्सनले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश दिएका न्यायाधीश बरोजले ‘उदारवादी एजेन्डा’ ल्याएको आरोपसमेत लगाइन् । निर्वाचित नभएका न्यायाधीशहरुले ट्रम्प प्रशासनको आप्रवासन तथा राष्ट्रिय सुरक्षासम्बन्धी अधिकार रोकेर गलत गरिरहेको उपप्रवक्ता ज्याक्सनले दाबीसमेत गरिन् ।
ट्रम्प प्रशासनले यसअघि हार्वर्डलाई दिँदै आएको सवा २ अर्ब अमेरिकी डलर संघीय अनुदान रोक्ने निर्णय गरेको थियो ।
१९ वर्षमा विदेशी विद्यार्थी २७ प्रतिशत, २२ जना नेपाली
हार्वर्डमा १९ वर्षमा विदेशी विद्यार्थीको संख्या २७ प्रतिशत पुगेको छ । शैक्षिक सत्र सन् २००६–२००७ देखि २०२४–२०२५ सम्म अध्ययनरतमध्ये अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या २७ प्रतिशत पुगेको हार्वर्ड प्रशासनको तथ्यांकमा उल्लेख छ ।
सन् २०२४–२०२५ शैक्षिक वर्षमा हार्वर्डमा ६ हजार ७ सय ९३ अन्तर्राष्ट्रिय विद्यार्थीहरु भर्ना भएका थिए । यो संख्या यस वर्षको कूल भर्ना तुलनामा २७ प्रतिशत हो । हाल हार्वर्डमा कूल अन्तर्राष्ट्रिय विद्यार्थी संख्या ९ हजार ९ सय ७० जना छन् । ती मध्ये २२ जना नेपाली विद्यार्थी छन् । यो संख्या कूल विदेशी विद्यार्थीको ०.३ प्रतिशत मात्र हो ।
हार्वर्डमा सन् २००६–२००७ मा १९.०६, २००७–२००८ मा १९.०८, २००८–२००९ मा १९.०८, २००९–२०१० मा १९.९, २०१०–२०११ मा १९.०७, २०११–२०१२ मा २०.०६, २०१२–२०१३ मा २१.०३, २०१३–२०१४ मा २१.०९ प्रतिशत विदेश विद्यार्थी थिए । वर्षेनी विदेशी विद्यार्थी बढ्दो रहेको हार्वर्डमा २०१४–२०१५ मा २२.०५, २०१५–२०१६ मा २२.०७, २०१६–२०१७ मा २३.०४, २०१७–२०१८ मा २३.०९, २०१८–२०१९ मा २३.०८, २०१९–२०२० मा २४.०१, २०२०–२०२१ मा २४.०१, २०२१–२०२२ मा २५.०८, २०२२–२०२३ २५.०८ र २०२३–२०२४ मा २६.०८ प्रतिशत पुगेको थियो । हार्वर्डले विश्वका १ सय ४७ देशका विद्यार्थीहरुको भर्ना स्वीकार गर्दै आएको छ ।
