पाकिस्तानमा स्कूल बसमा बम आक्रमण, ५ जना मारिए

जेष्ठ ७, २०८२

एजेन्सी

Bomb attack on school bus in Pakistan, 5 killed

क्वेटा — पाकिस्तानको बलुचिस्तान क्षेत्रमा एक स्कूल बसमा भएको बम आक्रमणमा कम्तीमा ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३ जना बालबालिका छन् । आक्रमणमा कम्तीमा ३८ जना घाइते भएका बीबीसीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार बुधबार बिहान करिब ७:४० बजे खुझदार भन्ने दुर्गम सहरमा बसमा विस्फोट हुँदा बसमा करिब ४० जना विद्यार्थी थिए ।सामाजिक सञ्जालमा फैलिएका तस्बिरहरूमा विस्फोटपछि जलेको बसको भग्नावशेष देखिन्छ । बसका वरिपरि स्कूलले झोलाहरू छरिएका छन् ।

घटनाको कुनै पनि समूहले जिम्मेवारी लिइसकेको छैन । पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा रहेको अशान्त प्रान्त बलुचिस्तान लामो समयदेखि विद्रोह र मानवअधिकार उल्लंघनको चपेटामा छ ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले घटनाको निन्दा गर्दै यसलाई ‘पूर्ण बर्बरता’ भनेका छन् ।  उनले आक्रमणकारीलाई ‘देश अस्थिर बनाउन बालबालिकालाई लक्षित गर्ने जनावर’ भनेका छन् । 

पाकिस्तानी सेनाले छिमेकी मुलुक भारत र बलुचिस्तानमा रहेका बलुच विद्रोहीले नाइकेले योजनाबद्ध आक्रमण गरेको आरोप लगाएको छ । यद्यपि त्यसको पुस्टि हुन सकेको छैन । भारत-प्रशासित कश्मीरको पहलगाममा २२ अप्रिलमा पर्यटकहरूमाथि भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनाव केही दिनअघि मात्र रोकिएको छ । 

भारतले २६ जनाको ज्यान गएको पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाएको थियो । तर त्यसलाई पाकिस्तानले अस्वीकार गरेको थियो । तर भारतले त्यसको जवाफमा पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका विभिन्न स्थानमा आक्रमण गरेपछि दुई देश युद्धको अवस्थामा पुगेका थिए । 

मार्चको सुरूमा बलुचिस्तानको दुर्गम सिबी जिल्लामा एक रेल कब्जा गर्ने घटनामा करिब २१ जना सर्वसाधारण र ४ सैनिक मारिएका थिए । त्यो आक्रमण बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) नामक पृथकतावादी समूहले गराएको थियो । उक्त समूहले बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि सशस्त्र विद्रोह गर्दै आएको छ ।

पाकिस्तानका साथै अमेरिका, बेलायतलगायत धेरै पश्चिमी देशले बीएलएलाई आतंकवादी संगठन घोषणा गरेका छन् । यसअघि पाकिस्तानी सेनाले बीएलएलाई भारतसँग जोडेको थियो । तर उक्त दाबी बीएलएले अस्वीकार गरेको छ । 

बलुच कार्यकर्ताहरूले पाकिस्तानका सुरक्षा बलले आफूमाथि अत्याचार गरेको आरोप लगाएका छन् । पछिल्ला दुई दशकमा सयौं जातीय बलुचहरूले पाकिस्तानी सुरक्षा बलको कारबाहीमा ज्यान गुमाएका छन् । हजारौंलाई उचित कानुनी प्रक्रियाबिना हिरासतमा लिइएको, अपहरण, यातना र हत्या गरिएको बताइन्छ । 

एजेन्सी

Link copied successfully