रुस–युक्रेन शान्ति वार्ता सकारात्मक, एक–एक हजार युद्धबन्दी साटासाट गर्ने सहमति

सम्भावित युद्धविरामका लागि भविष्यमा दुवै पक्षले आफ्ना धारणा प्रस्तुत गर्ने गरी सहमत भएको रुसी वार्ता टोलीका प्रमुखले बताएका छन्

जेष्ठ ३, २०८२

एजेन्सी

Russia-Ukraine peace talks positive, agreement to exchange 1000 prisoners of war

इस्तानबुल — तीन वर्षभन्दा लामो समयसम्म चलेको युद्धलाई विश्राम दिने उद्देश्यले रुस र युक्रेनबीच शुक्रबार तुर्किएको राजधानी इस्तानबुलमा ‘फेस टु फेस’ वार्ता भएको छ । रुसको वार्ता टोलीको नेतृत्व गरिरहेका भ्लादिमिर मेडिन्स्कीले शुक्रबारको वार्ताबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् ।

 वार्ता सकिएलगत्तै मेडिन्स्कीले सञ्चारकर्मीहरूसँग रुस यसपछि हुने वार्ताका लागि पनि तयार रहेको भन्दै ‘सम्पर्कमा रहिरहने’ बताए । इस्तानबुल वार्तामा उठेका छलफलबारेमा मेडिन्स्कीले थपे, ‘युक्रेनसँग आगामी दिनमा ठूलो मात्रामा कैदीबन्दी साटासाट हुनेछ, त्यो संख्या एक हजारका बदला एक हजारको हुनेछ ।’ युक्रेनी प्रतिनिधिमण्डलले भने आगामी वार्ता रुस र युक्रेनका राष्ट्रपतिहरू भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष रूपमा हुनुपर्ने सर्त राखेको थियो । उक्त मागमा पनि रुसी प्रतिनिधिहरू सकारात्मक देखिएका छन् । ‘हामीले उहाँहरूको मागलाई नोट गरेका छौं,’ रुसी वार्ता टोली प्रमुख मेडिन्स्कीले भने, ‘सम्भावित युद्धविरामका लागि भविष्यमा दुवै पक्षले आफ्ना धारणा प्रस्तुत गर्ने गरी सहमत भएका छौं ।’ 

तुर्किएको मध्यस्थतामा शान्ति वार्ताका लागि रुस र युक्रेनका प्रतिनिधिहरू इस्तानबुल पुगेका हुन् । बीबीसीका अनुसार वार्तामा बस्नुअघि दुवै देशका वार्ता प्रतिनिधिहरूले हात पनि मिलाएका थिएनन् । 

तर पनि लामो संघर्ष र मानवीय तथा भौतिक क्षतिपछि रुस र युक्रेनका प्रतिनिधिबीचको सीधा वार्ताले युद्ध रोक्नका लागि ‘ब्रेक थ्रु’ हुन सक्ने अपेक्षा गरिएको थियो । तर वार्ता केही घण्टा चले पनि उल्लेख्य उपलब्धिबिना नै सकिएको जनाइएको छ । 

वार्ताका लागि तुर्किएका विदेशमन्त्री हकान फिदानले सहजीकरण गरेका थिए । उनले दुवै टोलीलाई शान्ति वार्ता हुनुअघि सफलताको शुभकामना पनि दिएका थिए । लगत्तै फिदानले रुस र युक्रेनबीच युद्धविरामको आह्वान गर्दै भनेका थिए, ‘जब युद्धले सर्वसाधारणको ज्यान लिइरहेको छ भने यसलाई यथाशीघ्र युद्धविराम गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ ।’ शुक्रबारको वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने उपस्थित थिएनन् । वार्तामा उपस्थित बीबीसी संवाददाताले रुस र युक्रेनका प्रतिनिधिले एकअर्काको कुरा सुनेको उल्लेख गर्दै भने, ‘यो एउटा सुखद् सुरुवात हो ।’ 

रुसी प्रतिनिधिहरूले वार्तामा अमेरिकी प्रतिनिधि हुन नहुने जिकिर गर्दै युक्रेनलाई स्पष्ट जनादेशसहित आउन आग्रह गरेको छ । शुक्रबारको वार्तामा रुसका एक प्रतिनिधिले ‘युक्रेन पहिल्यै रुसले समय व्यतित गर्नका लागि वार्ताको नाटक गरिरहेको भन्ने सोचसहित उपस्थित भएको’ आरोप लगाएको बीबीसी संवाददाताले उल्लेख गरेका छन् । 

रुसी राष्ट्रपति पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीचको झन्डै ३९ महिना लामो संघर्ष रोकिने आशा गरिएको छ । पुटिनले मिति नै तोकेर दीर्घकालीन शान्तिका लागि भन्दै युक्रेनसमक्ष वार्ताको प्रस्ताव गरेका थिए ।

