खान युनिस खाली गर्न इजरायलको चेतावनी

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Israel's warning to evacuate Khan Yunis

जेरुसलेम — इजरायलले 'अभूतपूर्व आक्रमण' गर्न लागेको भन्दै प्यालेस्टिनीहरूलाई खान युनिस खाली गर्न चेतावनी दिएको छ । इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिणी गाजाको खान युनिस, बानी सुहेला र अबासनमा हमासका पूर्वाधारलाई लक्षित गर्दै ‘अभूतपूर्व आक्रमण’ हुन लागेको जनाउँदै त्यहाँका स्थानीयलाई अन्यत्र सर्न भनेको हो ।

‘आईडीएफले यस क्षेत्रमा आतंकवादी संगठनहरूका क्षमता नष्ट गर्न अभूतपूर्व आक्रमण गर्दैछ,’ आईडीएफ प्रवक्ता अविकय अद्राईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तपाईंले तुरुन्तै पश्चिममा मावासी क्षेत्रमा खाली गर्नुपर्छ । अब खान युनिसलाई खतरनाक लडाइँ क्षेत्र मानिनेछ । आतंकवादी संगठनहरूले विपत्तिको अवस्था उत्पन्न गराए । तपाईंको सुरक्षाको लागि उक्त क्षेत्र तुरुन्तै खाली गर्नुहोस् ।’ 

इजरायलको सैन्य कारबाहीका कारण गाजामा पछिल्लो २४ घण्टामा १ सय ३६ जनाले ज्यान गुमाएका छन् । इजरायल र हमासबीच ७ अक्टुबर २०२३ मा युद्ध सुरू भएदेखि मारिएका प्यालेस्टिनीहरूको कुल संख्या ५३ हजार ४ सय ८६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६४ जना घाइते भएका र घाइते हुनेको कुल संख्या १ लाख ५१ हजार ३ सय ९८ पुगेको छ ।

हमासले ७ अक्टोबरमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगिएको थियो । तीमध्ये नेपाली युवा विपिन जोशीसहित ५८ जना अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये २३ जना जीवितै रहेको विश्वास गरिन्छ । 

कान्तिपुर

Link copied successfully