झन्डै ३ वर्षपछि रुस र युक्रेनबीच 'फेस टु फेस' वार्ता 

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

After almost 3 years, 'face to face' talks between Russia and Ukraine

काठमाडौँ — झन्डै ३ वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच 'फेस टु फेस' वार्ता सुरु भएको छ । तुर्कियेको राजधानी इस्तानबुलमा रुस र युक्रेनका अधिकारीहरू शान्ति वार्तामा बसेका हुन् । बीबीसीका अनुसार वार्ता सुरु हुनुअघि दुई देशका अधिकारीहरूले हात भने मिलाएनन् ।

तर पनि लामो संघर्ष र मानवीय क्षतिपछि दुई देशका अधिकारीबीचको सीधा वार्ताले 'ब्रेकथ्रु' हुन सक्ने आकलन गरिएको छ । 

वार्ताका लागि तुर्कियेका विदेशमन्त्री हकान फिदानले सहजीकरण गरिरहेका छन् । उनले दुवै टोलीलाई शुभकामना पनि दिएका हुन् । यद्यपि वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने उपस्थित छैनन् । रुस-युक्रेन वार्तामा बसिरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियो भने इस्तानबुलमै रहेका छन् । बीबीसी संवाददाताका अनुसार रुस र युक्रेनी अधिकारीहरूले एक अर्काको कुरा सुनिरहेका छन् । यो एउटा सुखद सुरुवात भएको पनि बीबीसीले जनाएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीचको करिब ३ वर्षे लामो संघर्ष रोकिने आशा गरिएको छ । राष्ट्रपति पुटिनले मिति नै तोकेर दीर्घकालीन शान्तिका लागि भन्दै युक्रेनसमक्ष वार्ताको प्रस्ताव गरेका थिए ।

सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसको एक हप्तापछि दुई देशबीच इस्तानबुलमा वार्ता भए पनि युद्ध रोक्न सहमत भएका थिएनन् । रोयटर्सका अनुसार पछिल्लो ३ वर्षमा रुस-युक्रेन युद्धमा हजारौँ सेना र सर्वसाधारण मारिएका छन् ।

सन् १९६२ को क्युबा मिसाइल संकटपछि युक्रेन संकटले रुस र पश्चिमा देशहरूबीच ठूलो टकराव देखिएको रोयटर्समा उल्लेख छ । १९६२ मा क्युबामा गोप्य रूपमा मिसाइल पठाएको निहुँमा तत्कालीन सोभियत संघ र अमेरिकाबीच १३ दिनसम्म टकराव उत्पन्न भएको थियो ।

कान्तिपुर

Link copied successfully