इजरायलसँग सम्बन्ध सुधार्न सिरियाका अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको सुझाव

वैशाख ३१, २०८२

एजेन्सी

Trump's advice to Syria's interim president to improve relations with Israel

रियाद — साउदी अरबको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारासँग भेटवार्ता गरेका छन् । भेटका क्रममा ट्रम्पले सिरियालाई अब्राहम सम्झौतामा हस्ताक्षर गर्न र सबै विदेशी आतंकवादी सिरियाबाट लखेट्न भनेका छन् । ‍अब्राहम सम्झौता इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्न मध्यपूर्व राष्ट्रहरूका लागि अमेरिकाको नेतृत्वमा गरिएको पहल हो । 

ट्रम्प र अल-शाराबीचको भेटमा साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) र टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगान सहभागी थिए । भेटका क्रममा इर्दोगान र एमबीएसले सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको योजनाको प्रशंसा गरेका अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसल जनाएको छ । ट्रम्पको कदम ‘साहसी’ भएको उनीहरूको भनाइ छ । 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटका अनुसार ट्रम्पले सिरियाका ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।  ‘राष्ट्रपति ट्रम्पले अल-शारालाई उनीसँग सिरियाका लागि केही गर्ने ऐतिहासिक अवसर आएको बताउनुभएको छ,’ ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन् । 

भेटका क्रममा ट्रम्पले अल-शासाराई पाँचवटा सुझाव दिएका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन  लेभिटका अनुसार ट्रम्पले अल-शारालाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन अब्राहम सम्झौतामा हस्ताक्षर गर्न, सबै विदेशी आतंककारीलाई सिरिया छोड्न भन्न, प्यालेस्टिनी आतंककारीलाई देश निकाला गर्न, इस्लामिक स्टेट समूहको पुनरुत्थान रोक्न अमेरिकालाई सहयोग गर्न र सोही आधारमा उत्तरपूर्वी सिरियामा समूहसँग सम्बन्धित हिरासत केन्द्रको जिम्मेवारी लिन भनेका हुन् । 

त्यस्तै, सिरियाली सरकारले एक विज्ञप्ती जारी गर्दै भेटवार्ताका क्रममा 'अमेरिकाले प्रतिबन्ध हटाउनुको महत्त्व'लाई जोड दिइएको थियो । साउदी युवराज मोहम्मद बिन सलमानले ‘क्षेत्रीय स्थिरता प्राप्त गर्ने’ आवश्यकतामा जोड दिएका थिए । 

छलफलमा ‘आतंकवादविरोधी प्रयासहरूमा सिरियाली-अमेरिकी साझेदारीका लागि अवसर र इस्लामिक स्टेटलगायतका विद्रोही समूहहरूको प्रभाव हटाउन गरिने सहयोग पनि समावेश रहेको विज्ञप्तीमा जनाइएको छ । त्यस क्रममा अन्तरिम राष्ट्रपति अल-शाराले क्षेत्रीय र अन्तर्राष्ट्रिय समर्थनका लागि कृतज्ञता व्यक्त गरेका थिए । 

लेभिटका अनुसार ट्रम्पसँगको भेटका क्रममा अल-शाराले नेताहरूलाई सिरियाले पूर्व र पश्चिमबीचको महत्वपूर्ण व्यापारिक लिंकका रूपमा काम गर्न सक्ने बताएका थिए । उनीहरूबीच रुस-युक्रेन युद्ध र गाजामा भएको युद्धबारे पनि छलफल भएको लेभिटको भनाइ छ । 

छलफलमा उठेका विषयबारे सिरियाली विदेशमन्त्री असद अल-शैबानी र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच अनुगमन बैठक हुने बताइएको छ । 

एजेन्सी

Link copied successfully