मस्को/किभ — युक्रेनको सुमी क्षेत्रमा रुसले गरेको आक्रमणमा तालिममा सहभागी ६ सैनिकको ज्यान गएको छ । रुसी क्षेप्यास्त्र प्रहारका कारण १० जनाभन्दा बढी घाइते भएका युक्रेनको राष्ट्रिय गार्डले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले यसअघि तालिम शिविरमा इस्केन्डर क्षेप्यास्त्र आक्रमण गरेको देखाउने भिडियो सार्वजनिक गरेको थियो । रुसी सरकारी समाचार संस्था तासले ७० जनासम्मको मृत्यु भएको दाबी गरेको छ ।
सुमी क्षेत्रमा पछिल्लो समय दुई देशबीच बारम्बार बमबारी हुँदै आएको छ । त्यहाँबाट रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनले रुसी सेनालाई पछि हटाएको छ । युक्रेनी सेनाले सुमीलाई बचाउन उक्त क्षेत्रमा आक्रमण गर्नुपरेको ताएको छ, तर कतिपयले सैन्य क्षतिको मात्राबारेमा गुनासो गरेका छन् ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्लो दिन कुर्स्कमा अधिकारीहरूलाई भेटेका जनाएको छ । पुटिनको भ्रमण युक्रेनी सेनालाई धपाइएपछिको पहिलो हो । त्यहाँ उनले स्वयंसेवकहरूका साथै कार्यवाहक स्थानीय गभर्नर अलेक्ज्याण्डर खिन्स्टेनलाई भेटेका थिए । त्यस्तै उनले नजिकैको आणविक ऊर्जा केन्द्रको भ्रमण गरेका रुसी सरकारी मिडियाले जनाएको छ ।
युक्रेनको राष्ट्रिय गार्डले सुमीमा युक्रेनी सैनिकमाथि रुसले घातक आक्रमण गरेको बुधबार बिहान पुस्टि गरेको हो । आक्रमण एकाइले फायरिङ रेन्जमा अभ्यास गरिरहेका बेला आक्रमण भएको जनाएको छ । युक्रेनी सेनाले कमाण्डरलाई निलम्बन गरिएको र आधिकारिक अनुसन्धान सुरू गरिएको जनाएको छ ।
रुसी सेनाले सार्वजनिक गरेको भिडियोमा दर्जनौं युक्रेनी सैनिक जंगल क्षेत्रनजिकैको बाटोमा हिंडिरहेको देखिन्छ र त्यसको केहीबेरमा विस्फोट र धुवाँको ठूलो मुस्लो देखिएको छ । तर बीबीसीका अनुसार सुमी क्षेत्रको उत्तर र रुसी सीमाबाट केही दक्षिणमा रहेको तालिम शिविरलाई लक्षित गरिएको हो ।
यो आक्रमण युक्रेनी सेनाका लागि ठूलो प्रहारको रूपमा आएको छ । तर युक्रेनी नेशनल गार्डले पहिले नै कारबाहीबारे तयारी गरिसकेको र मानिसहरू एकै ठाउँमा भेला हुने खतरा सम्बोधन गर्न आदेश दिएको जनाएको छ ।
