वासिङटन — अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर पुष्टि भएसँगै विश्वभर चासो र चिन्ताहरू उत्पन्न भएका छन् । बाइडेनलाई क्यान्सर लागेको खबर सार्वजनिक भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र उनकी पत्नी मेलानिया ट्रम्प बाइडेनको स्वास्थ्य स्थितिको खबरले दुःखी भएको बताएका छन् ।
‘हामी जिल (बाइडेन–पत्नी) र उनका परिवारप्रति हार्दिक शुभकामना व्यक्त गर्छौं । हामी जोलाई छिटो र सफल उपचारको कामना गर्दछौं,’ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा बाइडेनले लेखेका छन् । पूर्वउपराष्ट्रपति कमला ह्यारिसले एक्समा लेखिकी छन् कि उनी र उनका पति डग एमहफ बाइडेन परिवारका लागि प्रार्थना गरिरहेको बताएकी छन् । ‘बाइडेन एक लडाकु हुन् र मलाई थाहा छ उनले यो चुनौतीलाई त्यही शक्ति, सहनशीलता र आशाका साथ सामना गर्नेछन्,’ ह्यारिसले लेखेकी छन् ।
पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जाल एक्समार्फत उनी र उनकी पत्नी मिसेलले बाइडेन परिवारबारे चिन्ता गरिरहेको बताएका छन् । ‘क्यान्सरका सबै स्वरूपहरूमा नयाँ उपचारको खोजीमा जोले जति योगदान दिएका छन्, त्यो अरू कसैले दिएको छैन,’ उनले लेखेका छन्, ‘मलाई विश्वास छ उनले यो चुनौतीलाई आफ्नो पहिचानअनुरूप साहस र धैर्यताका साथ सामना गर्नेछन् । हामी छिटो र पूर्ण निको हुने प्रार्थना गर्छौं ।’
सन् २०१६ मा ओबामाले बाइडेनलाई ‘क्यान्सर मुनसट’ नामक राष्ट्रिय अनुसन्धन परियोजनाको नेतृत्व गर्न जिम्मा दिएका थिए । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको खबर सुनेर निकै दुःखी भएको बताएका छन् । ‘जो, उनकी पत्नी जिल र सम्पूर्ण परिवारलाई शुभकामना दिन चाहन्छु, छिटो र सफल उपचारको कामना गर्दछु,’ स्टार्मरले भनेका छन् ।
बाइडेनको कार्यालयले जारी गरेको विज्ञप्तिमा ८२ वर्षीय बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको र त्यो उनको हड्डीसम्म फैलिएको उल्लेख छ । गत साता पिसाबसम्बन्धी समस्या देखिएपछि बाइडेन परीक्षणका लागि चिकित्सककहाँ पुगेका थिए । रिपोर्ट सार्वजनिक भएसँगै उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको हो ।
बाइडेनमा देखिएको अवस्थाको क्यान्सरको प्रकार निकै आक्रामक मानिन्छ र यसमा ग्लिसन स्कोर १० मध्ये ९ मा छ । यसको अर्थ यो रोग ‘उच्च–श्रेणी’ को हो । क्यान्सर रिसर्च यूकेका अनुसार यस्तो अवस्थामा क्यान्सरका कोषहरू छिटो फैलिन सक्ने सम्भावना रहन्छ । बाइडेन र उनका पारिवारिक सदस्यहरूले हाल उपचारका विकल्पबारे समीक्षा गरिरहेको जनाइएको छ । बाइडेनमा देखिएको क्यान्सर हार्मोन संवेदनशील भएका कारण यसको व्यवस्थापन गर्न सकिने सम्भावना भएको उनको कार्यालयले जनाएको छ ।
‘गत साता पिसाबमा समस्या देखिएपछि परीक्षण गराउँदा राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेटमा गाँठो भेटियो । शुक्रबार उनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भयो, जसमा ग्लिसन स्कोर ९ (ग्रेड ग्रुप ५) छ र क्यान्सर हड्डीसम्म फैलिएको छ,’ बाइडेनको कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यो रोग निकै आक्रामक किसिमको भए पनि हार्मोन संवेदनशील देखिएकाले यसको प्रभावकारी रूपमा प्रबन्ध गर्न सकिने सम्भावना छ ।’
बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावबाट स्वास्थ्य र उमेरका कारणले नाम फिर्ता लिन बाध्य भएको एक वर्षपछि उनलाई क्यान्सर लागेको पुष्टि भएको हो । उनी अमेरिकी इतिहासमा हालसम्मकै सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन् । डेमोक््रयाट्रिक उम्मेदवारका रूपमा पुनर्निर्वाचनको प्रयास गरिरहेका बाइडेनले जुन महिनाको टेलिभिजन बहसमा रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कमजोर देखिएका थिए । त्यसपछि उनलाई कमला ह्यारिसले प्रतिस्थापन गरेकी थिइन् ।
प्रोस्टेट क्यान्सर छालाको क्यान्सरपछि पुरुषहरूमा देखा पर्ने दोस्रो सबैभन्दा सामान्य क्यान्सर हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार हरेक एक सय पुरुषमध्ये १३ जनामा जीवनकालमा कुनै न कुनै बेला प्रोस्टेट क्यान्सर हुन सक्छ । यो रोगको सबैभन्दा प्रमुख जोखिम कारक उमेर हो ।
अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख वैज्ञानिक अधिकृत डा. विलियम डाहटले बीबीसीसँग कुरा गर्दै सार्वजनिक जानकारीका आधारमा बाइडेनलाई लागेको क्यान्सरलाई आक्रामक प्रकारको भएको बताए । ‘सामान्य रूपमा जब क्यान्सर हड्डीसम्म फैलिएको हुन्छ, हामी त्यसलाई निको पार्न मिल्ने रोग ठान्दैनौं,’ उनले भने, ‘धेरैजसो बिरामीहरूले प्रारम्भिक उपचारमा राम्रो प्रतिक्रिया देखाउने गर्छन् र मानिसहरू यस्तो निदानका बाबजुद धेरै वर्ष बाँच्न सक्छन् ।’
डा. डाहटका अनुसार बाइडेनको जस्तो निदान भएका बिरामीलाई हार्मोनल उपचारहरू दिइन्छ, जसले लक्षणहरू कम गर्न र क्यान्सरको वृद्धिलाई ढिला पार्न मद्दत गर्छ । बाइडेन ह्वाइट हाउसबाट बाहिरिएपछि सार्वजनिक जीवनबाट केही हदसम्म टाढा भएका छन् र थोरै सार्वजनिक कार्यक्रममा उपस्थित हुने गरेका छन् । गत अप्रिलमा उनले सिकागोमा आयोजित एक सम्मेलनमा मुख्य वक्ताका रूपमा भाषण दिएका थिए । उक्त कार्यक्रम अमेरिका आधारित अपांगता भएका व्यक्तिहरूको हितमा काम गर्ने संस्थाले आयोजना गरेको थियो ।
मे महिनामा बीबीसीसँगको एक अन्तर्वार्तामा बाइडेनले २०२४ को चुनावबाट पछि हट्ने निर्णय ‘कठिन’ भएको स्वीकार गरेका थिए । उक्त अन्तर्वार्ता ह्वाइट हाउसबाट बाहिरिएपछि दिएको पहिलो थियो । पछिल्ला महिना बाइडेनको स्वास्थ्य अवस्थाबारे प्रश्नहरू उठिरहेका थिए । मे महिनामै ‘द भ्यु’ कार्यक्रममा बाइडेनले आफूले ह्वाइट हाउसको अन्तिम वर्षमा मानसिक क्षमता गुमाएको भन्ने दाबी अस्वीकार गरेका थिए । ‘त्यस्तो दाबी प्रमाणित गर्ने कुनै आधार छैन,’ उनले भनेका थिए ।
धेरै वर्षदेखि बाइडेनले क्यान्सर अनुसन्धानका लागि वकालत गर्दै आएका छन् । २०२२ मा, उनले र उनकी पत्नी जिल बाइडेनले ‘क्यान्सर मुनसट’ पहललाई पुनः सुरु गरेका थिए । त्यसको लक्ष्य सन् २०४७ सम्ममा ४० लाखभन्दा बढी क्यान्सरबाट हुने मृत्यु रोक्न अनुसन्धान प्रयास परिचालन गर्नु हो । बाइडेनले २०१५ मा आफ्नो जेठो छोरा बिउ बाइडेनलाई ब्रेन क्यान्सरका कारण गुमाएका थिए ।
