भारत र पाकिस्तान युद्ध शान्त भए पनि बहस जारी

जेष्ठ ७, २०८२

एजेन्सी

The India-Pakistan war has calmed down, but the debate continues

नयाँदिल्ली/इस्लामाबाद — भारत र पाकिस्तानबीच यसै महिना भएको चारदिने द्वन्द्वबाट दुवै देशले जितेको दाबी गर्दै युद्धविराम घोषणा गरिसकेका छन् । तर उक्त युद्धमा भने चीनको रक्षा उद्योग अप्रत्याशित विजेताका रूपमा देखिएको छ ।

भारतले मे ७ मा पाकिस्तानमा रहेका ‘आतंकवादी संरचना’ माथि आक्रमण गरेपछि दुई देशबीच भिडन्तको सुरुवात भएको थियो । अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको घटनाको जवाफस्वरूप भारतले पाकिस्तानी भूमिमा आक्रमण थालेको थियो । पहलगाम आक्रमणमा मारिएकामध्ये अधिकांश पर्यटक थिए । दिल्लीले आक्रमणमा संलग्न आतंककारी समूहलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाएको थियो । पाकिस्तानले आरोप भने अस्वीकार गर्दै आएको छ । 

भारतको जवाफी कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । भारतले आक्रमण सुरु गरेसँगै दुवै देशबीच ड्रोन, क्षेप्यास्त्र र लडाकु विमानसहितको सैन्य कारबाही चलेको थियो । भारतले फ्रान्स र रुसमा निर्मित लडाकु विमान प्रयोग गर्‍यो भने पाकिस्तानले चीनसँग मिलेर बनाइएको जे–१० र जेएफ–१७ विमान प्रयोग गरेको दाबी गरेको छ । दुवै पक्षले उनीहरूको विमानले सीमा पार नगरेको र टाढाको दूरीबाट क्षेप्यास्त्र प्रहार गरिएको बताएका छन् । इस्लामावादले फ्रान्समा निर्मित राफालसहित भारतका कम्तीमा ६ वटा विमान खसालेको दाबी गरेको छ, जसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । 

भारतले पाकिस्तानमा रहेका प्रतिबन्धित आतंककारी संगठन लस्कर–ए–तोयबा र जैश–ए–मोहम्मदका मुख्यालयमा आक्रमण गरी करिब एक सय आतंककारीलाई मारेको दाबी गरेको छ । केही सञ्चारमाध्यमले पञ्जाब र भारत प्रशासित कश्मीरमा विमान खसेको खबर दिएका छन्, तर भारत सरकारले यसबारे केही प्रतिक्रिया दिएको छैन ।

समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानले सम्भवतः चीनमा निर्मित जे–१० विमानबाट भारतीय लडाकु विमानमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । घटनामा पाकिस्तानले चीनमा बनेका हतियार प्रयोग गर्नु र ती प्रभावकारी देखिनु चीनको रक्षा उद्योगका लागि एक ठूलो अवसर बनेको विश्लेषकहरू बताउँछन् । चीनका पूर्वसैनिक वरिष्ठ कर्णेल झोउ बोले भारत–पाक युद्धमा चिनियाँ हतियारको वास्तविक परीक्षण भएको बताउँछन् । 

घटनापछि चीनको जे–१० विमान बनाउने कम्पनी अभिक छेन्दु एयरक्राफ्ट कम्पनीका सेयरहरू ४० प्रतिशतसम्म बढेका छन् । तर केही विशेषज्ञहरू यसलाई चीनको हतियार प्रणालीको उत्कृष्टता भन्न अझै हतारो हुने बताउँछन् । लन्डनस्थित किङ्स कलेजका प्राध्यापक वाल्टर लाडविगले भने, ‘चीनका विमानले भारतीय वायुसेनाका विमानलाई वास्तवमै पराजित गरेको भन्ने पुष्टि भएको छैन ।’

चीनका लागि पाकिस्तान एक रणनीतिक र आर्थिक साझेदार हो । चीनले पाकिस्तानमा ५० अर्ब डलरभन्दा बढी लगानी गरी ‘चीन–पाकिस्तान आर्थिक मार्ग’ अन्तर्गत पूर्वाधार विकास गरिरहेको छ । पाकिस्तानी विश्लेषक इम्तियाज गुलले भने, ‘यस पटक चीनले निर्णायक भूमिका खेलेको देखियो । भारतले पाकिस्तान र चीनबीचको सैन्य समन्वयको स्तर कल्पना पनि गरेको थिएन ।’ वैश्विक हतियार व्यापारमा असर पार्न सक्ने भएकाले पश्चिमी मुलुकहरूले पनि जे–१० विमानको प्रदर्शनलाई चासोपूर्वक नियालिरहेका छन् ।

भारतले ११ वटा पाकिस्तानी एयरबेसमा मिसाइल आक्रमण गरेको थियो, जसमा इस्लामाबाद नजिकैको रणनीतिक नुर खान एयरबेस पनि पर्छ । भारतले पाकिस्तानका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको भए पनि यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कम चर्चा भएको प्राध्यापक लाडविग बताउँछन् । ‘यस पटक भारतले पहिला पाकिस्तानको हवाई रक्षा प्रणालीलाई निसाना बनाएर त्यसपछि ग्राउन्ड टार्गेटमा प्रहार गरेको देखिन्छ,’ उनले भने । 

एजेन्सी

Link copied successfully