व्यापार समस्याबारे भारतसँग छलफल गर्ने बंगलादेश तयार

जेष्ठ ५, २०८२

एजेन्सी

Bangladesh ready to discuss trade issues with India

ढाका — भारतले स्थल बन्दरगाहमार्फत् बंगलादेशी निर्यातमा प्रतिबन्ध लगाएपछि बंगलादेशको अन्तरिम सरकारले भारतसँगका सबै व्यापारिक समस्या समाधान गर्न चाहेको बताएको छ । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सल्लाहकारले बंगलादेश भारतसँग सबै विषयमा छलफल गर्न चाहेको बताएका हुन् ।  

हालै भारतले बंगलादेशबाट सडकमार्फत् तयारी पोसाक (रेडिमेड गार्मेन्ट, आरएमजी) फलफूल तथा फलफूलको स्वादयुक्त तथा कार्बोनेटेड पेय पदार्थ, बेक गरिएका सामान, स्न्याक्स, चिप्स र कन्फेक्सनरी, कपास र कपासको धागो, प्लास्टिक र पिभिसी तयारी सामान र काठका फर्निचरको आयातमा प्रतिबन्ध लगाएको थियो । 

यसअघि बंगलादेशले भारतबाट स्थलमार्ग हुँदै भित्रने धागोमा प्रतिबन्ध लगाएको थियो । भारतले बंगलादेशबाट तेस्रो देशमा सामान निर्यात गर्ने ट्रान्स–सिपमेन्ट सुविधा पनि रद्द गरेको थियो । दुई छिमेकी देशबीच पारस्परिक व्यापार प्रतिबन्धहरू लगाइएपछि सम्बन्ध चिसिएको हो । 

‘हामीलाई भारतको कदमबारे औपचारिक रूपमा केही थाहा छैन । हामीलाई औपचारिक रूपमा थाहा भएपछि मात्र हामी कारबाही गर्न सक्नेछौँ । कुनै समस्या उत्पन्न भएमा दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन्,’ बंगलादेशको अन्तरिम सरकारका वाणिज्य सल्लाहकार शेख बसिरुद्दीनले पत्रकारसँग भने । 

सामाजिक सञ्जाल र समाचारमार्फत भारतले स्थल बन्दरगाहहरू (विशेषगरी अखौरा र दावकी बन्दरगाह) र केही सीमा क्षेत्रका सम्बन्धमा केही निर्णय लिएको थाहा पाएको उनले बताए । ‘हाम्रो मुख्य लक्ष्य प्रतिस्पर्धात्मकता हासिल गर्नु हो । यो दुवै देशका लागि लाभदायक विषय हो,’ उनले भने ।  

भारत आफैँ कपडा वा कपडा उद्योगमा धनी देश भएको जनाउँदै बसिरुद्दीनले त्यस्ता उत्पादन बंगलादेशबाट भारतमा निर्यात हुनु भनेको आफ्नो देशको क्षमतामा आधारित भएको दाबी गरेका छन् । ‘हामी भौगोलिक रूपमा जोडिएको देश भएकाले हाम्रो प्रतिस्पर्धात्मकता, यातायात खर्च र अन्य कारक निश्चित छन्,’ उनले भने, ‘यस सम्बन्धमा हामी विभिन्न समयमा हाम्रो कृषि उत्पादनको आयातमा प्रतिबन्ध लगाउँछौँ, भारतले पनि गर्दछ । यो व्यापार व्यवस्थापनको एक प्रक्रिया हो र हामी त्यसमा काम गरिरहेका छौँ, यदि त्यहाँ समस्या उत्पन्न भयो वा विकसित भयो भने, दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन् ।’ 

बंगलादेशका लागि व्यापार महत्त्वपूर्ण भएको र उदारवादी व्यापारमा विश्वास गर्ने उनको भनाइ छ । ‘बंगलादेशको व्यवसाय र उपभोक्तालाई सशक्त बनाउन व्यापार समावेशीकरण बाहेक अन्य कुनै मार्ग देख्दिन्न,’ बसिरुद्दीनले भने । 

शनिबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालय (डिजिएफटी) ले जारी गरेको निर्देशनपछि बंगलादेशबाट विभिन्न श्रेणीका सामानको आयातमा तत्काल स्थल बन्दरगाहमा प्रतिबन्ध लगाएको थियो । 

ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जिटिआरआई) का अनुसार बंगलादेशबाट स्थल बन्दरगाहमार्फत हुने आयातमा भारतले लगाएको प्रतिबन्धले ७ करोड ७० लाख अमेरिकी डलर मूल्यका सामानमा असर पर्नेछ । यो कुल द्विपक्षीय आयातको लगभग ४२ प्रतिशत हो । यस कदमले विशिष्ट बन्दरगाहहरूमा तयारी पोशाक र प्रशोधन गरिएका खाद्य पदार्थ जस्ता उत्पादनको प्रवेशलाई सीमित गर्ने मन्त्रालयको एक आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यसलाई व्यापक रूपमा भारतीय धागो, चामल र अन्य सामानमा बंगलादेशको हालैको प्रतिबन्धको प्रतिक्रियाका रूपमा हेरिएको छ । नयाँ निर्देशिकाअनुसार बंगलादेशबाट सबै प्रकारका तयारी पोशाक अब नव सेवा र कोलकाता समुद्री बन्दरगाहमार्फत मात्र आयात गर्न सकिन्छ । 

एजेन्सी

Link copied successfully