गाजामा इजरायलको भीषण आक्रमण, ६२ जना मारिए 

जेष्ठ १, २०८२

एजेन्सी

Israel's fierce attack on Gaza, 62 killed

जेरुसलेम — गाजामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको ज्यान गएको छ । दर्जनौं मानिसहरू घाइते भएका अन्तर्राष्टिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले खान युनिस, बेइत लाहिया र देर अल-बलाह क्षेत्रमका विभिन्न स्थानमा बुधबार मध्य रातदेखि हवाई आक्रमण सुरू गरेको हो । 

दक्षिणी क्षेत्रका कम्तिमा ९ अलग-अलग स्थानमा आक्रमण भएको मन्त्रालयको भनाइ छ । त्यस्तै, इजरायलले उत्तरी गाजाका स्थानीयलाई गाजाका केही भाग छोड्न आदेश दिएको छ ।

गाजामा प्रवेश गर्ने सहायतामाथि इजरायली नाकाबन्दी जारी रहँदा हवाई आक्रमण गरिएको हो । उक्त क्षेत्रमा इजरायलले १० सातादेखि कुनै पनि आपूर्ति हुन दिएको छैन । 

‘भोकमरीको गम्भीरताका कारण म राम्ररी हिँडडुल गर्न सक्दिनँ,’ एक स्थानीय व्यक्तिको सन्देश उल्लेख गर्दै  बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा क्रियासिल १० विभिन्न सहायता एजेन्सीहरूले मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेसँगै गाजा क्षेत्रमा युद्ध चर्किएको हो । उक्त आक्रमणमा १२ सय जनाको ज्यान गएको छ भने हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपाली युवा विपिन जोशीसहित ५८ जना अझै हमासको नियन्त्रणमा छन् । 

त्यसयता इजलायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ५२ हजार ८ सय २९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

एजेन्सी

Link copied successfully