अमेरिका — अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई ‘हाई ग्रेड’ प्रोस्टेट क्यान्सर भएको छ । उनको यो क्यान्सर हड्डीसम्म फैलिएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको कार्यालयले एक बयान जारी गर्दै यसबारे जानकारी दिएको हो ।
८२ वर्षीय बाइडेन पिशाबसँग जोडिएका समस्याबारे गतसाता चिकित्सकसँग जाँचका लागि गएका थिए । शुक्रबार उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।
उनको समस्यालाई ‘हाई ग्रेड’ क्यान्सरका रुपमा वर्गीकृत गरिएको छ । क्यान्सर रिसर्च युकेका अनुसार यसको अर्थ क्यान्सरका कोशिका तीव्र गतिमा फैलिन सक्ने अवस्था हो ।
बाइडेन र उनको परिवारले यो क्यान्सरको उपचारका लागि विकल्पहरुबारे समीक्षा गरिरहेका छन् । पूर्व राष्ट्रपति कार्यालयले क्यान्सर हार्मोन सेन्सेटिभ भएको बताएको छ ।
बाइडनेलाई क्यान्सर भएको खबर आएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथमा लेख्दै स्वास्थ्यलाभको कामना गरेका छन् । उनले लेखेका छन्, ‘मेलानिया र म बाइडेनको हालै भएको मेडिकल डायग्नोसिसबारे खबर सुनेर दुखी छौं ।’ छिट्टै सन्चो हुने कामना पनि गरेका छन् ।
