वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल इंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) टिम कुकलाई भारतमा प्लान्टहरू रोक्न आग्रह गरेको बताएका छन् । ट्रम्पको पछिल्लो प्रतिक्रयाले चीनभन्दा बाहिर आफ्नो उत्पादनमा विविधीकरण गर्ने आईफोन निर्माताको योजनालाई लक्षित गरेको छ।
‘हिजो मलाई टिम कुकसँग थोरै समस्या भयो,’ ट्रम्पले एप्पलका सिईओ कुकसँग कतारमा भएको कुराकानीको बारेमा भने, ‘उनीहरूले भारतमा निर्माण गरिरहेका छन् । म भारतमा निर्माण गरिरहेको हेर्न चाहन्न ।’ कुकसँगको छलफलपछि ट्रम्पले एप्पलले अमेरिकामा आफ्नो उत्पादन बढाउने बताएका छन् । ‘हामीलाई भारतमा एप्पलका उत्पादन निर्माणमा कुनै चासो छैन । भारतले आफ्नो हेरचाह आफै गर्न सक्छ,’ राष्ट्रपति ट्रम्पले भने ।
भारत विश्वकै उच्चतम आयात कर लागू गर्ने मध्येको एक देश भएको दाबी गर्नै ट्रम्पले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशमा अमेरिकी उत्पादनहरू बेच्न धेरै गाह्रो भएको बताए । यद्यपि, भारतले अमेरिकी सामानहरूमा कर घटाउने प्रस्ताव गरेको र आयात करमा सम्झौता खोजिरहेको उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिको टिप्पणीले अर्को वर्षको अन्त्यसम्ममा आफ्ना अधिकांश उत्पादन भारतबाट आपूर्ति गर्ने योजनालाई बाधा पुर्याउँने देखिन्छ । एप्पलले ट्यारिफ र भूराजनीतिक चिन्ताहरूबीच चीनमाथिको निर्भरता कम गर्ने उद्देश्यले भारतमा उत्पादन गर्ने कदम चालेको हो । एप्पलले आफ्ना अधिकांश आईफोनहरू चीनमा बनाउँछ र अमेरिकामा स्मार्टफोन उत्पादन गर्दैन ।
एप्पल र यसका आपूर्तिकर्ताहरूले विश्वको दोस्रो अर्थतन्त्रबाट अलग हुने निर्णय लिएका छन् । खासगरी कोभिड लकडाउनले सबैभन्दा ठूलो प्लान्टको उत्पादनलाई क्षति पुर्याएपछि एप्पल नयाँ योजनामा अघि सरेको हो । पछिल्लो समय ट्रम्पले अघि सारेका ट्यारिफका साथै बेइजिङ-वाशिंगटन तनावले एप्पलले उक्त योजनालाई प्राथमिकता दिएको हो ।
भारतमा निर्मित आईफोनहरूको ठूलो हिस्सा दक्षिणी भारतमा रहेको फक्सकन टेक्नोलोजी ग्रुपको कारखानामा तयार गरिन्छ ।
विस्ट्रोन कर्पोरेसनको भारतस्थित व्यवसाय किनेको र भारतमा पेगाट्रोन कर्पोरेसनसञ्चालन गर्ने टाटा समूहको इलेक्ट्रोनिक्स निर्माण शाखा एक प्रमुख आपूर्तिकर्ता हो । ब्लूमबर्ग न्यूजको रिपोर्टअनुसार, टाटा र फक्सकन दुवैले दक्षिण भारतमा नयाँ कारखाना निर्माण गर्दै छन् र उत्पादन क्षमता विस्तार गरिरहेका छन् ।
एप्पलले मार्चसम्मको १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरका आईफोनहरू एसेम्बल गरिसकेको छ । जसका कारण उत्पादन अघिल्लो वर्षको तुलनामा लगभग ६० प्रतिशतले बढेको छ ।
राष्ट्रपति ट्रम्पले कुकसँगको छलफलको नतिजा वा भारतमा एप्पलको योजनामा कुनै परिवर्तनबारे भने थप केही उल्लेख गरेका छैनन् । तर भारतले अमेरिकामा प्रतिशोधात्मक कर लगाउने धम्की दिएको केही दिन पछि ट्रम्पको टिप्पणी आएको हो । अमेरिकाले भारतीय स्टील र आल्मुनियम निर्यातमा कर बढाएको प्रतिक्रियामा भारतले प्रतिशोधात्मक कर लगाउने चेतानी दिएको थियो ।