हजारौंको ज्यान लिनुका साथै लाखौंलाई विस्थापित गराइसकेको यो युद्धलाई रोक्न युक्रेनले रुससमक्ष ‘बिनासर्त युद्धविराम’ को माग गर्दै आइरहेको छ । मस्कोले भने द्वन्द्वको मूल कारण सम्बोधन गर्नुपर्ने र २०२२ मा असफल भएको वार्तालाई पुनर्विचार गर्नुपर्ने बताउँदै आएको छ । उक्त वार्तामा रुसले युक्रेनसँग ठूलो भू–भागको मागसहित केही राजनीतिक सर्तहरू राखेपछि वार्ता बस्नुअघि नै असफल भएको थियो । 

वार्तामा बस्नु अघिल्लो दिन पनि रुस र युक्रेनले एकअर्काविरुद्ध अपमानजनक टिप्पणी गरेका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्को शान्तिप्रति ‘गम्भीर’ नभएको आरोप लगाउँदै भनेका थिए, ‘यद्यपि, वार्ता हुनु आफैंमा एक प्रगतिको संकेत भने हो, किनभने वासिङ्टनले दुवै पक्षलाई वार्ता सुरु गर्न दबाब दिइरहेको थियो ।’ तर रुसी राष्ट्रपति पुटिनले वार्ताका लागि आफू तर्किए नजाने निर्णय गर्दै दोस्रो तहको प्रतिनिधिमण्डल पठाएका थिए । जसको युक्रेनले आलोचना गर्दै ती प्रतिनिधिलाई निर्णय लिने अधिकार नभएको टिप्पणी गरेको थियो । 

जेलेन्स्कीका प्रमुख सहयोगी आन्द्रिय यर्माकले युक्रेन शान्तिका लागि तयार रहेको र त्यसका लागि बिनासर्त दीर्घकालीन युद्धविराम चाहेको बताएका छन् । शुक्रबार वार्तामा बस्नुअघि युक्रेनी अधिकारीहरूले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, ट्रम्पका विशेष दूत किथ केलोग र बेलायत, फ्रान्स र जर्मनीका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग भेट गरेका थिए । रुबियोले रुस–युक्रेन युद्धको शान्तिपूर्ण अन्त्यका लागि जोड दिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

इस्तानबुलमा रहेका एक युक्रेनी कूटनीतिक स्रोतले पुटिन र जेलेन्स्कीबीच सम्भावित बैठकबारे पनि छलफल भएको उल्लेख गरेको छ । हाल युक्रेनको वार्ता टोलीको नेतृत्व रक्षामन्त्री रुस्तेम उमेरोवले गरिरहेका छन् । 

युक्रेन र रुसले पछिल्लो पटक २०२२ मार्चमा पनि प्रत्यक्ष वार्ता गरेका थिए । तर लगत्तै रुसले युक्रेनमा आक्रमण जारी राखेपछि वार्ता असफल भएको थियो । त्यसयता युद्ध जारी छ भने रुसले युक्रेनको करिब पाँच भागको एक भाग कब्जा गरिसकेको दाबी गरेको छ । युरोपेली नेताहरूले पुटिनले इस्तानबुल वार्तालाई गम्भीरतापूर्वक नलिएको भन्दै निन्दा गर्दै आएका छन् । युरोपेली संघकी वरिष्ठ कूटनीतिज्ञ काजा कालासले रुसले स्पष्ट रूपमा शान्तिका लागि काम नगरेको आरोप लगाइन् । नाटो प्रमुख मार्क रुटले पनि पुटिनले इस्तानबुल वार्ताका लागि तल्लो तहको प्रतिनिधिमण्डल पठाएर ‘ठूलो गल्ती’ गरेको बताए ।

२०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसको एक सातापछि दुई देशबीच इस्तानबुलमा वार्ता भए पनि युद्ध रोक्न सहमत भएका थिएनन् । रोयटर्सका अनुसार पछिल्लो ३ वर्षमा रुस–युक्रेन युद्धमा हजारौं सुरक्षाकर्मी र सर्वसाधारण मारिएका छन् । सन् १९६२ को क्युबा मिसाइल संकटपछि युक्रेन संकटले रुस र पश्चिमा देशहरूबीच ठूलो टकराव देखिएको रोयटर्सले उल्लेख गरेको छ । १९६२ मा क्युबामा गोप्य रूपमा मिसाइल पठाएको निहुँमा तत्कालीन सोभियत संघ र अमेरिकाबीच १३ दिनसम्म टकराव उत्पन्न भएको थियो ।

एजेन्सी

Link copied successfully