अमेरिकाको दुई राज्यमा आँधी, २३ जनाको मृत्यु [अपडेट]

जेष्ठ ३, २०८२

सुदीप शिवाकोटी

Storms in two US states, 23 dead [Update]

अमेरिका — अमेरिकाको केन्टकी र मिसौरी राज्यमा आँधीका कारण २३ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसोबाट मध्यपश्चिम र दक्षिण क्षेत्रमा फैलिएको आँधीका कारण हालसम्म केन्टकीका १४ र मिसौरीका ९ जनाको मृत्यु भएको अमेरिकी संचारमाध्यम एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । मिसौरीमा मृत्यु हुनेमध्ये ५ जना सेन्ट लुइस सहरका हुन् ।

केन्टकीका गभर्नर एन्डी बेशियरले हालसम्म केन्टकीमा आँधीका कारण १४ जनाको मृत्यु भएको र करिब १० हजार बढी घर परिवार प्रभावित भएको अमेरिकी संचारमाध्यमलाई बताएका छन् । ‘आँधीकै कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,’ गभर्नर बेशियरले भने, ‘हामी सम्भावित क्षति रोक्न प्रयासरत छौं ।’ केन्टकीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लरेल काउन्टीमा आँधीले अत्याधिक प्रभाव पारेको र ठूलो जनधनको क्षति पुर्‍याएको थियो । मिसौरीमा ५ हजारभन्दा बढी घर आँधीबाट क्षतिग्रस्त र विद्युत सेवा ठप्प भएको छ ।

स्थानीय प्रहरीका अनुसार राडार संकेतलाई आधार मान्दा आँधी स्थानीय समयअनुसार शुक्रबार दिउँसो साढे २ बजे मिसौरी राज्यको सेट लुइसको पश्चिम भागको फरेस्ट पार्क नजिकैबाट सुरु भएको थियो । मौसम विज्ञ फिलोमन गीरट्सनले यस वर्ष विभिन्न समयमा आएको आँधीले केन्टकी र मिसौरीलाई बढी प्रभाव पारेको बताए । उनले दुई महिनाको आँधीले पनि कम्तीमा २४ जनाको मृत्यु भएको र ती मृतकहरुमध्ये अधिकांश केन्टकी र मिसौरीवासी रहेको उल्लेख गरे । 

मिसौरीको सेन्ट लुइसका मेयर कारा स्पेन्सरले आँधीले यस वर्ष तीन पटक प्रभाव पारिसकेको बताइन् । ‘यो पटकको आँधी वास्तवमै भयानक थियो,’ उनले भनिन्, ‘ आँधीका कारण शुक्रबार राति नै सेन्ट लुइसमा कर्फ्यु नै लगाउनु पर्ने अवस्था आयो ।’ ५० जनाभन्दा बढी घाइते भएको र घाइतेहरुको अवस्थाबारे एकीन जानकारी नभएको मेयर स्पेन्सरले जानकारी दिइन् ।

अघिल्लो महिना अप्रिल ६ मा आँधीकै कारण १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा टेनिसीको पश्चिम भूभागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना थिए । १६ मार्चमा अमेरिकाको दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३४ जनाको मृत्यु भएको थियो  । दक्षिणी क्षेत्रका मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्य आँधीबाट प्रभावित भएका थिए । मिसौरीका १२, कन्सासका ८, मिसिसिपीका ६, टेक्सासका ४, अर्कान्सासका ३ र ओक्लाहोमाका १ जनाले आँधीमा ज्यान गुमाएका थिए । 

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully